नागार्जुन नगरपालिकामा मेयर पदको लागि स्वतन्त्र उम्मेदवारी घोषणा — OSNepal

नागार्जुन नगरपालिकामा मेयर पदको लागि स्वतन्त्र उम्मेदवारी घोषणा

LC (KTM) April 08, 2022 0

काठमाडौँ – नागार्जुन नगरपालिकाको आउँदो स्थानीय चुनावमा मेयर पदका लागि राजन कोइरालाले स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका छन्। कोइरालाले रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनबाट सो कुरा सार्वजनिक गरेका हुन्।

२०४२ सालमा केवलपुर, धादिङ्गमा जन्मेका कोइरालाले विगत एक दशकदेखि युवा शशक्तिकरण, शिक्षा, रोजगारी र परामर्श क्षेत्रमा काम गर्दै आएका छन्। २०४७ मा आफ्नो परिवारसँगै काठमाडौँ बसाईं सरेका कोइरालाले पिपल्स क्याम्पसबाट पत्रकारिता र राजनीतीशास्त्रमा आइएको स्वर्णपदक पाएलगतै उच्चशिक्षाको लागि अमेरिका गएका थिए। अमेरिकास्थित टेक्सास राज्यको दुई उत्कृष्ट विश्वविद्यालयबाट पत्रकारितामै स्नातक र स्नातकोत्तर डिग्री हासिल गरेर ९ वर्षपछि २०६९ मा स्थाई रुपमा नेपाल फर्केका हुन्।

अहिलेसम्म ५० हजार बढी युवाहरुलाई तालिम दिइसकेका कोइराला विभिन्न युवाहरुले संचालन गरेका एक दर्जन संस्थामा सल्लाहकार, मेण्टर, अतिथी प्रशिक्षकका साथ–साथै अन्य स्वयंसेवी भूमिकामा छन्। सयौ प्रतिस्पर्धात्मक कार्यक्रममा कतै निर्णायक त कतै सहजकर्ता भएका उनले नेपालमा अनवरत युवाको क्षेत्रमा काम गर्दै आएका छन्।

स्थानीय तहमा युवाको प्रत्यक्ष संलग्नता गराएर विकास र समृद्धिका लागि काम गर्ने लक्ष्यका साथ कोइरालाले सडक–निर्माण तथा स्तरोन्नति, खानेपानी, ढल–व्यवस्थापन, नगरपालिकाको उचित संरक्षण र प्रवर्दन, प्राथमिकतामा राखेर बालबालिका तथा अपांग र जेष्ठ नागरिक कार्यक्रमका साथै शिक्षा, स्वास्थ्य र रोजगारी तथा उद्यमशीलता काम गर्ने बताएका छन्।

’विश्वका धेरै सहरमा मेयरले कुनै राजनीतिक आवद्दता नजनाई राम्रो गरेकाले यो लहर नेपालमा पनि आइसकेको छ,’ कोइरालाले भने, ’अब पनि देश विकासको पद्दतिमा परिवर्तन भएन भने हामी ठुलो दलदलमा फस्नेछौ, नेपाल अहिलेको श्रीलंकाको अवस्थामा नपुग्ला भन्न सकिन्न।’

कसैको निन्दा वा बिरोध गर्नभन्दा पनि पुरानो काम गर्ने शैली र प्रक्रियामा हेरफेर गरेर धेरै परिवर्तन सम्भव छ भन्ने उद्धेश्यका साथ कोइरालाले निरर्थक कुरा गर्नुभन्दा काम गरेर देखाउन सक्ने क्षमता भएकाले आफ्नो उम्मेदवारी घोषणा गरेको बताए।

कोइरालाले आफ्नो चुनावी घोषणापत्र पनि यसै पत्रकार सम्मेलनबीच सार्वजनिक गरेका छन्। उनका नागार्जुन विकास योजनाका बुँदागत सोच यसप्रकार छन्ः

१. नगरपालिकामा स्थानीय विकास (सडक–निर्माण तथा स्तरोन्नति, खानेपानी, ढल–व्यस्थापन लगायत) का कार्यक्रम तिव्रगतीमा बढाइने।
२. फोहोर–मैला व्यवथापनमा नयाँ प्रविधिको विकास गरेर नगरपालिकालाई स्वच्छ र हराभरा राखिने।
३. नगरपालिकाका हरेक घरलाई याड्रेस लोकेटर प्रणालीमा राखेर हुलाकी माध्यमको विकास गर्ने र स्थानीय सरकारसँगको सुचना–प्रवाहमा सहजताको माहोल शृजना गर्ने।
४. नगरपालिकाका सम्पूर्ण प्रशासनिक कार्यलाई डिजिटल बनाएर नागरिक सुविधामा प्रभावकारीता स्थापना गरिने।
५. नगरपालिकाका धार्मिक, पर्यटकीय, सांस्कृतिक, सामुदायिक र प्राकृतिक सम्पदाको सूचीकरण गरेर संरक्षण तथा प्रवर्दनका कार्यक्रम संचालन गरिने।
६. नगरपालिकामा बसोबास गर्ने जातिय, धार्मिक एवं सांस्कृतिक विविधतालाई समेटेर बालबालिका, अपाङ्ग र जेष्ठ नागरिकहरुको लागि सुलभ शिक्षा, स्वास्थ्य र मनोरन्जनका विभिन्न समावेशी कार्यक्रम (बीमा, छात्रवृति, सामुदायिक भवन, पुस्तकालय, पार्क) संचालन गरिने।
७. नगरपालिकामा कम्तीमा एउटा प्राविधिक शिक्षा र व्यवसायिक तालिम केन्द्रको स्थापनामा जोड दिएर बेरोजगार युवाहरुलाई तालिम दिने, स्थानीय उद्यमशीलता र रोजगारीको प्रवर्दन गरिने।
८. नागरिकहरुको प्रत्यक्ष सहभागीता हुनेगरी पाक्षिक ’सार्वजनिक–सुनुवाई’ कार्यक्रम संचलान गर्ने, घर–दैलो कार्यक्रम गर्ने र नागरिकको गुनासोलाई उच्च प्राथमिकतामा राखेर कार्यक्रम निर्माण गरिने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर