अलपत्र पर्दै आएको मध्यपहाडी लोकमार्ग ठेक्का सम्झौताको ६ वर्षपछि कालोपत्र — OSNepal

अलपत्र पर्दै आएको मध्यपहाडी लोकमार्ग ठेक्का सम्झौताको ६ वर्षपछि कालोपत्र

LC (KTM) April 03, 2022 0

गलकोट- राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मध्यपहाडी (पुष्पलाल) लोकमार्गअन्तर्गत बागलुङ जिल्ला सदरमुकामअन्तर्गत दुवै खण्डमा कालोपत्रको काम एकै पटक सुरु गरिएको छ । बागलुङ बजारको उपल्लाचौरदेखि घोडाँबाधेसम्मको सडक दुई खण्डमा विभाजन गरी ठेक्का सम्झौता गरिएको छ वर्षपछि बागलुङ बजार खण्ड र बिहुँ खण्डमा एकसाथ कालोपत्र सुरु गरिएको छ । लामो समयदेखि अलपत्र पर्दै आएको मध्यपहाडी लोकमार्गअन्तर्गत जिल्लाको सदरमुकाम खण्डमा फागुनदेखि कामले तीव्रता पाएसँगै कालोपत्र पनि थालिएको हो ।

सदुमुकामको उपल्लाचौरदेखि घोडाँबाधेसम्मको २५ किलोमिटर सडक बागलुङ बजारदेखि र घोडाँबाधेदेखि एकसाथ कालोपत्र सुरु गरिएकोे छ । मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयको अन्तिम चेतावनीपछि ठेकेदारले सडक कालोपत्र थालेको छ । अहिले उक्त खण्डमा दुई सयभन्दा बढी श्रमिक तथा सानाठूला ५०भन्दा बढी उपकरण परिचालन गरेर कालोपत्रको काम सुरु गरिएको हो ।

अहिले भइरहेको कामको प्रगति देख्दा लोकमार्ग कालोपत्रले सार्थकता पाउने आशमा स्थानीयवासी रहेका छन् । छब्बिस वर्षदेखि सडकको धुलो खाँदै आएका हामी सडक कालोपत्र गर्न थालेपछि खुसी भएका बागलुङ नगरपालिका–४ हाडेपाखाका देवी शर्माले बताउनुभयो । “लोकमार्गमाथि भएको घरमा धुलोले निकै समस्या थियो, सडकको धुलो खान थालेको २६ वर्ष भयो, बल्ल कालोपत्रका लागि काम भइरहेको छ,” उहाँले भन्नुभयो ।

अहिले जिल्ला सदरमुकामबाट अछेतेतर्फ कालोपत्रका लागि उपल्लाचौरबाट सुरु गरिएको र उपल्लो खण्डको राइटेपोखरीदेखि सापकोटा चोक हुँदै अमर मावि घुम्टीसम्म कालोपत्र भइरहेको स्थानीयवासी दिवस कँडेलले जानकारी दिनुभयो । लोकमार्गको बिहुँ र बागलुङ बजार खण्डमा एकैपटक कालोपत्र गर्न निरन्तरका लागि पहल र समन्वयका कारण सहज भएको र चैत मसान्तसम्म करिब १० मिलोमिटर सडक कालोपत्र गर्ने गरी ठेकेदार काममा खटिएको लोकमार्ग आयोजना प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिनुभयो ।

“उपल्लाचौर र बिहुँबाट कालोपत्र थालिएको छ भने अछेते र तल्लो बिहुनमा पूर्वाधार निर्माणलाई तीव्रता दिइएको छ,” उहाँले भन्नुभयो “ठूलो चुनौतीका साथ ढिलै भए पनि सडक कालोपत्र थालिएको छ, अहिले उपल्लाचौरको न्यू ओएसिस स्कुलदेखि बिटामिन छर्ने, धुलो उठाउने र कालोपत्र गर्ने काम सुरु गरिएको छ भने माथिल्लो खण्डमा धमाधम कालोपत्र भइरहेको छ ।” उक्त खण्डको बोक्सेमा भने पहिरो र पानीको मुहानका कारण ३०० मिटर सडक ढलान गर्ने कार्य भइरहेको छ । लोकमार्गको सदरमुकाम खण्ड ठेक्का सम्झौता भएको छ वर्ष पुग्न लाग्दा कालोपत्र सुरु भएको भन्दै निरन्तरको दबाबपछि ठेकेदारले सडक कालोपत्र थालेकाले बागलुङवासी खुसी भएका अधिकारकर्मी राम शर्माले बताउनुभयो ।

लोकमार्गअन्तर्गत जिल्ला सदरमुकाम खण्डको २५ किलोमिटरबाहेक अन्य सडक कालोपत्र भइसकेको छ । मध्यपहाडी पुष्पलाल राजमार्गको बागलुङ बजार उपल्लाचौर–अक्षेते–बिहुँ खण्ड र बिहुँ घोडाबाँधे सडकखण्डको २५ किलोमिटर सडक दुई खण्डमा विभाजन गरेर ठेक्का संझौता गरिएको थियो । उपल्लाचौरदेखि अक्षेते–बिहुँ खण्ड २०७३ माघ १४ गते भारत÷सिद्धिसाई जेभीले १३ किलोमिटर र बिहुँ घोडाबाँधे खण्ड २०७२ माघ १० गते एमपी÷एससिएफ÷इसिसी जेभीले १२ किलोमिटर सडक दुई वर्षमा सडक कालोपत्र गर्ने ठेक्का सम्झौता गरेको थियो । कूल एक हजार ७७६ किलोमिटर लोकमार्गको बागलुङ खण्डमा मात्रै १४२ किलोमिटरमध्ये बागलुङमा २५ किलोमिटर मात्रै सडक कालोपत्र गर्न बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर