मन्त्री भुसालद्वारा खोकनामा नागरिक स्वाथ्य सेवा केन्द्रको सुरुआत — OSNepal

मन्त्री भुसालद्वारा खोकनामा नागरिक स्वाथ्य सेवा केन्द्रको सुरुआत

LC (KTM) April 07, 2022 0

काठमाडौं, २४ चैत – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुर महानगरपालिका–२१ खोकनामा नागरिक स्वास्थ्य सेवा केन्द्र र ज्येष्ठ नागरिक मिलन केन्द्र (थेरापी सेन्टर)को सुरुआत गर्नुभएको छ । वडा कार्यालयले सञ्चालन गर्ने ती सेवा केन्द्रबाट अबदेखि निरन्तर वडावासीले स्वास्थ्य परीक्षण एवं अन्य आधारभूत स्वाथ्य सेवा पाउनेछन् । खोकनामा आज आयोजित एक कार्यक्रममा मन्त्री भुसालले वडावासीको स्वास्थ्योपचार सुधारका लागि आवश्यक पर्ने व्यवस्था मिलाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले खोकनावासीका लागि आवश्यक पर्ने विद्युत्, सडक एवं सिँचाइका साथै अन्य आधारभूत आवश्यकताका लागि आफूले निरन्तर पहल गरिरहेको उल्लेख गर्दै आगामी दिनमा जनताको आवश्यकता पूर्ति गर्नका लागि पर्ने धारणा राख्नुभयो । कोभिड–१९ सङ्क्रमणको महाविपत्तिका समयमा पनि वडाले जनस्वाथ्यका विषयमा महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै उहाँले नागरिकको स्वास्थ्यमा ध्यान दिएकामा वडाका जनप्रतिनिधिलाई धन्यवाद दिनुभयो ।

मन्त्री भुसालले भन्नुभयो, “तोरीको तेलका कारण चिनिने खोकनामा तोरी पेल्ने मिल, सम्पदाको संरक्षण एवं जनताको आवश्यकता पूरा गर्नका लागि वडा सक्षम भएको छ ।” जनताको घरआँगनमै स्थानीय सरकारले जनतालाई महत्वपूर्ण स्वाथ्य सेवा उपलब्ध गराएर वडाले सराहनीय कार्य गरेको बताउनुभयो । सो अवसरमा रुद्रायणी पञ्चताल गुठीलाई अक्षयकोषका लागि रु पाँच लाख बराबरको सहयोग ऊर्जामन्त्री भुसालले हस्तान्तरण गर्नुभयो । कार्यक्रममा वडाध्यक्ष रवीन्द्र महर्जनले आफ्ना वडावासीलाई निरन्तर सेवा उपलब्ध गराएको र आगामी दिनमा स्वास्थ्य, शिक्षालगायत आधारभूत आवश्यकता पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर