जलेश्वरमा शिव आगमनको आभास, मन्दिरको पानी फालेर शिवलिङ्गको दर्शन गराइने — OSNepal

जलेश्वरमा शिव आगमनको आभास, मन्दिरको पानी फालेर शिवलिङ्गको दर्शन गराइने

LC (KTM) February 28, 2022 0

जलेश्वर- शिवरात्रि लाग्नै लाग्दा शिव स्वयम्ले स्थापना गरेको भनिएको महालिङ्गमा उनी आइसकेको ठानी जलेश्वरमा विशेष सरसफाइ गरिएको छ । कलश शोभायात्रा सोमबार र विशेष महाशिवरात्रि पूजा मङ्गलबार गरिँदै छ । शिवपुराणमा भनिएको छ, ‘जलेश्वरो महालिङ्ग रुद्रेन स्थापित स्वयं’( जलेश्वर महालिङ्ग रुद्र स्वयंले स्थापना गर्नुभएको हो )। महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित जलेश्वरनाथ महादेवको स्थापना आराध्यदेव महादेव स्वयंले गर्नुभएको जनाइएको छ । अहिले मन्दिर सिँगार्ने काममा दर्जनाँै कामदार लागेका छन् । महाशिवरात्रि आउन तीन दिन मात्रै बाँकी रहँदा शिवभक्तिका गीतसङ्गीतले जलेश्वर गुञ्जायमान छ । शिवरात्रिको पूर्वसन्ध्यामा जलेश्वर नगरपालिका–१ स्थित मन्दिरमा जलेश्वर महादेव आइसक्नुभएको आभास भइरहेको जलेश्वरनाथ महादेवका पुजारी उपेन्द्र पाठक बताउनुहुन्छ ।

अनादिकालमा बाबा जगदीशनाथ, चतुर्भुजनाथ र बाबा तसमैया घना जङ्गलमा बसेका बेला शिवले जगदीशनाथलाई सपनामा महादेव मन्दिर निर्माण गर्न आदेश दिएको किंवदन्ती रहेको जलेश्वरनाथ महादेवका पुजारी पाठक बताउनुहुन्छ । बाबा जगदीशनाथले जङ्गलमा बाघ, भालु, हात्ती जस्ता जनावर रहने भएकाले कोही पनि कामदार काम गर्न नआउने बताएपछि स्वयं रुद्रले जलेश्वरनाथको मूल गुफासहितको मन्दिर प्रकट गराइदिएको भनाइ छ ।

जलेश्वरनाथ महादेवको मूल गुफा जमिनको सतहदेखि १६ सिँढीमुनि जमिनभित्र छ जहाँ २४ सै घण्टा जल भरिएको हुन्छ । जलेश्वरनाथ महादेव वर्षको ३६५ दिन नै जलमा विराजमान रहने विश्वास छ । मन्दिरमा शिवलिङ्ग दर्शनका लागि भक्तजनले विशेष दिनको प्रतीक्षा गर्नुपर्छ । मन्दिरभित्र करिब २० फिटमुनि जलमा बास बसेका महादेवको दर्शन गर्न त्यहाँको जल बाहिर फ्याँकेपछि मात्रै सम्भव हुने गर्छ । मन्दिरमा महाशिवरात्रि, साउन महिनाको प्रत्येक सोमबार र प्रत्येक महिनाको पहिलो सोमबारको दिन विशेष मेला लाग्छ । त्यतिबेला यहाँ विशेष पूजाआजा हुने र प्रत्यक्ष दर्शन पाइने विश्वास छ ।

मन्दिरको पानी फालेर शिवलिङ्गको दर्शन गराउने चलन छ । भित्रको पानी मोटर वा दमकल लगाएर फाल्न सकिन्न । धेरैले धेरैपटक पानी फाल्न प्रयास गरिसके पनि सकेका छैनन् । मानव शक्तिले बाल्टिनको सहयोगमा पानी फालेमा मन्दिरको गुफा देखिने र भक्तजनले दर्शन पाउने भनाइ छ तर पानी एकै छिनमा पुनः भरिइहाल्छ । त्यसैले पटक पटक पानी फ्याँकेर भक्तजनलाई दर्शन गराउने गरिन्छ जसका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय युवाको जमात लागिपरेका हुन्छन् ।

गुफासहितको पानीमुनि शिव विराजमान रहेको मन्दिर कहिले बनेको भन्नेबारे कुनै प्रमाण भने छैन । भनिन्छ, रुद्रले स्वयं गुफासहितको मन्दिर निर्माण गरिदिएपछि बाबा जगदीशनाथले नित्य पूजाआजाका साथै मन्दिर र महादेवका बारेमा प्रचारप्रसार गर्नुभयो । जलेश्वरको चौतर्फी चर्चा परिचर्चा गरेर प्रख्यात बनाउन भूमिका खेल्नुभएका जगदीशनाथले जीवनको अन्तिम कालमा बाबाको मन्दिरको ठीक सामुन्ने समाधि लिनुभयो । उहाँको सानो मन्दिर पनि जलेश्वरनाथ मन्दिरको सामुन्ने अझै छ ।

समयको कालखण्डसँगै नेपालमा शाहवंशी राज्य भएको बेला विक्रम संवत् १८६७ मा राजा गीर्वाणयुद्धविक्रम शाहले तत्कालीन कञ्चनपुर गाउँस्थित जङ्गल (हाल रामगोपालपुर नगरपालिका–७ ) मा शिकार खेल्न आएका बेला जलेश्वरनाथ मन्दिरलाई सञ्चालन, व्यवस्थापन र पूजाआजाका लागि २७५ बिघा जग्गा र चार महापोखरी दान दिनुभएको ताम्रपत्रमा उल्लेख छ जसलाई मौजेका नाउँमा बुझ्न थालियो । मौजेका रूपमा मन्दिरले जलेश्वर मौजे, बजराही मौजे, बहेरा मौजे, डाम्ही महेशपुर तथा वरुण सरोवर, पुरन्दर सरोवर, मखान पोखरी र महन्थ पोखरी जस्ता महापोखरी पनि पाएको थियो ।

शिवपुराणमै उल्लेख भएअनुसार जलेश्वरनाथ महादेवको ठीक अगाडि रहेको वरुण सरोवरमा स्नान र बाबा जलेश्वरनाथ महादेवको दर्शन मात्रले प्राणीमात्रले मुक्ति पाउने गर्छ । लामो समयसम्म बाबा जलेश्वरनाथसँग रहेका दर्जनौँ मौजे र महापोखरीबाट आएका आम्दानीबाट मन्दिरको दैनिक पूजाआजा, शिवको भोग, साधुसन्तको भण्डारा र आगन्तुकको स्वागतसत्कारसमेत हुने गरेको थियो । त्यस बेला मन्दिरमा पूजाआजाका लागि द्वेन्द्व गिरी नाउँका पुजारी थिए । उनले लामो समयसम्म बाबा जलेश्वरनाथको सेवा गरेका थिए ।

समय बित्दै जाँदा विसं १९९५ मा बडाहाकिम रामशम्शेरले जलेश्वरनाथ महादेवको भित्री गुफासहितको मन्दिरको माथि पुनः आकर्षक र ठुल्ठुला बुर्जासहितको अद्वितीय मन्दिर निर्माण गरे । महामन्दिर निर्माण गर्न बडाहाकिम रामशम्शेरले त्यस बेला रु २५ हजार खर्च गरेका थिए । महामन्दिर निर्माण गर्न सख्खर, उरिद, चुन, सुरखी, कत्थालगायत वस्तुको प्रयोग गरिएको थियो । महामन्दिर निर्माणको बेला जलेश्वरनाथ महादेव मन्दिरका पुजारी राजनारायण गिरी थिए ।

बाबा जलेश्वरनाथ महादेव मन्दिरमा साक्षात् शिवको बास रहेको र चोखो मन, वचनले भाकल गर्नेको मनोकामना अवश्य नै पूरा हुने गरेको जनविश्वास रहिआएको पुजारी पाठक बताउनुहुन्छ । जलेश्वरनाथको महिमा तथा उनको भलाइको गुणगान महोत्तरीलगायत धनुषा, सिरहा, सर्लाही, सिन्धुली जस्ता छिमेकी जिल्ला तथा नेपालका विभिन्न ठूला –साना सहर तथा गाउँ र राजधानी काठमाडौंँमा समेत भएको उल्लेख छ । यसका अलावा भारतका पटना, दरभङ्गा, मुजफ्फरपुर, सीतामढी, मधुवनीलगायत सहरमा पनि जलेश्वरनाथको व्यापक चर्चा छ । सोही कारण उहिले र अहिले पनि उल्लिखित ती स्थानबाट बर्सेनि जलेश्वरनाथको दर्शनका लागि लाखौँ पर्यटक (दर्शनार्थी) आउने गर्छन् ।

मन्दिरसँग सयौंँ बिघा जग्गा र चार महत्वपूर्ण पोखरी रहेकाले निकै भव्य तरिकाले सञ्चालन, व्यवस्थापन हुँदै आएको थियो । समय बित्दै जाँदा पद्मशम्शेरले आफ्ना पालामा मन्दिरको अधीनमा रहेको जग्गा आफ्ना गुरुपुरोहित गोपालबहादुर उपाध्याय, रामबहादुर उपाध्यायलगायत चार–पाँच दाजुभाइलाई दान दिएको बताइन्छ । पद्मशम्शेरले दान दिएपछि गुरुपुरोहित र उनका सन्तानले मौजे बेचेर खाएपछि विस्तारै मन्दिरको दिन बिगिँ्रदै गएको पुजारी पाठक बताउनुहुन्छ ।

विसं १९८३ को श्रेस्तामा सयौँ बिघा जग्गा मन्दिरको नाउँमै उल्लेख रहेको देखाउँछ । त्यसैगरी विसं २००२ सम्म मन्दिरको महन्थका नाउँमा मौजेहरू रहेको उल्लेख छ तर मन्दिरका सयौँ बिघा जग्गाको मौजे विसं २००८ देखि हराएको छ । यसरी सयौंँ बिघा जग्गा दानका नाउँमा हराए । मन्दिरका चार महापोखरी अहिले जलेश्वर नगरपालिकाले आफ्नो कब्जामा लिए पनि मन्दिरलाई कुनै सहयोग नगरेको गुनासो सर्वसाधारणको छ ।

मन्दिरकै दक्षिणपट्टि रहेको गुठी संस्थानसँग रहेको ताम्रपत्रमा राजा गीर्वाणयुद्धविक्रम शाहले दान दिएको २७५ बिघा जग्गा र चार महापोखरी अझै पनि सुरक्षित छ । कुनै बेला चार महापोखरी र २७५ बिघा जग्गाको मालिक रहेका जलेश्वर महादेवलाई अहिले पूजाआजा र भोग (प्रसाद) का लागि केही छैन । मन्दिरमा आएर पूजाआजा गर्ने भक्तजनलाई मालामाल बनाइदिएका जलेश्वरनाथ आफू भिक्षा र भेटीका भरमा बस्नुपरेको पुजारी पाठकले बताउनुभयो ।

कुनै बेला सयौंँ बिघा जग्गा र चार महापोखरीको मालिक रहनुभएका बाबा जलेश्वरनाथ आज साँच्चिकै भिखारी हुनुभएको छ । आज मन्दिरसँग केही पनि छैन । बाबा अहिले दैनिक भक्तजनको दान, चन्दा र सहयोगमा निर्भर हुन पुगेको पुजारी पाठकले गुनासो गर्नुभयो ।

मन्दिरमा अहिले भक्तजनले चढाएको भेटी, चन्दा र अन्य सहयोगबाटै नित्य पूजाआजा तथा प्रसाद चल्ने गरेको छ । यसका अलावा मन्दिरमा २४ सै घण्टा खटिने पुजारी, टहलु, मेस्तर, गिरी र आगन्तुक बाबाजीहरूको पनि दिनचर्या भक्तजनकै दानदातव्यबाट चल्ने गरेको जनाइएको छ । आजसम्मको इतिहासमा कुनै पनि दिन बाबाको पूजाआजा प्रभावित नभएको, भोग –प्रसादको कमी नभएको, बाबाको सेवामा लागेका कोही पनि भोकै बस्न नपरेको र आगन्तुक समेतलाई पनि कहिले कुनै समस्या नभएको पुजारी पाठक बताउनुहुन्छ । उहाँले भन्नुभयो, “कहाँबाट कसले कतिबेला ल्याइदिन्छ, थाहा हुँदैन, सबै बाबा महादेवको कृपाले चलेको छ ।”

बाबा जलेश्वरनाथ तीन– चार वर्षदेखि टेकाको भरमा बस्नुभएको छ । मन्दिरमा पछि निर्माण गरिएको बाहिरी विशाल मन्दिर शिवलिङ्गको ठीकमाथि भित्रपट्टिबाट झुकेको र कुनै पनि बेला ढल्न सक्ने अवस्थामा पुगेको पुजारी पाठक बताउनुहुन्छ । उहाँका अनुसार तीन वर्ष पहिले २०७५ सालमा अचानक एकदिन मन्दिरको भित्री भागमा झुकेको देख्दा तुरुन्तै फलामका दुई मोटा मोटा टेको लगाइयो । मन्दिरको जीर्णावस्थाबारे जलेश्वर नगरपालिकाका प्रमुख रामशङ्कर मिश्रलाई जानकारी गराउनाका साथै पटक पटक बोलाएर अवलोकनसमेत गराइएको छ । यसका अलावा तीन वर्षका बीच पुरातत्त्व विभागबाट पनि चार पटक विज्ञ आएर मन्दिरको अवस्था हेरेर गए पनि मन्दिरको जीर्णोद्धार तथा मर्मतसम्भारका लागि कतैबाट कुनै सहयोग नआएको दुखेसो पुजारीले पोख्नुभयो ।

जीर्ण तथा ढल्ने अवस्थामा पुगेको पौराणिक जलेश्वर मन्दिरको तत्काल जीर्णोद्धार र मर्मत सम्भार गरी संरक्षण, संबद्र्धन र व्यवस्थापनका लागि पनि यथोचित व्यवस्था गर्न÷गराउन सरोकारवालासँग मन्दिर परिवारका साथै बाबाप्रति आस्था राख्ने सबैले माग गरेका छन् ।

महाशिवरात्रि पूजाको अवसर पारेर अहिले मन्दिरलाई दुलही झैंँ सिंगारिने काम तीव्र रुपमा भइरहेको छ । यस वर्ष महालिङ्गको दर्शन करीब तीन लाख भक्तजनले आउने अनुमान रहेको जलेश्वर महाशिवरात्रि महोत्सवका संयोजक राकेशकुमार साहले बताउनुभयो । उहाँका अनुसार यस वर्ष जलेश्वरनाथ महादेवको विशेष पूजा (शिवरात्रि) का अवसरमा मन्दिरदेखि ५०० मिटरसम्म भव्य पन्डाल, झिलीमिली बत्ती, फूलमाला र विशेष प्रकारको ध्वनिले सजाइएको छ । मन्दिरभित्र पनि आकर्षक पन्डाल रहेको र सम्पूर्ण मन्दिरलाई नै सयपत्री फूलको मालाले छोपेर सजाइएको संयोजक साहले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर