ओलीले पार्टीमा मात्र होइन, राज्य सञ्चालनमा समेत अनेकौँ स्वेच्छाचारी र अनियमित कार्य गरे -नेपाल — OSNepal

ओलीले पार्टीमा मात्र होइन, राज्य सञ्चालनमा समेत अनेकौँ स्वेच्छाचारी र अनियमित कार्य गरे -नेपाल

LC (KTM) May 11, 2021 0

काठमाडौं । एमाले नेता माधव नेपालले राष्ट्र र जनताको हित, संवैधानिक मान्यता, राजनीतिक नैतिकता र लोकतन्त्रको मर्यादाका लागि प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिएर देश, जनता र पार्टीप्रतिको निष्ठा देखाएको बताएका छन् । संसद्मा प्रधानमन्त्री ओलीले विश्वासको मत नपाएपछि सोमबार साँझ नेपालले विज्ञप्ति जारी गर्दै देशभक्त, लोकतन्त्रप्रेमी राजनीतिकर्मी तथा जनसमुदायको कर्तव्य हुने भएकाले संसद्मा अनुपस्थित भएको प्रस्टीकरण दिएका छन् ।

‘पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी ओलीका उपर्युक्त कामकारबाहीका कारण उहाँलाई राष्ट्र र जनताको हित, संवैधानिक मान्यता, राजनीतिक नैतिकता र लोकतन्त्रको मर्यादालगायत कुनै पनि दृष्टिबाट विश्वासको मत दिन उचित हुँदैनथ्यो,’ नेपालको विज्ञप्तिमा छ, ‘उहाँका गलत क्रियाकलापहरूको विरोध र प्रतिवाद गर्दै देश, जनता र लोकतन्त्रको भविष्य सुरक्षित गर्नका लागि आ–आफ्नो स्थानबाट योगदान गर्नु सबै देशभक्त, लोकतन्त्रप्रेमी राजनीतिकर्मी तथा जनसमुदायको कर्तव्य हुने भएकाले सोहीअनुरूप हामीले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत नदिने र प्रतिनिधिसभाको बैठकमा अनुपस्थित हुने निर्णय गरेका हौँ । यो निर्णय हाम्रो देश, जनता र पार्टीप्रतिको निष्ठाको द्योतक हो ।’

ओलीले पार्टीमा मात्र होइन, राज्य सञ्चालनमा समेत अनेकौँ स्वेच्छाचारी र अनियमित कार्य गरेको नेपालले आरोप लगाएका छन् ।‘प्रतिनिधिसभाको असंवैधानिक विघटन, संवैधानिक परिषद्मा मनपरी, कानुनी शासनको उपहास, भ्रष्टाचारीहरूलाई संरक्षणजस्ता उहाँका क्रियाकलापहरू छताछुल्ल भइसकेका छन् । देश कोरोना महामारीबाट आक्रान्त भइरहेका वेला जनताको स्वास्थ्य सुरक्षाका लागि काम गर्नुपर्ने वेला स्वास्थ्य सामग्रीमा समेत भ्रष्टाचार गर्नेहरूलाई प्रश्रय दिनुका साथै राष्ट्रलाई अन्योलग्रस्त तुल्याउने र विभाजित गर्ने काम प्रधानमन्त्रीबाट भइरहेको छ,’ नेपालको विज्ञप्तिमा छ, ‘प्रतिनिधिसभाको विघटनलाई सर्वोच्च अदालतले नै असंवैधानिक भनिसकेपछि पनि प्रधानमन्त्री केपी ओलीले आफ्नो निर्णयको जिम्मेवारी लिएर पदबाट राजीनामा दिने लोकतन्त्रको न्यूनतम मर्यादा र नैतिकता नदेखाई देश र दुनियाँका सामु नेकपा ९एमाले०को प्रतिष्ठामा आँच पु¥याउने काम गर्नुभयो ।

गत हिउँदे अधिवेशनमा प्रधानमन्त्री केपी ओली एक दिन पनि उपस्थित नभई र त्यसलाई कुनै काम नदिई अन्त्य गरियो । तर, नियमित अधिवेशनमा लिनुपर्ने विश्वासको मत आफैँले अधिवेशन बोलाई लिने गलत बाटोमा प्रधानमन्त्री केपी ओली अग्रसर हुनुभयो ।’ओलीले राष्ट्रिय हित, स्वाधीनता र स्वाभिमानमा आँच पुग्ने किसिमका गतिविधि गर्दै राज्यलाई नै कमजोर बनाउने काम गरेको नेपालको गम्भीर आरोप छ । नयाँ पत्रकिामा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर