मतदान गर्न सिकाउँदै उम्मेदवार — OSNepal

मतदान गर्न सिकाउँदै उम्मेदवार

LC (KTM) May 06, 2022 0

रामपुर (पाल्पा), २३ वैशाख-निर्वाचनलाई मध्यनजर गर्दै नेपाली कांग्रेस जिल्ला कार्यालयले मतदाता शिक्षा कार्यक्रम अगाडि बढाएको छ । यसभन्दाअघिका निर्वाचनमा आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएकामा यसपटक सो कार्यक्रम नगर्ने भएकाले कांग्रेसले नै यसलाई निरन्तरता दिएको हो ।

मतदातालाई मतदानको तरिका सिकाउन उम्मेदवार, नेता र कार्यकर्ता घरघरमा पुगेका छन् । मतदानसम्बन्धी जानकारी नहुँदा निर्वाचनमा मत बदर हुने गरेकाले कांग्रेसले चुनावी घरदैलो अभियानसँगै मतदाता शिक्षा पनि अभियान चलाएको हो ।चुनावको चहलपहल सुरु भएपछि आयोगले नै घरघरमा मत कसरी दिने भनेर सिकाउन आउने गरेकामा यसपटक उम्मेदवार तथा नेताहरुले नै सिकाउन आएको स्थानीय बृद्धा टीकामाया दर्जीले बताउनुभयो ।

“मतपत्रमा धेरै चिह्नमा छाप लगाउनुपर्छ, यसभन्दाअघि धेरैपटक मतदान गरे पनि बुढेसकालका कारण बिर्सदै जाने रहेछ, हामीजस्ता ज्येष्ठ सदस्यका लागि मतदाता शिक्षा कार्यक्रम आवश्यक छ”, उहाँले भन्नुभयो । रम्भा गाउँपालिकामा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बन्नुभएका उपाध्यक्ष विष्णु थापाले पालिकाका वडा, टोलटोलमा पुगेर मतदाता शिक्षाबारे जानकारी दिइरहनुभएको छ । मतदातासँग मत माग्ने मात्रै होइन उनीहरुलाई मतदानबारे जानकारी दिनु आफ्नो दायित्व रहेको उहाँले बताउनुभयो ।

उपाध्यक्ष थापाले भन्नुभयो, “पाँच वर्षअघि भएको मतदान प्रक्रिया कतिपयले भुलेको पनि हुनसक्छ, सक्षम, र योग्य उम्मेदवार छनोट गर्न पाउने अधिकार मतदातालाई छ, त्यसकारण पनि निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगरेकामा हामी आफैँले यसबारेमा टोलटोलमा पुगेर शिक्षा दिइरहेका छौँ ।”बगनासकाली गाउँपालिकामा नेपाली कांग्रेसकोतर्फबाट अध्यक्षका उम्मेदवार बन्नुभएकी सुनिता अधिकारी पनि यतिबेला आफ्ना मतदातालाई मतदान गर्ने तरिका सिकाउँदै हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “मतदाता शिक्षा कार्यक्रम सञ्चालन भएपछि कतिपय मतदाता मतदान गर्ने तरिकामै अल्मलिएका छन्, मत बदर हुन नदिन घरघरमा पुगेर उनीहरुलाई सचेत गराइएको हो ।”

थानेश्वर तिमिल्सिना पनि मत बदर हुन नदिन नागरिकलाई सचेत बनाउने कार्यमा व्यस्त हुनुहुन्छ । बगनासकाली गाउँपालिका–९ मा उहाँ वडाध्यक्षको उम्मेदवार बन्नुभएको छ । यहाँका उम्मेदवारसहितका नेता कार्यकर्ताले नमूना मतपत्र लिएर मतदान गर्न सिकाइरहेका छन् । मतपत्रमा धेरै चिह्नमा छाप लगाउनुपर्ने भएकाले मतदान प्रक्रियामा कोही अल्मलिनु नपरोस् भनी नमूना मतपत्र बोकेर घरघरमा मतदान गर्न जानकारी दिने गरिएको छ । विगतका निर्वाचनलाई नियाल्दा निर्वाचन आयोगले घरघरमा प्रतिनिधि खटाएर मतदाता शिक्षाबारे जानकारी दिने गरेको थियो । यसोगर्दा पनि मत बदर भएकै हुन्थ्यो । तिनाउँ गाउँपालिकामा गठबन्धनका उम्मेदवारले घरदैलोमा पुगेर मतदाता शिक्षासँगै जनताको अपेक्षा सङ्कलन गरिरहेको उपाध्यक्ष पदका उम्मेदवार लालबहादुर थापाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर