भैरव अर्यालको स्मृति पुरस्कार : लुँइटेल, ग्वंग र भौकाजी पुरस्कृत — OSNepal

भैरव अर्यालको स्मृति पुरस्कार : लुँइटेल, ग्वंग र भौकाजी पुरस्कृत

LC (KTM) February 25, 2022 0

काठमाडौं – नेपाली साहित्यका प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित पुरस्कारहरू शुक्रबार राजधानीमा एक कार्यक्रमबीच वितरण गरिएको छ ।भैरव पुरस्कार गुठीले गरेको कार्यक्रममा गुठीका अध्यक्षसमेत रहेका वरिष्ठ साहित्यकार रोचक घिमिरेले २०७८ सालको भैरव पुरस्कार व्यङ्ग्यकार नरनाथ लुँइटेललाई प्रदान गरे । यो पुरस्कारको राशी १ लाख ११ हजार १ सय ११ रुपैया रहेको छ ।

पहिलो पटक यसै वर्षबाट घोषणा गरिएको भैरव वाङ्मय पुरस्कार संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगलाई प्रदान गरियो । एक लाख एक हजार एक सय ११ रुपैया राशीको यो पुरस्कार नेपाली कला, साहित्य, संस्कृति, सङ्गीत, पत्रकारितालगायतको क्षेत्रमा विशिष्ट योगदान दिने जोकोहीलाई अब वर्षेनी प्रदान गरिने गुठीका अध्यक्ष घिमिरले जानकारी दिए । त्यस्तै ५१ हजार १ सय ११ रुपैया राशीको भैरव प्रतिभा पुरस्कार साहित्यकार विमल भौकाजीलाई प्रदान गरियो ।

कार्यक्रममा पुरस्कृत स्रष्टाहरू क्रमश ः ग्वगं, लुँइटेल र भौकाजीको योगदानबारेमा क्रमशः श्रीओम श्रेष्ठ रोदन, डाक्टर रमेश शुभेच्छुक र दिव्य गिरीले प्रकाश पारेका थिए । पूर्वमन्त्री तथा प्रदेश सभासद् रामेश्वर फुयाल तथा गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख सन्तोष चालिसेले समृद्ध साहित्यले समन्नुत समाज निर्माणमा सहयोग गर्ने भएकाले साहित्यको विकासका लागि मन, वचन र कर्मले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

सोही अवसरमा ‘सम्झना भैरव स्मृतिग्रन्थ’ को विमोचन गरिएको थियो । विमोचित कृतिको समीक्षा गर्दै वरिष्ठ पत्रकार तथा गुठीका उपाध्यक्ष विजय चालिसेले नेपाली साहित्यको हास्यव्यङ्ग्य क्षेत्रमा अर्यालको योगदान अतुलनीय रहेको बताए ।

यसैबीच गुठीको आजै सम्पन्न साधारण सभाले रोचक घिमिरेको अध्यक्षतामा गुठीको नयाँ कार्य समिति निर्विरोध चयन गरेको छ । गुठीको उपाध्यक्षमा विजय चालिसे, सचिवमा वसन्त रिजाल र कोषाध्यक्षमा अजीत नेपाल रहेका छन् । त्यस्तै सदस्यहरूमा बद्री अर्याल ,रश्मी शर्मा, गोपाल बराल, प्रा. डा. दीपक अर्याल, उद्धव रायमाझी, गोविन्द घिमिरे ‘वेदमणि’, मेनका पोखरेल, घनश्याम प्रसाई र निर्मल अर्याल रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर