एमसीसी टेबुल गर्ने निर्णयले गठबन्धन दलभित्र बढायो किचलो, विरोध गर्नेलाई बैठकमा बोलाउनै छोडियो — OSNepal

एमसीसी टेबुल गर्ने निर्णयले गठबन्धन दलभित्र बढायो किचलो, विरोध गर्नेलाई बैठकमा बोलाउनै छोडियो

LC (KTM) February 20, 2022 0

काठमाडौं, ८ फागुन- सत्तारुढ गठबन्धन दलका शिर्ष नेताले आइतबार विहान गरेको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबुल गर्ने निर्णयले ती दलहरुबीच आन्तरिक किचलो बढाएको छ ।

सत्तारुढ दलका शिर्ष नेताहरुले एमसीसी संसदमा टेबुल गर्ने निर्णय गरी बाहिरिए लगत्तै दलका अन्य नेताहरु निर्णयको विरोधमा उत्रेका छन् । शुक्रबार विहान बालुवाटारमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भएको बैठकले एमसीसी आज संसदमा टेबुल गर्ने निर्णय गरेको थियो ।

आजको बैठकमा सरकारलाई समर्थन गर्दै आएको राष्ट्रिय जनमोर्चालाई बोलाएन । त्यस्तै एमसीसीको कडा विरोध गर्दै आएका गठबन्धन दलका केही नेताहरुलाई पनि बोलाइएको थिएन । शिर्ष नेताहरुले पार्टी भित्र छलफल नै नगरी संसदमा टेबुल गर्ने निर्णय गरेका थिए । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसी संसदमा टेबुल गर्ने सहमतिबारे पार्टीमा कुनै छलफल नभएको बताए ।

‘एमसीसी संसदमा टेबुल गर्नेबारेमा पार्टीमा कुनै छलफल भएको छैन । हाम्रो विरोध कायमै छ,’ न्युज कारखानासँग श्रेष्ठले भने ।एमसीसी टेबुल गर्ने गठबन्धनको निर्णयप्रति एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पनि आपत्ति जनाएका छन् । उनले विदेशीको दबाबमा पार्टीहरु झुकेर एमसीसी संसदमा टेबुल गर्ने निर्णय गरेको बताए ।

उनले संविधान विपरित गठबन्धनले एमसीसी टेबुल गर्ने निर्णय गरेको आरोप लगाए । ‘एमसीसी अनुमोदन गर्नको लागि ऐन पनि छैन । संघीय ऐन नबनाई संसदमा टेबुल गर्न सकिदैन । यो संविधान विपरित पनि छ,’ खनालले न्युज कारखानासँग भने । शनिबार मात्र आफ्नो पार्टीले एमसीसी सम्झौता परिमार्जन नगरी अगाडी नबढाउने निर्णय गरेको उनले स्मरण गरे ।

‘हिजो मात्र पार्टीले निर्णय गर्ने अनि आज टेबुल गर्ने भन्ने कसरी मिल्छ । यो सब गलत कुराहरु भए । विदेशीहरुको दबाबमा पार्टीहरु झुक्दै गएको कुरा यसले देखाउँछ,’ खनालले भने ।
एमसीसीको विरोध गर्ने भएकै कारण सत्तारुढ दलको आइतबार विहान बसेको बैठकमा आफूलाई नबोलाइएको उनले जनाए ।

पाँच दलीय सत्तारुढ गठबन्धनको एक घटक राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धन बैठकमा आफूहरूलाई बोलाउन छाडिएको गुनासो गरेका छन् ।एमसीसी सम्झौता अनुमोदन प्रस्ताव संसदमा पेस गर्ने विषयलाई लिएर भइरहेका गठबन्धनको बैठकमा आफूहरूलाई बोलाउनै छाडिएको केसीले न्युज कारखानालाई जानकारी दिए ।

‘एमसीसीको मुद्दा आएपछि विरोधमा उत्रिन्छ भनेर गठबन्धन बैठकमा हामीलाई बोलाउनै छाडे,’ केसीले भने, ‘हामी पनि बैठकमा जानुभन्दा सडकमै जानु उचित ठानेका छौँ ।’ केसी एमसीसीको विपक्षमा छन् । उनको पार्टी एमसीसीको विरोधमा सडकमै आन्दोलन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर