सम्पूर्ण पालिकालाई ‘श्रमिक मैत्री’ बनाउने : नेता डा कोइराला — OSNepal

सम्पूर्ण पालिकालाई ‘श्रमिक मैत्री’ बनाउने : नेता डा कोइराला

LC (KTM) May 01, 2022 0

मोरङ, १८ वैशाख – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले सम्पूर्ण पालिकालाई ‘श्रमिक मैत्री’ बनाउनुपर्ने बताउनुभयो । नेपाल ट्रेड युनियन कांग्रेस मोरङद्वारा आज १३३औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका उपलक्ष्यमा विराटनगरको मिल्सएरियाको हडताली हाटमा आयोजित कार्यक्रममा उहाँले नेपाली कांग्रेस श्रमिकहरुको हकहितप्रति प्रतिबद्धता भएकाले विजयी हुने सम्पूर्ण पालिकामा श्रमिकहरुप्रति सम्मान गरिने विचार राख्नुभयो ।

नेता कोइरालाले संविधानको रक्षा र लोकतन्त्रलाई बलियो बनाउन मुलुकभरिको पालिकामा सत्तामा सहभागी दलहरुबीच गठबन्धन गरिएको प्रस्ट पार्नुभयो । उहाँले गठबन्धन दलहरुको सहमतिमा वडास्तरमा स्वस्थ प्रतिस्पर्धा हुने विचार राख्नुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री विमलेन्द्र निधिले सङ्घीयता एवं गणतन्त्रलाई सफल कार्यान्वयन गर्न गठबन्धन दलहरुबीच चुनावी तालमेल गरिएको प्रस्ट पार्नुभयो । उहाँले विसं २००७ देखि २०६२/६३ सम्मको विभिन्न आन्दोलनको नेतृत्व गरी मुलुकमा परिवर्तनकारी भूमिका निर्वाह गर्ने नेपाली कांग्रेस भएकाले आसन्न पालिका निर्वाचनमा पहिलो स्थान प्राप्त गर्ने दाबी गर्नुभयो । नेता निधिले मजदुरलाई सम्मान एवं रोजगार उपलब्ध गराउन ऐकबद्धता व्यक्त गर्दै महानगरको सबै पदमा गठबन्धनले विजयी प्राप्त गर्ने जिकिर गर्नुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु डा डिला सङ्ग्रौला, अमृत अर्याल र भीम पराजुलीले निजी क्षेत्रको सहभागितामा औद्योगिक नीति निर्माण गरी रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । पूर्वमन्त्री महेश आचार्य र ट्रेड युनियनका पूर्वकेन्द्रीय अध्यक्ष लक्ष्मण बस्नेतले मुलुकको आर्थिक समृद्धि कायम गर्न रोजगारीको अवसर वृद्धि गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

विराटनगर महानगरपालिका नेपाली कांग्रेसबाट प्रमुख पदका उम्मेदवार नागेश कोइरालाले महानगरपालिकालाई भ्रष्टाचार शून्य गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । यसैगरी उपप्रमुख पदमा जनता समाजवादी पार्टीका उम्मेदवार अमरेन्द्र यादवले गठबन्धनबाट मुलुकमा स्थायी शान्ति र समृद्धि कायम हुने धारणा राख्नुभयो । युनियनका मोरङ अध्यक्ष सुशील कोइराला, नेकां प्रदेश कोषाध्यक्ष राजेश गुप्ता, कटहरी गाउँपालिकाका अध्यक्षका उम्मेदवार देवराज चौधरी, पूर्वकेन्द्रीय सदस्य हसन अन्सारीलगायतले पालिकालाई सुशासन कायम राख्न सबैले आफ्नो क्षेत्रबाट लाग्नुपर्नेमा जोड दिनु भयो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर