महामारीमा हेलिकोप्टर कम्पनीको अत्याचार, तोकेको भाडाभन्दा दुई–तीन लाख बढी असुली — OSNepal

महामारीमा हेलिकोप्टर कम्पनीको अत्याचार, तोकेको भाडाभन्दा दुई–तीन लाख बढी असुली

LC (KTM) May 08, 2021 0

काठमाडौं । महेन्द्रनगर उच्च अदालतको दिपायल इजलासका न्यायाधीश कृष्णलाल भट्टराईलाई कोभिड संक्रमण भएपछि महाकाली अस्पतालको आइसियू बेडमा उपचार भइरहेको थियो, तर स्वास्थ्यमा सुधार नभएपछि अघिल्लो बुधबार काठमाडौंबाट हेलिकोप्टर मगाइयो । उनलाई राजधानी पुर्‍याउन हेलिकोप्टर भाडा मात्र नौ लाख लाग्यो । काठमाडौंको करुणा अस्पतालमा उपचारपछि भट्टराई अहिले आराम गरिरहेका छन् ।

न्यायाधीश भएकाले हेलिकोप्टरमा लागेको नौ लाख भाडा सरकारले तिरेको छ । तर, विपन्न जनताले यत्रो पैसा कहाँबाट तिर्ने ? यसै पनि कञ्चनपुरबाट काठमाडौंसम्मको हेलिकोप्टर भाडा ६ हजार पाँच सय डलर (सात लाख ६७ हजार) तोकिएको छ । तर, विमानसेवा सञ्चालक संघ आफैँले तोकेकोभन्दा डेढ बढी लाख भाडा असुल गरेर हेलिकोप्टर कम्पनीहरूले जनतामाथि अत्याचार गरिरहेका छन् । उपचारबाट हात झिकेको सरकार हेलिकोप्टर कम्पनीले उद्धारका नाममा अत्याचार गर्दा मूकदर्शक छ ।

कञ्चनपुरकै भीमदत्त नगरपालिका– १८ महेन्द्रनगरका स्थानीय एवं कञ्चन विद्या मन्दिर सामुदायिक कलेजका प्राचार्य डा. राजकुमार साउदलाई पनि कोरोना संक्रमण भयो । होम आइसोलेसनमा बसेका उनी गम्भीर भएपछि गत सोमबार मात्र उनलाई लिन काठमाडौंबाट हेलिकोप्टर मगाइयो, भाडा उठाइएको छ– ९ लाख १५ हजार ।

यस्तै वैशाख तेस्रो साता भीमदत्त नगरपालिका– ४ महेन्द्रनगरका स्थानीय एवं एनएनएसडब्लूएका कार्यकारी निर्देशक अशोकविक्रम जैरूलाई समेत नेपालगन्जबाट काठमाडौं लग्न श्री एयरले साढे ६ लाख भाडा लियो । जब कि संघले नेपालगन्जबाट काठमाडौंसम्मको भाडा चार हजार डलर (चार लाख ७२ हजार रुपैयाँ) तोकेको छ ।

पूर्वखानेपानी राज्यमन्त्री दिनेशचन्द्र यादवलाई गत पुसमा कोरोना संक्रमण भयो । उपचारका लागि उनलाई भेरी अस्पतालमा भर्ना गरियो, तर निको भएनन् । राष्ट्रिय भूमि समस्या समाधान आयोगका सदस्यसमेत रहेका उनलाई पनि हेलिकोप्टरमा काठमाडौंस्थित ग्रान्डी अस्पताल लगियो । १ माघमा अस्पतालमै उनको निधन भयो ।

हेलिकोप्टरले भाडाबापत मात्र आठ लाख लिएको पूर्वराज्यमन्त्रीका आफन्त कैलाश यादवले बताए । नेपालगन्जबाट काठमाडौंसम्मको भाडा चार लाख तोकिएकोमा कसैसँग ६ लाख र कसैसँग आठ लाखसम्म असुल गरिएको छ । ‘हामीसँग आठ लाख मागिएको थियो, तर हेलिकोप्टर भाडा र सम्पूर्ण औषधि–उपचार खर्च सरकारले व्यहो¥यो,’ कैलाशले भने ।

पूर्वराज्यमन्त्री र अहिले भूमि समस्या समाधान आयोगका सदस्य भएकाले यादवको उद्धारमा भएको हेलिकोप्टरको भाडा पनि सरकारले तिर्‍यो । तर, सबै जनता यति भाग्यमानी हुँदैनन् । सर्वसाधारण त घरमा बसे ज्यान जाने, उपचार गर्न गए घरबार जाने अवस्थामा छन् ।

सुर्खेतका जीवराज गिरीलाई केही समयअघि कोरोना संक्रमण पुष्टि भयो । स्वास्थ्य प्रतिकूल भएपछि आफन्तले नेपालगन्ज लगे । त्यहाँ पनि उपचार हुन नसकेपछि परिवारका सदस्यले हेलिकोप्टरमार्फत काठमाडौं पुर्‍याए । तर, उपचारको क्रममा ग्रान्डी अस्पतालमा उनको मृत्यु भयो ।

जीवराजको जीवन जोगाउने प्रयासमा हेलिकोप्टर र अस्पतालको बिल गरेर ५० लाख खर्च भएको परिवारजनले बताए । तैपनि उनको जीवन रक्षा भएन । आफन्त राजेन्द्र गिरीको उपचारमा लागेको ऋण तिर्न उनीहरूले जग्गा बेचेका छन् ।

सल्यानको शारदा नगरपालिका घर भएका संक्रमित इन्द्रबहादुर खड्कालाई सास फेर्न गाह्रो भएपछि परिवारले पाँच दिनअघि दाङस्थित राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान पुर्‍याएका थिए । तर, त्यहाँ पनि उपचार हुन नसकेपछि गत मंगलबार थप उपचारका लागि काठमाडौं पुर्‍याउनुपर्ने भयो । खड्काका आफन्तले श्री एयरमा सम्पर्क गरे । श्रीले सुरुमा सात लाख ५० हजार भाडा भन्यो । जब कि भाडादर तोकिएको छ– चार लाख १३ हजार । नयाँ पत्रिकामा खबर छ .

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर