हिउँ हटाएर एक हप्तादेखि बन्द रहेको मनाङको सडकखण्ड सञ्चालन — OSNepal

हिउँ हटाएर एक हप्तादेखि बन्द रहेको मनाङको सडकखण्ड सञ्चालन

LC (KTM) February 28, 2022 0

मनाङ, १६ फागुन – भारी हिमपातका कारण एक हप्तादेखि बन्द रहेको मनाङको भित्री सडकखण्डमा आवातजावात सञ्चालन भएको छ । भारी हिमपातपछि पुरिएको सडकको हिउँ पन्छाएपछि सवारीसाधन पुनः सञ्चालनमा आएकोे छ । गत फागुन ८ गते आइतबार बिहानदेखि लगातारको हिमपातले जिल्लाको अधिकांश भेगमा बाक्लो हिउँ जमेको थियो । हिउँका कारण सडक अवरुद्ध भएपछि छ दिन लगाएर जिल्लाका सडकका हिउँ हटाएर सवारी आवागमन सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार मनाङ ङिस्याङ गाउँपालिकाको तलेखुदेखि खाङ्सारसम्म हिउँ पन्छाइएको छ । जिल्लाका केही स्थानीयले जेसिबी र जनप्रतिनिधि, प्रहरीको सहयोगमा सडकमा जमेको हिउँ पन्छाएपछि यातायात सञ्चालनमा आएको प्रजिअ आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “जमेको हिउँ पन्छाएर सडक खुलेपछि आवातजावत हुन थालेको छ । यसले आवातजावतमा सहज बनाउनेछ ।”

हिउँका कारण दैनिक उपभोग्यलगायत खाद्यान्न तथा मालसामान ढुवानीमा समस्या हुँदै आएको थियो । हिउँ पन्छाउन गाउँपालिकाका जनप्रतिनिधि आफँै मैदानमा खट्नुभएको आचार्यले बताउनुभयो । हिमपातले हिमाली क्षेत्रका किसानमा उत्साह छाएको छ । तर सडकमा लामो समयसम्म हिउँ रहँदा स्थानीयले सास्ती खेप्नु परेको उनीहरु बताउँछन् । यस्तै हिउँ पन्छाएलगत्तै प्रमुख जिल्ला अधिकारी आचार्यको नेतृत्वमा जिल्लावासीको अवस्थासमेत विभिन्न स्थानमा गएर अनुगमन गरिएको छ । चिसोमा जनजीवनको अवस्थाको निरीक्षण गर्दा अतिविपन्न परिवारलाई न्यानो कपडासमेत वितरण गरिएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर