पोखरा महानगरको प्रमुखमा ११ र उपप्रमुखमा चारको उम्मेदवारी — OSNepal

पोखरा महानगरको प्रमुखमा ११ र उपप्रमुखमा चारको उम्मेदवारी

LC (KTM) April 25, 2022 0

पोखरा- भौगोलिक रुपमा देशकै ठूलो पोखरा महानगरपालिकामा आसन्न वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयको पहिलो दिन प्रमुखमा ११ र उपप्रमुखमा चार जनाको मनोनयन दर्ता भएको छ ।ठूला राजनीतिक दलले उम्मेदवारी दर्ता नगरे पनि साना र स्वतन्त्र उम्मेदवारले सहिदचोकस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्य पदका लागि मनोनयन दर्ता गराएका हुन् । प्रमुखका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट गोविन्द गुरुङ, मौलिक जरो किलो पार्टीबाट सञ्जय तिमिल्सिना, सचेत नेपाली पार्टीका भोजराज खनाल, मङ्गोल नेशनल अर्जनाइजेसनका प्रेमबहादुर गुरुङ र नेपाल जनता दलका मुक्तिनाथ सुवेदीले मनोनयन दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सूचना अधिकारी नील पनेरुले जानकारी दिनुभयो ।

यसैगरी स्वतन्त्र उम्मेदवारह खडकराज पौडेल, विमलबहादुर कार्की, रामराज अधिकारी, डिलबहादुर गुरुङ, नवराज बाँस्तोला र किशानसिंह गुरुङले मनोनयन गराउनुभएको छ । यसैगरी उपप्रमुखका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट चिना दवाडी, सचेत नेपाली पार्टीका सोनी परियार, मङ्गोल नेशनल अर्गनाइजेसनका रामबहादुर तामाङ र स्वतन्त्र सोममाया विकले मनोनयनपत्र दर्ता गराउनुभएको सूचना अधिकारी पनेरुले बताउनुभयो । उहाँका अनुसार पोखरामा पहिले दिन ४७ जनाको उम्मेदवारी परेको छ ।

जिल्लाका प्रमुख राजनीतिक दलले भने उम्मेदवार टुङ्गो लगाउन नसक्दा पहिलो दिन उम्मेदवारी दर्ता गराएनन् । नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी), जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको सत्तारुढ गठबन्धन र नेपाल कम्युनिष्ट पार्टी(एमाले)ले जिल्लाका कुनै पनि पालिकामा मनोनयन दर्ता गराएका छैनन् । सत्ता गठबन्धनले जिल्लामा अहिलेसम्म पनि औपचारिक सिट बाँडफाँट टुङ्गो लगाउन सकेको छैन । गठबन्धनका नेता दिनहुँ छलफलमा जुटे पनि अझै सहमति बन्न नसकेको बताइन्छ । गठबन्धनले आज रातिसम्म बाँडफाँट तय गरिने जनाएको छ ।

एमालेले पनि पालिका र जिल्लाबाट सिफारिस भएर आएका नाममा अझै छलफल भइरहेको जनाएको छ । ठूला राजनीतिक दलले सोमबार मनोनयन दर्ताको तयारी गरेका छन् । निर्वाचन अधिकृतको कार्यालयले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको थियो । निर्वाचन अधिकृतको कार्यालयले महानगरको प्रमुख र उपप्रमुखका लागि रु एक हजार ५००, वडाध्यक्षका लागि रु एक हजार र सदस्यका लागि रु ५०० दर्ता शुल्क तोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर