तस्विरमा हेर्नुहोस् माझी समुदायको मौलिक पर्व लदी पूजा — OSNepal

तस्विरमा हेर्नुहोस् माझी समुदायको मौलिक पर्व लदी पूजा

LC (KTM) March 01, 2022 0

सर्लाही, १७ फागुन। अल्पसंख्यक समुदायअन्तर्गत पर्ने माझी समुदायले मंगलबार ‘लदी’ अर्थात नदी पूजा धुमधामका साथ मनाएका छन् ।

सर्लाहीको बागमती नगरपालिका–१२ स्थित भरतताल प्राङ्गणमा विषेश कार्यक्रम आयोजना गरेर लदी पर्व मनाएको नेपाल माझी उत्थान संघ सर्लाहीले जनाएको छ । जिल्लाका विभिन्न स्थानमा बर्षौदेखि बसोवास गर्दै आएका माझीहरूले पहिलो पटक सामुहिक रुपमा लदी पूजा मनाएकाे संघका जिल्ला सह-सचिव राजकुमार कुश्वारले बताए ।

मंगलबार बिहानै बागमती नदी किनारमा पुगेर उनीहरूले नदीको पूजा गरेका थिए । त्यसपछि दुर्गा चोकबाट निस्किएको र्‍याली भरत तालमा पुगेर सभामा परिणत भएको थियो । कार्यक्रममा माझी समुदायका बालबालिका, युवायुवतीदेखि वृद्धवृद्धासम्म परम्परागत पोसाकमा सजिएर आएका थिए ।

यसअघि घरघरमै मनाउने गरिएको लदि पूजाको मौलिकता लोप हुने अवस्थामा पुगेपछि यसको संरक्षणको लागि सामुहिक कार्यक्रम आयोजना गरिएकोे पूजा समितिका कुमार माझीले बताए । आफ्नै समुदायमा समेत यसको महत्व बारे उजार गर्न आवश्यक रहेको उनले बताए । माझी समुदायले मुख्य पर्वको रुपमा मनाउने यस पुजाको संरक्षण आवश्यकता भएको उनीहरूको भनाइ छ ।

नदीमा डुंगा खियाउने र माछा मार्ने मुख्य पेसा मान्दै आएका माझी समुदायले नदी अर्थात प्रकृतिको पुजा गर्दै आएको उनीहरूको दावी छ । प्रत्येक बर्ष फागुनको सांहिली अर्थात तेस्रो मंगलवार नदीमा गएर पूजा गरे बर्षातको जस्तोसुकै भेलमा पनि डुंगा खियाउन सक्ने शक्ति मिल्ने किम्बदन्ती रहेको माझी समुदायका जानकारहरूको भनाइ छ ।

रामेछाप जिल्लालाई उद्गमथलो मान्दै आएका माझी समुदाय सर्लाहीको बागमती, बरहथवाको हजरिया, हरिवनको बेताली, ईश्वरपुरको भक्तिपुर, सागरनाथ, लालबन्दीको रंजितपुर, परवानीपुर, ज्याजोर, पत्थरकोट लगायतका स्थानका बसोबास गर्दै आएका छन् । सर्लाहीमा मात्रै ६५ सय देखि सात हजारको हाराहारीमा माझीहरू रहेका नेपाल माझी उत्थान संघ सर्लाहीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर