बागमतीमा साढे १२ लाख बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने — OSNepal

बागमतीमा साढे १२ लाख बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने

LC (KTM) April 07, 2022 0

राजन कटुवाल/ हेटौंडा, २४ चैत – बागमती प्रदेशले प्रदेशमा रहेका साढे १२ लाख बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउले लक्ष्य लिएको छ । बिहीबार सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गर्दै स्वास्थ्य निर्देशनालयले बागमती प्रदेशमा १२ लाख ५२ हजार ५ सय ३९ जना बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने जनाएको हो ।

नेपाल सरकारले शुक्रबारबाट वैशाख १८ गतेसम्म देशैभर टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको छ । शुक्रबार मकवानपुरको मनहरीमा रहेको भोजसिद्ध माविमा संघीय स्वास्थ्य मन्त्री विरोध खतिवडाले खोप अभियानको उद्घाटन गर्नेछन् ।

अभियान अन्तर्गत १५ महिना देखि १५ वर्ष सम्मका बालबालिकाले उक्त खोप लगाउन पाउनेछन् । खोप लगाउनका लागि ६ हजार ५ सय २० खोप केन्द्र रहने खोप अभियान बागमती प्रदेशका फोकल पर्सन पदम राज कैनीले जानकारी दिए । बागमती प्रदेशभर ८ हजार ८ सय ५८ खोप कार्यकर्ता रहने छन् भने १७ हजार ९ सय ६३ स्वयंसेवक रहेको कैनीले बताए ।

अभियान अन्तर्गत ८० प्रतिशत बालबालिकालाई विद्यालयमा र बाँकीलाई स्थानीय तहमा रहेको स्वास्थ्य केन्द्रमा लगाइने छ । विद्यालय बाहिर रहेका बालबालिकालाई खोप अभियानमा समावेश गराउनको लागि ४ वर्ष भन्दा मुनिका बालबालिकालाई घर घरमै गएर निमन्त्रणा कार्ड वितरण गरिने उनले बताए ।

अभियान पश्चात १५ महिना पुगेका बालबालिकालाई नियमित खोप लगाइने चिकित्सा सेवा तथा रोग नियन्त्रण शाखा प्रमुख डा. नरेन्द्र कुमार झाले जानकारी दिए । कोराना भाइरस विरुद्धको खोप लगाएकाहरुले १४ दिन पछि टाइफाइड विरुद्धको खोप लगाउन मिल्ने झाले बताए । नेपालको विभिन्न तथ्याङ्क अनुसार हरेक वर्ष ४ लाख ५० हजार मानिसलाई टाइफाइड हुने गरेको छ भने अस्पताल भर्ना हुने मध्ये चौथो स्थानमा टाइफाइड लागेर भर्ना हुने गरेको तथ्याङ्क रहेको छ ।

अन्य उमेर समूहलाई भन्दा बालबालिकालाई १० गुण बढी अर्थात्, प्रतिलाख १० हजार ९ सय ६० जनालाई टाइफाइड हुने तथ्याङ्क रहेको छ । देशभर करिब ७५ लाख बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने लक्ष्य सरकारले लिएको छ । धेरै मात्रमा खोप आएको र भण्डारण क्षमता कम भएकाले चाँडै अभियान गर्नुपरेको उनले बताए । त्यस्तै स्थानीय तहको निर्वाचन नजिकिएका कारण, जेठ पछि खोप अभियान सञ्चालन गर्न कठिन भएकाले अहिले नै अभियान सञ्चालन गर्नुपरेको निर्देशनालयको भनाई रहेको छ ।

अभियान अन्तर्गत मकवानपुर जिल्लामा भने १ लाख ८ हजार ४ सय ८६ बालबालिकालाई टाइफाइट विरुद्धको खोप लगाउने लक्ष्य लिएको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले एक कार्यक्रमको आयोजना गर्दै खोप अभियानको बारेमा सम्पूर्ण तयारी भइसकेको जानकारी दिएको हो । मकवानपुर जिल्लामा दुई चरणमा खोप अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य निरिक्षक बासुदेव रिमालले बताए । मकवानपुरमा रहेको ९ वटै स्थानीय तहमा पहिलो चरणमा चैत २५ गतेबाट वैशाख ६ गतेसम्म र बकैया गाउँपालिकामा वैशाख ५ गतेदेखि वैशाख ९ गतेसम्म अभियान सञ्चालन हुनेछ ।

अभियानको लागि सबै पालिकामा खोप पु¥याइसकेको उनले बताए ।

मकवानपुरमा भने ६ सय ८ वटा खोप केन्द्रहरु रहेका छन् । त्यस्तै ८ सय ७० खोप कार्यकर्ता र १ हजार ३ सय ९० स्वयम्सेवक रहेको रिमालले जानकारी दिए । हेटौंडा उपमहानगरपालिकामा भने ५६ हजार चार सय बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने लक्ष्य लिएको छ । हेटौंडा उपमहानगरपालिकामा एक सय १५ वटा विद्यालय केन्द्र र २० वटा स्वास्थ्य केन्द्र गरी एक सय ३५ वटा खोप केन्द्र रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर