महानगरले बनाई दियो ३२ घर , कबिता ऋषिदेब भन्छिन् -नयाँ बस्तीमा सरेपछि त चैनको निन्द्रा पर्न थालेको छ — OSNepal

महानगरले बनाई दियो ३२ घर , कबिता ऋषिदेब भन्छिन् -नयाँ बस्तीमा सरेपछि त चैनको निन्द्रा पर्न थालेको छ

LC (KTM) March 07, 2022 0

एकैनासले लहरै घर निर्माण गरिएका छन् । इँटा जडान गरी माथि टिनले छाएको छ । सिकुवा र आगँन ढलाई गरेर पक्की बनाइएको छ । एक समान र उही आकारका घरले वस्ती निकै व्यवस्थित देखिन्छ । सफा आँगन, केटाकेटी खेल्ने फराकिलो ठाउँ अनि व्यवस्थित शौचालयको पनि प्रबन्ध भएको छ ।

सामुहिक वस्ती विकासको गर्ने उद्देश्यले विराटनगर–१९ धरमपुरामा निर्माण भएका नयाा संरचनामा ३२ परिवारले आश्रय पाएका छन् । त्यहाँ बसोबास गर्ने सबै अल्पसंख्यक मुसहर (ऋषिदेव) समुदायका मानिसहरु छन् । ‘महानगर आवास’ योजनाअन्तर्गत विपन्न मुसहर समुदायको लागि विराटनगर महानगरपालिकाले वस्ती नमार्ण गरी समुदायमा हस्तान्तरण गरेको हो ।

स्थानीयका अनुसार नयाँ घरमा सरेपछि अब सिंघीया खोलाको बाढीले उठिबास लगाउने हो कि भन्ने रत्तिभर पिर छैन । “नयाँ बस्तीमा सरेपछि त चैनको निन्द्रा पर्न थालेको छ,” स्थानीय कविता ऋषिदेवले भनिन्,“छोराछोरी धुलोहिलोमा डुब्लान भन्ने पिर पनि अब हटेको छ ।” एक परिवारका लागि दुईवटा सुत्ने कोठा, एक भान्सा घर र शौचालयसहितको व्यवस्थित घर आफूहरुले प्राप्त गरेको ऋषिदेवले सुनाईन् ।

विराटनगर महानगरपालिकाले बस्तीमा नाला, बाटो बनाई खानेपानीका लागि ट्यूबेल जडान गरिदिएको छ । यही भौतिक संरचनामा क्रृषिदेव परिवारको दिनचर्या चल्न थालेको छ । लालसे ऋषिदेवलाई खोला किनारको झुप्रोबाट कहिल्यै पार नपाइएला कि भन्ने ठूलो चिन्ता थियो । सिंघीयाको बाढीले घर बगाएपछि उनी निक्कै लामो समय दाताले दिएको पालमुनि ओत्तिएका थिए । तर, उनलाई अब न खोला नत बाढीले अत्यास पार्ने हो कि भन्ने पिर छ । “हाम्रो त दिन फिरेर आएको छ । अहिले त पक्की घरमा बस्न पाइएको छ,” उनले भने,“हामी जस्ता धेरै गरिबसँग अहिले आफ्नै घर छ ।”

महानगरले घर बनाई दिएपछि बुढेसकालमा आफूलाई सन्तोक मिलेको लालसेले सुनाए । कविता र लालसे जस्तै मुनिश्री ऋषिदेवका दिन पनि फिरेका छन् । श्रीमान र उनी दैनिक ज्यालादारीमा श्रम गर्छन । दैनिक हुने कमाईले परिवार चलेको छ । छोराछोरीलाई पनि नजिकैको आधारभुत विद्यालयमा पढाउन सजिलो भएको छ । मुनिश्री भन्छिन्,“हाम्रो बस्ती नै नयाँ ठाउँमा सरेको छ । अब घर छैन भन्ने चिन्ता हामीलाई छैन ।”

महानगरपालिका सामाजिक विकास महाशाखाका प्रमुख पुनम दाहाल भन्छन्,“घर नभएका विपन्न परिवारलाई लक्षित गरी ३२ घर निर्माण गरिएको छ । यसबाट सिमान्तकृत समुदायलाई सामुदायिक बस्तीको अवधारणाअनुसार बसाल्न सकिएको छ ।” विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बाढीबाट हरेक वर्ष डुबानमा पर्ने विपन्नका बस्तीलाई सुरक्षित स्थानमा सार्ने उद्देश्यसाथ आवास योजना अघि सारिएको बताएका छन् । बस्ती विकासमा महानगरपालिकासँग हेबट्याट्स फर ह्युम्यानिटी, जीवन विकास र सहारा नेपालले साझेदारी गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर