भोजपुरको जरायोटारमा क्रान्तियोध्दा फुइकी बाजेको सालिक अनावरण, राणा शासन बिरुद्ध परिवर्तनको बिगुल फुकेको भन्दै मन्त्री कार्कीले गरे स्मरण — OSNepal

भोजपुरको जरायोटारमा क्रान्तियोध्दा फुइकी बाजेको सालिक अनावरण, राणा शासन बिरुद्ध परिवर्तनको बिगुल फुकेको भन्दै मन्त्री कार्कीले गरे स्मरण

LC (KTM) March 24, 2022 0

भोजपुरको अरुण गाउँपालिका ६ जरायोटारमा निर्माण गरिएको २००७ सालका क्रान्तियोध्दा स्व. मानध्वज राई फुइकी बाजेको सालिक अनावरण गरिएको छ । बिहीबार एक कार्यक्रमका बिच प्रदेश एकका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले सालिकको अनावरण गर्नुभएको हो । सालिकको अनावरण गर्दै मन्त्री कार्कीले राणा शासनका बेला पनि परिवर्तनको बिगुल फुक्ने स्व. राईको प्रतिमा बनाउनु र त्यसमा पनि आफैँले उद्घाटन गर्न पाउनु सौभाग्य भएको बताउनुभयो ।

राणा कालमा पुर्खाहरूले रैतीको जीवनयापन गर्ने गरेको सहन नसकेर रैती हुनुभन्दा सहिद हुनुपर्छ भन्ने सोचका साथ बिपी कोइरालाहरूले सुरु गरेको अभियानमा स्व. राई लागेको उहाँले स्मरण गर्नुभयो । अन्यायका विरुद्धमा लड्नुपर्ने बताउँदै उहाँले ऐतिहासिक पात्रहरूको सालिकले केवल प्रतिमा मात्र नभएर ऐतिहासिक तथ्यको झझल्को दिने बताउनुभयो । स्व. राई जिल्लामा नयाँ नयाँ कृषि तथा फलफूलका बोटबिरुवा ल्याउने व्यक्तिका रूपमा चिनिने भएकाले कृषि क्रान्तिका अभियन्ता पनि भनेर चिनिनुहुन्छ ।

राईको निधन २०३० सालमा भएको थियो ।मन्त्री कार्कीले सालिक सँगै निमाण गरिएको जोडी जरायोको प्रतिमाको पनि उद्घाटन गर्नुभयो । जरायोटार प्रदेश एकको बिचको भूभाग रहेको उल्लेख गर्दै मन्त्री कार्कीले प्रदेश सरकारले यसको विकाशका लागि नवीन ढङ्गले अगाडि बढ्ने बताउनुभएको छ ।गाउँपालिकाका अध्यक्ष गजेन्द्र बहादुर कार्कीले आफ्नो पालिकाले पालिकाले जनतालाई घर घरमा सरकार आएको महसुस हुने गरी काम गरेको बताउनुभयो ।

वक्ताहरूले स्व।राईले जस्तो योगदान पुर्याएकालाई यसैगरि सम्मान गरेर चिनारी दिनुपर्ने बताएका छन् । मन्त्री कार्कीले वडा नं ६ मै २० रोपनी जग्गामा निर्माणाधीन खेल मैदानको पनि अवलोकन गर्नुभयो । मैदानको अवलोकन गर्दै उहाँले मैदान निर्माणका लागि पनि आवश्यक सहयोग गर्ने बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर