स्वास्थ्य मन्त्री त्रिपाठीले भने - बालबालिका जोगाउने पूर्वाधारको पूर्वतयारी युद्धस्तरमा भइरहेको छ — OSNepal

स्वास्थ्य मन्त्री त्रिपाठीले भने – बालबालिका जोगाउने पूर्वाधारको पूर्वतयारी युद्धस्तरमा भइरहेको छ

LC (KTM) June 04, 2021 0

परासी, २१ जेठ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले खोपसँगै आगामी तेस्रो लहरको कोभिड–१९ सङ्क्रमण रोकथामको पूर्वतयारीमा सरकार प्राथमिकताका साथ लागिरहेको बताउनुभएको छ । आगामी अक्टुबरपछि आउने तेस्रो लहरको कोभिड–१९ ले बालबालिकालाई बढी असर पर्ने अनुमान गरिएकाले बालबालिका केन्द्र्रित उपचारका लागि आवश्यक पूर्वाधार विकासको तयारी युद्धस्तरमा भइरहेको उहाँले बताउनुभयो ।

गृहजिल्ला नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) को परासीमा आज पत्रकारहरुसँग मन्त्री त्रिपाठीले ५० लाख खोप दिने निर्णय गरेको भन्दै अमेरिकी सरकार र नेपालस्थित अमेरिकी राजदूतप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

खोप उत्पादक देशहरुसँग निरन्तर संवादमा रहेको बताउँदै मन्त्री त्रिपाठीले पहिलो चरणमा खोप लगाएका नागरिकलाई दोस्रो डोज लगाउन भारतबाट थप सात लाख डोज खरिद गरी १७ लाख डोज खोप आउने सुनिश्चिता हुन लागेको जानकारी दिनुभयो । कोभिड–१९ को उपचारको औषधि नभएकाले सरकारको पहिलो प्राथमिकता खोप नै रहेको बताउनुभयो । उहाँले आगामी चुनावसम्ममा खोप लगाउन योग्य सबै नागरिकलाई खोप लगाइसक्ने उल्लेख गर्नुभयो ।

रसियाले पनि आगामी डिसेम्बरसम्म ८० लाख डोज खोप दिने प्रतिबद्धता जनाएको जानकारी दिँदै मन्त्री त्रिपाठले ४० लाख डोज खोप तत्काल पठाउन आफूले आग्रह गरेको बताउनुभयो ।

फरक प्रसङ्गमा उहाँले जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्ष सरकारमा सहभागी हुन लागेको जानकारी दिनुभयो । उहाँले जसपाको ठाकुर र आफ्नो समूह मिलेर नयाँ पार्टी गठन गर्न लागेको भनेर गलत प्रचार गरिएको बताउनुभयो ।

मन्त्री त्रिपाठीले यही जेठ ५ गते नवलपरासीमा सशस्त्र प्रहरीको गोली लागेर मृत्यु भएका युवकको सशस्त्र प्रहरीले हत्या गरेको बताउनुभयो । उक्त घटनामा सशस्त्र प्रहरीको ज्यादती र गैरजिम्मेवारपन देखिएको बताउनुभयो ।

सुस्ता गाउँपालिका–५ वनकट्टीस्थित भारतीय सीमा क्षेत्रमा स्थानीय र सशस्त्र प्रहरीबीच विवाद हुँदा स्थानीय २२ वर्षीय अविनाश राजभरको मृत्यु भएको थियो । मन्त्री त्रिपाठीले मृतकको घरमा पुगी पीडित परिवारसँग घटनाबारे जानकारी पनि लिनुभएको थियो ।

आइसियु उद्घाटन – नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा रोटरी क्लब अफ नवलपरासीले आइसियु कक्ष निर्माण गरेको छ । जिल्लामा आइसियुु कक्ष नहुँदा यहाँका बिरामी बुटवल, भैरहवा, चितवनलगायतका स्थानमा जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै रोटरी क्लबले चार शय्याको आइसियु कक्ष स्थापना गरेको क्लबका अध्यक्ष सुमन गोपाल आचार्यले जानकारी दिनुभयो ।

रोटरी क्लबका सदस्यहरुले व्यक्तिगत सहयोगबाट निर्माण गरेको आइसियु सञ्चालनपछि जिल्लाका गम्भीर प्रकृतिका बिरामीलाई उपचारमा सहज हुने आइसियु कक्ष निर्माण संयोजक वीरेन्द्र्र अग्रहरीले विश्वास व्यक्त गर्नुभयो । नवनिर्मित आइसीयु कक्ष आजै अस्पताललाई हस्तान्तरण गरिएको छ ।

नवनिर्मित आइसियु कक्षको आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले उद्घाटन गर्नुभयो । मन्त्री त्रिपाठीले कोभिड–१९ को सङ्क्रमणबाट जिल्लाबासीलाई जोगाउन उक्त अस्पतालका लागि अक्सिजन प्लान्ट, एचडियु सेवा, भेन्टिलेटरसहितको आइसियु कक्ष स्थापनाका लागि रकम पठाउनुका साथै पिसिआर मेसिन पनि आफूले मन्त्रालयबाट पठाएको जानकारी दिनुभयो ।

यद्यपि उहाँले अस्पताल व्यवस्थापन पक्षले पिसिआर मेसिन पठाएको एक महिना बितिसक्दा पनि जडान गर्न नसकेको भन्दै असन्तुष्टि जनाउनुभयो । उहाँले तत्काल पिसिआर मेसिन जडान गरी सञ्चालनमा नल्याए अन्यत्र पठाउने चेतावनी दिनुभयो ।

मन्त्री त्रिपाठीका अनुसार अस्पतालका लागि अक्सिजन प्लान्ट स्थापना गर्न रु डेढ करोड, एचडियु सेवाका लागि रु एक करोड नौ लाख ७५ हजार, भेन्टिलेटरसहितको आइसियु कक्षका लागि रु तीन करोड तथा एक थान पिसिआर मेसिन उपलब्ध गराइएको छ ।

अस्पताल विकास समितिका अध्यक्ष जगदीश चौधरीले पूर्वाधार अभावका कारण पिसिआर मेसिन समयमै सञ्चालन गर्न नसकेको तर अब छिटो सञ्चालनमा ल्याउने गरी काम अघि बढेको बताउनुभयो । उहाँले एचडियु र अक्सिजन प्लान्ट निर्माणका लागि टेन्डर आह्वान गरिएको जानकारी दिनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर