बागलुङको बलेवा विमानस्थललाई थप स्तरोन्नति गरी सञ्चालनमा ल्याइने — OSNepal

बागलुङको बलेवा विमानस्थललाई थप स्तरोन्नति गरी सञ्चालनमा ल्याइने

LC (KTM) May 30, 2022 0

बागलुङ- बागलुङको बलेवा विमानस्थललाई सरकारले प्राथमिकताका साथ स्तरोन्नति गर्ने भएको छ । बन्द अवस्थामा रहेको विमानस्थल स्तरोन्नतिका लागि सरकारले बजेट तथा कार्यक्रममा प्राथमिकताका साथ समावेश गरिएको छ । अर्थमन्त्री जनार्दश शर्माले आइतबार संसद्मा पेश गर्नुभएको आर्थिक वर्ष २०७९÷८० को बजेट वक्तव्यमा बागलुङको बलेवा विमानस्थललाई थप स्तरोन्नति गरी सञ्चालनमा ल्याइने बताउनुभएको छ । ग्रामीण क्षेत्रबाट गुणस्तरीय हवाई सेवा दिने उद्देश्यले बन्द अवस्थामा रहेको विमानस्थललाई स्तरोन्नति गरी सञ्चालनमा ल्याइने सरकारले घोषणा गरे अनुसार बलेवा विमानस्थल स्तरोननतिसँगै सञ्चालनमा ल्याइने जनाइएको छ ।

अहिले विमानस्थलको धावनमार्ग भर्खरै कालोपत्र सम्पन्न भएको छ । विमानस्थलमा टर्मिनल टावर लगायतका थुप्रै पूर्वाधार निर्माणको आवश्यकता देखिएपछि सरकारले प्राथमिकताका साथ स्तरोन्नति गरेर विमानस्थल सञ्चालन गर्ने अर्थमन्त्री जनार्दन शर्माले बजेट वक्तव्यमा उल्लेख गर्नुभयो । सरकारले बलेवा विमानस्थलको स्तरोन्नतिसँगै सञ्चालनमा ल्याउने भनेपछि लामो समयदेखि बन्द रहेको विमानस्थल सञ्चालनमा आउने आश पलाएको छ । २८ वर्षदेखि नियमित उडान हुन नसकेको बागलुङ नगरपालिका–१४ नारायणस्थानमा रहेको विमानस्थलको धावनमार्ग कालोपत्र सम्पन्न भइसकेको छ ।

कच्ची धावनमार्गका कारण बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे भएका कारण विमानस्थल नियमितरूपमा सञ्चालनमा आउन सकेको थिएन । कालोपत्र सम्पन्न भएको विमानस्थलको अन्य पूर्वाधार निर्माणमा सरकारले प्राथमिकताका साथ बजेट विनियोजन गर्ने सरकारले बजेट तथा कार्यक्रम मार्फत घोषणा गरेको छ ।

विमानस्थलको ७०० मिटर लम्बाइ तथा ३० मिटर चौडाइ धावनमार्ग कालोपत्रको काम सम्पन्न भएको छ । सरकारले प्राथमिकतामा राखेको विमानस्थलमा पूर्वाधार निर्माणसँगै जनशक्ति तथा प्राविधिक व्यवस्थापन गर्ने छ । विसं २०७४ मा केही समय सञ्चालनमा आएको विमानस्थल कालोपत्र भएसँगै सञ्चालनका लागि सरकारले तयारी थालेको हो । विमानस्थल सञ्चालनका लागि २०७४ चैत ९ गते देखि यती र नेपाल वायुसेवा निगमसँग सम्झौता गरेर यात्रु सुनिश्चितता नहुँदा बागलुङ नगरपालिकाले खर्च व्यहोर्ने गरी उडान भरिएको थियो । तर यसलाई निरन्तरता दिन सकिएको थिएन । सरकारले बागलुङको वलेवा विमानस्थलसँगै डडेलधुरा, गैरीगाउँ, टीकापुर, दाङलगायतका स्थानको विमानस्थलको स्तरोन्नति गरिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर