सार्वजनिक शौचालयको लोगो तयार, एक साताभित्र प्रयोगमा ल्याउने तयारी — OSNepal

सार्वजनिक शौचालयको लोगो तयार, एक साताभित्र प्रयोगमा ल्याउने तयारी

LC (KTM) June 06, 2022 0

काठमाडौं :

काठमाडौं महानगरपालिकाले एक साताभित्र निजी र संस्थाका शौचालयलाई सार्वजनिक शौचालयको रूपमा खुला गर्ने तयारी गरेसँगै सार्वजनिक शौचालयको लोगो तयार गरेको छ । लोगोमा निलो रङको ग्लो साइनको बोर्डमा सार्वजनिक शौचालय लेखिएको सेतो रंगको अक्षर र सेतै रंगको महिला र पुरुषको चिन्ह अंकित छ ।

कामपाले आइतबार सार्वजनिक सूचना जारी गरी आफ्नो शौचालयलाई सार्वजनिक रूपमा प्रयोग गर्न दिन इच्छुक होटल, रेष्टुरेन्ट, बैंक, व्यापारिक भवन, सपिङ कम्प्लेक्स, निजी कम्पनी एवं गैरसरकारी संघसंस्थालगायतलाई अनुमतिका लागि ७ दिनभित्र कामपामा सम्पर्क राख्न आग्रह गरेको छ ।

कामपाको सार्वजनिक निजी साझेदारी इकाई (पीपीपी)ले जारी गरेको सूचनामा शौचालय प्रयोग गर्न दिने संस्था र व्यक्तिलाई दुईपक्षीय सम्झौता गरी सार्वजनिक शौचालयको रूपमा सञ्चालन गर्ने अनुमति दिने उल्लेख छ । पीपीपी इकाईका प्रमुख एवं निर्देशक नुरनिधि न्यौपानेले शौचालय प्रयोग गर्न दिने इच्छा जनाएका व्यक्ति र संस्थाले इकाइ र प्रशासन विभागले तयार गरेको फारम भर्नुपर्ने बताउनुभयो । फारममा महानगरले शौचालय प्रयोग गरेवापत केही सुविधा दिने व्यवस्था उल्लेख छैन ।यो समाचार आजको नेपाल समाचापत्र दैनिकमा प्रकाशित छ ।

पछि शौचालयले प्रयोग गर्न इच्छुकको संख्याको आधारमा कामपाले निर्णय गर्ने जानकारी दिँदै न्यौपानेले भन्नुभयो– ‘शौचालयको संख्या बढ्दै गएमा घरधनी वा शौचालय प्रयोग गर्न दिने संस्थालाई करछुट वा अन्य सुविधा दिनसक्छ । त्यसको लागि कामपाको कार्यपालिकाको बैठकले निर्णय गर्नुपर्ने हुन्छ ।’ काठमाडौं महानगरपालिकाको मेयरमा वालेन्द्र साहले पदबहाली गरेकै दिनबसेको पहिलो बैठकले महानगरभित्रका निजी र संस्थाको शौचालयलाई पनि सार्वजनिक शौचालयको रूपमा प्रयोग गर्ने निर्णय गरेको थियो । सोही निर्णय कार्यान्वयन गर्न कामपाले सूचना जारी गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर