स्याङ्जाको गल्याङ नगर अस्पतालमा ९ वटा अक्सिजन सिलिन्डरसहित ३० बेडको आइसोलेसन वार्ड स्थापना — OSNepal

स्याङ्जाको गल्याङ नगर अस्पतालमा ९ वटा अक्सिजन सिलिन्डरसहित ३० बेडको आइसोलेसन वार्ड स्थापना

LC (KTM) May 11, 2021 0

स्याङ्जा- स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ३ मा रहेको गल्याङ नगर अस्पतालमा ९ वटा अक्सिजन सिलिन्डरसहित ३० बेडको आइसोलेसन वार्ड स्थापना गरिएको छ । गल्याङ नगरपालिकाद्वारा सञ्चालित नगर अस्पतालमा कोरोना भाइरस बिरामीका लागि लक्षित गरी अक्सिजनसहितको आइसोलेसन वार्ड स्थापना गरिएको हो ।३ जना चिकित्सकसहितको टोलीले बिरामीलाई सेवा दिइरहेको छ । हाल अस्पतालमा कोरोना भाइरसको परीक्षण गरिए पनि नतिजा पोजिटिभ देखिएका बिरामी होम आइसोलेसनमा बस्दै आएका छन् ।

गल्याङ नगरपालिका प्रमुख भूपराज अधिकारीले अप्ठेरो परेका बिरामीका लागि आइसोलेसन वार्ड स्थापना गरिएको बताए । भेन्टिलेटर आवश्यक पर्ने बिरामीका लागि अक्सिजनसहित एम्बुलेन्समा पोखरा वा बुटवल लैजाने व्यवस्था पनि गरिएको उनले जानकारी दिए । नगरप्रमुख अधिकारीले भने, ‘पोखराका अस्पतालमा बेडका लागि कुरा भएको छ । सकेसम्म यहीँ उपचार गर्ने र नभए अन्य ठाउँमा गएर उपचार गर्न नगरपालिकाले लैजाने व्यवस्था गरेको छ ।’

उनले बिरामीको उपचारमा नगरपालिकाले कुनै कसर बाँकी नराखेकाले नगरबासीलाई हतोत्साहित नहुन आग्रह गरे । नगर अस्पतालमा स्थापना गरिएका बेड र अक्सिजनको कमी भए थप गर्न सकिने उनको भनाइ छ ।
गल्याङ नगर अस्पतालका प्रशासक थानापति न्यौपानेले बिरामीका लागि नगर अस्पतालमा आवश्यक सुविधासहितको सम्पूर्ण व्यवस्था गरिएको जानकारी दिए ।उनले हालसम्म कोरोना परिक्षण गरिएका व्यक्तिमा समस्या नआएकाले स्वेच्छाले होम आइसोलेसनमा बसिरहेका र कुनै समस्या परे सम्पर्क गर्न भनिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर