हुम्लामा प्रहरीले गर्यो घरेलु मदिरा उत्पादन गर्ने कच्चापदार्थ नष्ट — OSNepal

हुम्लामा प्रहरीले गर्यो घरेलु मदिरा उत्पादन गर्ने कच्चापदार्थ नष्ट

LC (KTM) May 11, 2021 0

सिमकोट, २८ वैशाख – हुम्लाको तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिकामा रहेको गल्फागाड प्रहरी चौकी श्रीनगरले सोमबार आठ हजारभन्दा धेरै मूल्य बराबरको घरेलु मदिरा उत्पादन गर्ने कच्चापदार्थ नष्ट गरेको छ । दिनहुँ मदिरा सेवनका कारण घटना हुने अदानचुली गाउँपालिकाको मुख्य केन्द्र रहेको श्रीनगर बजारलगायत नजीकका गाउँहरुमा खोजी गरी घरघरमा राखिएको घरेलु मदिरा उत्पादन गर्ने कच्चापदार्थ नष्ट गरेको गल्फागाड प्रहरी चौकीले जनाएको छ ।

लामो समयसम्म जानकारी गराउँदा गराउँदै पनि सूचनाको अभग्या गरी घरघरमा घरेलु मदिरा उत्पादन गरी बिक्री वितरण गरेको पाइएकाले बाध्य भएर खोजतलास गरेर नष्ट गर्नु परेको चौकीका प्रहरी सहायक निरीक्षक कृष्णबहादुर बुढाले बताउनुभयो । प्रहरी सहायक निरीक्षक बुढाले भन्नुभयो, “यसमा अदानचुली गाउँपालिकाले पनि प्रतिबद्धता जनाएपछि हामीलाई खोजतलास गर्न सजिलो भयो ।”

सुरक्षा टोलीले अदानचुलीको वडा २ र ३ मा सोमबार मात्र छापा मार्दा अवैध रुपमा घरको छतमा भण्डारण गरेर राखिएको आठ हजार ३८० लिटर घरेलु मदिरा उत्पादन गर्न तयारी कच्चापदार्थ जनप्रतिनिधिको समन्वयमा सुरक्षा टोलीद्वारा नष्ट गरेको छ । दुवै वडाका गाउँ सुरक्षा टोलीले चारैतिरबाट दुई÷दुई जनाको टोली बनाएर एक टोलमा एकै समयमा छापा मारी घरेलु मदिरा उत्पादन गर्ने कच्चापदार्थ नष्ट गरेको त्यहाँका स्थानीयवासीले बताएका छन् ।

महामारीका बेला आफू बची अरूलाई बचाउन सुरक्षा टोलीले ‘मेरो मास्क खै’ अभियान सञ्चालन गरिरहेको अवस्थामा घरघरमा उक्त कच्चापदार्थ देखिएकाले मदिरा नियन्त्रण अभियानसमेत सञ्चालन गरेको बताएको छ ।

सोही अभियानसँगै गाउँ तथा बजारमा मास्कविहीनका नागरिकहरुलाई मास्क लगाउन अनिवार्य गरेको छ । दिनहुँ मास्क खै भन्दै गाउँ प्रवेश गरी रहेको सुरक्षाकर्मीको टोलीले सोमबार अदानचुलीका प्रायः बस्तीमा अवैध रुपमा राखिएको उवा, मकै, कोदोको घरेलु मदिरा उत्पादन गर्न भण्डारण गरेर राखिएको कच्चापदार्थ नष्ट गरिएको छ । सूर्योदय माविका शिक्षक चित्र भण्डारीले भन्नुभयो, “प्रहरीले शुरु गरेको मदिरा नियन्त्रण अभियानबाट स्थानीयवासी खुशी भएका छन् ।”(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर