दुई करोड पाँच लाखको लागतमा बुडुवाखोलामा पक्की पुल निर्माण सम्पन्न — OSNepal

दुई करोड पाँच लाखको लागतमा बुडुवाखोलामा पक्की पुल निर्माण सम्पन्न

LC (KTM) March 29, 2022 0

दमौली, १५ चैत -तनहुँको भीमाद नगरपालिका–३ स्थित बुडुवाखोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत पक्की पुल निर्माण सम्पन्न भएको हो । विसं २०७७ पुस १३ गतेदेखि पुल निर्माणको काम सुरु भएको थियो । पुल निर्माणका लागि विसं २०७७ साउन २८ गते गणेश कुण्ड निर्माण सेवा नुवाकोटसँग सम्झौता भएको थियो । रु दुई करोड पाँच लाख ५७ हजार १४४ को लागतमा पुल निर्माणको काम सकिएको भिमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापाले जानकारी दिनुभयो । १९.८ मिटर लामो पुलको चौडाइ छ मिटर रहेको छ ।

उक्त ठाउँमा पुल नहुँदा वर्षायाममा सर्वसाधारणलाई सास्ती हुँदै आएको थियो । पुल निर्माणपछि यस भेगका बासिन्दालाई वारपारमा सहयोग भएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष पदम ठकुरीले बताउनुभयो । वर्षाका बेला यो खेला निकै ठूलो हुन्छ । खोला तर्न हालिएका फड्के पनि बगाउँदा स्थानीयवासी मर्कामा पर्दै आएका थिए । विद्यालय जाने विद्यार्थी, घाँस दाउरा र मेलामात गर्ने स्थानीयवासीलाई खोला तर्न समस्या हुँदै आएको थियो । वर्षौँदेखि मोटरेबल पुल बनाउन आवाज उठाउँदै आएका यहाँ स्थानीयवासीको माग गण्डकी प्रदेश सरकारले सम्बोधन गरिदिएको छ । वडाध्यक्ष भूपेन्द्रराज मल्लले यहाँ बनेको पुलले स्थानीयवासीको जीवनस्तरमा सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयो । बाटो बने पनि पुल नहुँदा सवारी आउजाउमा समस्या भइरहेको बताउँदै पुल बनेपछि विकास र स्थायित्वको आवश्यकता पुष्टि भएको उहाँले बताउनुभयो ।

यसैबीच तनहुँको आँबुखैरेनी गाउँपालिका–२ को भवन निर्माण सुरु भएको छ । जनप्रतिनिधिको कार्यकाल सकिने अन्तिम चरणमा रहेका बेला बल्ल वडा कार्यालय भवन निर्माण सुरु भएको हो । उक्त भवनको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले शिलान्यास गर्नुभयो । सो अवसरमा थापाले वडा कार्यालयको भवन नहुँदा सेवा प्रवाहमा असहजता भइरहेपनि भवन निर्माणपछि सहज हुने बताउनुभयो । गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि गाउँपालिकाको प्रमुख प्रशासकीय भवन र अन्य वडा कार्यालयको भवन निर्माण सम्पन्न गरिसकिएको उहाँले बताउनुभयो ।

रु एक करोड २२ लाख ६४ हजार ५५६ को लागतमा वडा कार्यालय भवन निर्माण हुन लागेको हो । विसं २०७९ फागुनसम्म भवन निर्माण सम्पन्न गर्ने गरी भक्तपुरस्थित मायादेवी कन्स्ट्रक्शनले जिम्मा पाएको छ । दुई तलाको भवन निर्माण सम्पन्न भएपछि सेवा प्रवाहमा सहज हुने वडाध्यक्ष कटकहादुर थापाले बताउनुभयो । सामुदायिक भवनमा सञ्चालित वडा कार्यालय साँघुरो हुँदा सर्वसाधारणलाई सेवा दिन कठिन भइरहेको थियो । “एकैचोटि धेरै सेवाग्राही आउँदा बस्ने ठाउँ पनि हुँदैनथ्यो, सेवा प्रवाह दिन कठिन भइरहेको छ, नयाँ भवन बनेपछि सहजरूपमा सेवा दिन सक्छौँ”, उहाँले भन्नुभयो ।

गाउँपालिकाले चालु आर्थिक वर्षमा दुईवटा भवनको उद्घाटन गरिसकेको छ । प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले पूर्वाधारयुक्त बनाउने उद्देश्यसहित सबै वडाका भवन निर्माणलाई प्राथमिकता दिइएको बताउनुभयो । स्थानीय तहमा जनप्रतिनिधि आएपछि वडा नं १, ४ र ५ को भवन निर्माण सम्पन्न भएको छ । वडा नं २ र ३ ले सामुदायिक भवनबाट सेवा प्रवाह गरिरहेका छन् । यद्यपि उक्त भवनको भाडा भने तिर्नुपर्दैन । वडा नं ६ को भवन पनि छिट्टै निर्माण गरिने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको प्रमुख प्रशासकीय भवनसमेत निर्माण सम्पन्न भएर सञ्चालनमा आइसकेको छ । रु तीन करोड ८ लाख ७७ हजार ४६६ को लागतमा भवन निर्माण सम्पन्न भएको हो ।

भादगाउँ खानेपानीका लागि नगर विकास कोषसँग ऋण सम्झौता
तनहुँको व्यास नगरपालिका–१ स्थित भादगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले नगर विकास कोषको सहयोगमा आयोजना सञ्चालनका लागि सम्झौता गरेको छ । संस्थाले नगर विकास कोषसँग रु तीन करोड ८१ लाख ऋण लगानीका लागि सम्झौता गरेको हो । खानेपानी तथा सरसफाइ क्षेत्र सहलगानी आयोजनाअन्तर्गत भादगाउँ करादी खिरखाँदी खानेपानी तथा सरसफाइ आयोजनाको निर्माण, सञ्चालन तथा व्यवस्थापन गर्न नगर विकास कोषसँग सम्झौता गरेको हो । खानेपानी तथा ढल व्यवस्थापन विभागबाट छनोट भएको बोलपत्रदाताले पेश गरेको ठेक्का कबोल अङ्क (खानेपानी आपूर्तितर्फ) रु १५ करोड २४ लाख ३६ हजारको २५ प्रतिशतले हुने रकम रु तीन करोड ८१ लाख कोषबाट ऋण लगानीका लागि नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र भादगाउँ करादी खिरखाँदी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष चिजबहादुर दरैबीच ऋण सम्झौता भएको छ ।

ऋण सम्झौतामा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेको उपस्थितिमा जमानतकर्ताको रूपमा हस्ताक्षर गर्नुभएको थियो । सम्झौता कार्यक्रममा भादगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका उपाध्यक्ष, कोषाध्यक्ष, सहसचिव तथा सदस्यको पनि उपस्थिति थियो ।

व्यास नगरपालिका–१ सेवा क्षेत्र रहेको उक्त आयोजनामा नेपाल सरकारको ७० प्रतिशत अनुदान रकम रु १० करोड ६७ लाख, नगर विकास कोषबाट २५ प्रतिशत ऋण रकम रु तीन करोड ८१ लाख र पाँच प्रतिशत रकम रु ७६ लाख २१ हजार उपभोक्ता संस्थाबाट व्यहोरिने अध्यक्ष दरैले जानकारी दिनुभयो । उक्त आयोजना निर्माणपश्चात सन् २०२३ मा चार हजार २९२ घरधुरी र डिजाइन वर्ष सन् २०३३ मा छ हजार ३७८ घरधुरीलाई मुहान स्रोत र सम्पवेल पम्पिङमार्फत चौबीसै घण्टा खानेपानी पु¥याउने लक्ष्य छ ।

जनताको आधारभूत आवश्यकतासँग जोडिएको आयोजनाको कोषबाट विभिन्न पक्षहरुको मूल्याङ्कनपश्चात भएको ऋण सहयोगले आयोजनालाई दिगोरूपमा आगाडि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने दरैले बताउनुभयो । व्यास नगरप्रमुख न्यौपानेले सहरीकरणतर्फ तीव्ररूपमा अगाडि बढेको व्यास नगरपालिकमा केही वर्षयता हरेक वर्ष ५०० को हाराहारीमा घर निर्माण भइरहेकाले ठूला खानेपानी आयोजना अपरिहार्य रहेको बताउनुभयो ।
(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर