दुई वडा जोड्ने झोलुङ्गे पुलनिर्माण — OSNepal

दुई वडा जोड्ने झोलुङ्गे पुलनिर्माण

LC (KTM) February 09, 2022 0

लमजुङ, २६ माघ-लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ३ र ८ जोड्न झोलुङ्गे पुलनिर्माण गरिएको छ । मर्स्याङ्दी ३ खुदीमा रहेका अमर माध्यमिक विद्यालय र वडा नम्बर ८ आम्बोटे जोड्ने मर्स्याङ्दी नदीमा झोलुङ्गे पुल निर्माण गरिएको हो । ५३ लाख ५३ हजार ६ सय १० ‘रुपैयाँ ८७ पैसाको लागतमा निर्मण सम्पन्न भएका उक्त झोलुङ्गे पुल १ सय ५ मिटर लम्बाइ र साँढे १ मिटर चौडा रहेको छ ।

झोलुङ्गे पुल गाउँपालिकाको सहयोग र स्थानीय जनश्रमदानबाट निर्माण गरिएको हो । पुलनिर्माण उपभोक्ता समितिका अध्यक्ष भीम घलेका अनुसार झोलुङ्गे पुल निर्माणका लागि झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमबाट ४५ लाख २४ हजार ८२ रुपैयाँ ३६ पैसा, मर्स्याङ्दी गाउँपालिकाको ७ लाख १८ हजार ९ सय २८ रुपैयाँ ५१ पैसा र १ लाख १० हजार ६ सय रुपैयाँ बराबरको जनश्रमदान गरी कुल ५३ लाख ५३ हजार ६ सय १० रुपैयाँ ८७ पैसाको लागतमा निर्माण सम्पन्न भएको बताए । पुलको निर्माण कार्य २०७७ साल फागुन १४ गतेबाट सुरु भएको र २०७८ पुस २० गते सम्पन्न भएको अध्यक्ष घलेले बताए ।

उनका अनुसार पुलनिर्माणका लागि अनुमानित लागत ५५ लाख ३० हजार १ सय १९ रुपैयाँ रहेकोमा लागत अनुमान भन्दा कम खर्चमा पुल सम्पन्न भएको हो ।

उक्त पुलको मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले उद्घाटन गरेका छन् । पुल उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष गुरुङले सार्वजनिक सडक, पुल सिँचाई खानेपानी, शिक्षा स्वास्थ्य जस्ता सुविधा जनतालाई उपलब्ध गराउने दायित्व सरकारको भएको बताए । दुई वडा जोड्ने पुल निर्माणपछि मर्स्याङ्दी ३ र ८ का स्थानीयलाई आवतजावतमा सहज भएको अध्यक्ष गुरुङले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर