तुलसीपुरमा कोरोना सङ्क्रमितलाई २५ श्ययाको आइसोलेशन अस्पताल सञ्चालनमा — OSNepal

तुलसीपुरमा कोरोना सङ्क्रमितलाई २५ श्ययाको आइसोलेशन अस्पताल सञ्चालनमा

LC (KTM) May 11, 2021 0

दाङ, २८ वैशाख- तुलसीपुर उपमहानगरपालिकाले कोरोनाका सङ्क्रमितलाई लक्षित गरेर २५ श्ययाको आइसोलेशन अस्पताल सञ्चालनमा ल्याएको छ । तुलसीपुर नगरपालिका–८ को अश्वारा सोमबार रातिदेखि अस्पताल सञ्चालनमा आएको हो ।तुलसीपुर मेट्रो अस्पताल सञ्चालनका लागि बनाइएको भवनमा आइसोलेशन सञ्चालनमा ल्याइएको नगरप्रमुख घनश्याम पाण्डेले बताउनुभयो । “केही निर्माणको काम बाँकी थियो त्यसलाई चौबिसै घण्टा काम गरेर सम्पन्न गरेपछि अस्पताल सञ्चालनमा आएको हो”, नगरप्रमुख पाण्डेले भन्नुभयो ।

“बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालले बिरामीको चाप थेग्न नसकेपछि गम्भीर प्रकृतिका सङ्क्रमित पनि घरमै उपचार गर्न बाध्य थिए । अब सहज हुनेछ”, नगरप्रमुख पाण्डेले भन्नुभयो । नगरप्रमुख पाण्डेले अस्पताल सञ्चालनमा अहोरात्र खट्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, निर्माणमा खट्ने निर्माण व्यवसायी तथा मजदूर, सहयोगी महानुभाव, कर्मचारी तथा स्थानीयवासीलाई सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिनुभएको छ । अस्पतालमा चिकित्सकहरु डा महेशकुमार खनाल, डा देवराज केशी, डा शिव सुवेदी, डा मदन विसी, डा गोकर्ण दाहाललगायतको टोली रहेको तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक तथा फोकल पर्सन बिमल केसीले जानकारी दिनुभयो । हाललाई २५ श्यया रहे पनि केही दिनमा ५० श्यया विस्तार गरिने नगरपालिकाले जनाएको छ ।

आइसोलेशन अस्पताल सञ्चालनमा आएसँगै यस क्षेत्रका जनताले निकै खुशी व्यक्त गरेका छन् । सामाजिक अभियन्ता एवम् तुलसीपुर उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष विमल रिजालले जनताप्रति उत्तरदायी काम गरेकामा खुशी व्यक्त गनुभयो । “अब श्ययाको अभावमा जनताले घरमै ज्यान गुमाउनुपर्ने अवस्था रहेन”, रिजालले भन्नुभयो । सो अस्पतालमा पहिलो दिन गएराति तुलसीपुर उपमहानगरपालिका–८ र तुलसीपुर उपमहानगरपालिका–६ निवासी दुईजना कोरोना सङ्क्रमित बिरामी भर्ना भएका छन् । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर