नेपाल मेडिसिटी अस्पतालले भन्यो- कोरोना संक्रमितको उपचार गर्न नसक्ने अवस्थामा अस्पताल पुग्यो — OSNepal

नेपाल मेडिसिटी अस्पतालले भन्यो- कोरोना संक्रमितको उपचार गर्न नसक्ने अवस्थामा अस्पताल पुग्यो

LC (KTM) May 11, 2021 0

ललितपुर २९ बैशाख । ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालले सरकारसँग तत्काल अक्सिजनको सहज आपुर्ति गरिदिन अपिल गरेको छ । कोभिड १९ को विश्वव्यापी महामारीले निम्त्याएको हालको यस अवस्थामा आफ्नो सम्पूर्ण क्षमता, जनशक्ति र संयन्त्रको उपयोग गरी कोभिडका बिरामीहरुको उपचारमा संलग्न भइरहेको हुनाले प्रत्येक दिन ४ सय ५० देखि ५ सय अक्सिजन सिलिन्डर आवश्यक पर्नेमा नेपाल सरकारबाट १ सय सिलिन्डर मात्र प्राप्त हुने जानकारी आएसँगै कोरोना संक्रमितको उपचारमा समस्या भएको भन्दै अस्पतालले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सिसिएमसी र सम्बन्धित निकायहरुसँग तत्काल अक्सिजनको व्यवस्था गरिदिन अस्पतालले सरकारसँग अपिल गरेको हो ।

अस्पतालका सुपरिन्टेन्डेन्ट तथा प्रवक्ता डा। राज राणाले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘कोभिड १९ को विश्वव्यापी महामारीले निम्त्याएको हालको यस अवस्थामा नेपाल मेडिसिटी अस्पतालले आफ्नो सम्पूर्ण क्षमता,जनशक्ति र संयन्त्रको उपयोग गरी कोभिडका बिरामीहरुको उपचारमा संलग्न भइरहेको व्यहोरा अवगत गराउन चाहन्छौं ।’

‘यस परिस्थितीमा अस्पतालले कोभिड तथा नन कोभिड बिरामीहरुको सुरक्षित तवरले उपचार गराइरहँदा हाल आएर अक्सिजनको चरम अभाव महशुस गरीएको छ । अहिले अस्पतालमा १ सयजना भन्दा बढी नन कोभिड बिरामीहरु तथा १२० जना भन्दा बढी कोभिडका बिरामीहरुको उपचार भइरहेकोमा ४० जना भन्दा बढी भेन्टिलेटर सहितको विभिन्न सघन उपचार कक्षमा रहेको र यो संख्या देशभरकै अस्पतालहरू मध्ये ठूलो संख्यामा रहेको समेत जानकारी गराउँदछौं ।’

अहिलेको विषम परिस्थितिका कारण सिर्जना भएको अक्सिजन अभाव लगायत अन्य समस्याका कारण कोभिड १९ संक्रमणका जटिल स्थितिका बिरामीहरुको नयाँ भर्ना लिन अस्पताल असमर्थ रहेको र हाल उपचाररत बिरामीहरुलाई समेत अक्सिजन अभावमा यस अस्पतालमा उपचार गर्न नसकिने अवस्था निर्माण हुन सक्ने अवस्था रहेको पनि अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर