मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि मनाङलाई — OSNepal

मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि मनाङलाई

LC (KTM) March 13, 2022 0

कैलाली – धनगढीमा जारी सर्वाधिक धनराशीको पाँचौँ ‘मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि मनाङ मस्र्याङ्दी क्लबले जितेको छ ।धनगढी रङ्गशालामा आज भएको फाइनलमा फ्रेन्ड्स क्लबलाई ३–१ गोल अन्तरले हराउँदै मनाङ च्याम्पियन बनेको हो ।

मनाङले दोस्रो पटक खप्तड गोल्डकपको उपाधि जितेको हो । उसले पहिलो संस्करणको पनि उपाधि जितेको थियो । मनाङलाई जित दिलाउन दिनेश राजवंशी, आफिज ओलावाले र मौसा अबागानाले एक÷ एक गोल गरे । फ्रेन्ड्सका जमोउल एन्थोनी फ्रान्कोइसले एक गोल फर्काए । खेलको २२औँ मिनेटमा दिनेशले फ्रि–किकबाट गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसअघि १९औँ मिनेटमा फ्रेन्ड्सका जमोउलले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार मनाङका गोलकिपर विशाल सुनारले बचाएका थिए । ५१औँ मिनेटमा जमोउलले गोल गर्दै फ्रेन्ड्सलाई एक÷एक गोलको बराबरीमा ल्याए ।

खेलको ७२औँ मिनेटमा आफिजले गोल गर्दै मनाङलाई २–१ को अग्रता दिलाएका थिए । खेलको ८६औँ मिनेटमा मनाङका रुपेश केसी र फ्रेन्ड्सका श्यामबाबु क्याप्छाकीले रातो कार्ड पाएपछि दुवै टोली १० खेलाडीमा समेटिए । त्यसपछि खेलको इन्जुरी समयमा मौसाले गोल गर्दै मनाङलाई ३–१ को जित दिलाए । उपाधिसँगै मनाङले रु २१ लाख नगद प्राप्त गरेको छ । उपविजेता बनेको फ्रेन्ड्सले रु १० लाख नगद प्राप्त गरेको छ ।

मनाङका शिशिर लेखी सर्वोत्कृष्ट खेलाडी भए । उनले रु एक लाख प्राप्त गरेका छन् । मनाङकै विशाल सुनार उत्कृष्ट गोलरक्षक, राजेन्द्र तामाङ उत्कृष्ट प्रशिक्षक, मौसा अवगाना उत्कृष्ट मिडफिल्डर भए । फेन्ड्सका सुरज विश्वकर्मा उत्कृष्ट रक्षक र फेन्ड्सकै जमोउल एन्थोनी फ्रान्कोइस सर्वाधिक गोलकर्ता भए । सुदूरपश्चिम ११ का फागुराम चौधरी उदयमान खेलाडी भए । उनीहरूले जनही रु २० हजार प्राप्त गरेका छन् । सुदूरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको थियो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर