विद्युतीय सवारीसाधनमा बढाइएको कर घटाउन नाडाको आग्रह — OSNepal

विद्युतीय सवारीसाधनमा बढाइएको कर घटाउन नाडाको आग्रह

LC (KTM) June 07, 2022 0

काठमाडौँ, २४ जेठ -अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले विद्युतीय सवारीसाधनमा बढाइएको कर घटाउन आग्रह गरेको छ । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९÷८० को बजेटमार्फत विद्युतीय सवारीसाधनको भन्सार र अन्तशुल्कमा वृद्धि गरिएको भन्दै नाडाले कर घटाउन आग्रह गरेको हो । काठमाडौँमा आज आयोजित कार्यक्रममा नाडाका अध्यक्ष धुव्रबहादुर थापाले विद्युतीय सवारीसाधनमा पुरानै कर लागु हुनुपर्नेमा जोड दिनुभयो । ‘सरकारले विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्नुपर्ने भन्दै आएको छ, तर आगामी आर्थिक वर्षको बजेटमा भन्सार र अन्तशुल्क कर बढाइएको छ, सरकारको भनाइ र गराइ फरक भयो’, उहाँले भन्नुभयो ।

उहाँले १०० किलोवाट क्षमताभन्दा तलका विद्युतीय सवारीसाधनमा पुरानै कर लागू गरिएकामा स्वागत गर्दै २०० किलोवाट क्षमताका विद्युतीय सवारीसाधनमा पुरानै व्यवस्था अनुसार भन्सार र अन्तशुल्क कायम गर्न आग्रह गर्नुभयो । यस्तै, नाडाले विदेशी मुद्राको सञ्चितिलाई देखाउँदै असार मसान्तसम्म सवारीसाधन आयातमा लगाइएको प्रतिबन्ध हटाउनसमेत आग्रह गरेको छ । विदेशी मुद्राको सञ्चिति र शोधनान्तर स्थितिमा सवारी आयातले खासै असर पार्ने नदेखिएको भन्दै नाडाले आयातप्रतिबन्धको सहज समाधानका लागि सरकारसँग अपिल गरेको छ ।

अध्यक्ष थापाले नयाँ सवारी साधनमा मात्र अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्नेमा जोड दिनुभयो । सवारीसाधन खरिदपछि सामान्य नम्बर राखेर पुनःइम्बोस्ड नम्बर प्लेट जडान गर्दा उपभोक्तामा दोहोरो खर्च हुने भन्दै उहाँले नयाँ सवारीसाधनलाई अनिवार्य गर्न आग्रह गर्नुभयो ।यस्तै अभिक ज्योतिले सरकारको नीतिका कारण दुई पाङ्ग्रे सवारीसाधनको बिक्रीवितरण नै बन्द गर्नुपर्ने अवस्था आएको बताउनुभयो । उहाँले २०० सिसी माथिका दुईपाङ्ग्रे सवारीसाधनलाई सरकारले विलासिताको वस्तुमा राखेर आयात रोक्दा तथा भन्सार र अन्तशुल्क दर बढाउँदा बिक्रीवितरण बन्द गर्नुपर्ने अवस्था आएको बताउनुभयो । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९÷८० को बजेटमा २०० सिसी माथिका सवारीसाधनमा बढाइएको कर तत्काल फिर्ता हुनुपर्ने ज्योतिले जोड दिनुभयो ।

कति बढ्यो कर-अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९÷८० को बजेटमा दुई पाङ्ग्रे र विद्युतीय सवारीसाधनको भन्सार र अन्तशुल्क महसुलमा वृद्धि भएको घोषणा गर्नुुभएको थियो । यही जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै उहाँले २०० सिसी माथिका दुई पाङ्ग्रे सवारीसाधन र १०० किलोवाट क्षमताभन्दा माथिका विद्युतीय गाडीको भन्सार तथा अन्त शुल्क वृद्धि भएको बताउनुभएको थियो । सरकारले १०० किलोवाटदेखि २०० किलोवाटसम्मका विद्युतीय कार, जीप र भ्यानमा ३० प्रतिशत अन्तशुल्क बढाएको छ । यस्तै २०० देखि ३०० किलोवाटभन्दा बढीमा ४५ प्रतिशत, ३०० किलोवाटभन्दा बढीको कार, जीप र भ्यानमा ६० प्रतिशत अन्तशुल्क लगाइएको छ । यस अघि विद्युतीय सवारीसाधन आयात गर्दा अन्तशुल्कमा पूर्ण छुट दिएको थियो ।

यस्तै, बजेटमार्फत १०० किलोवाटदेखि २०० किलोवाटसम्मका ३० प्रतिशत, २०० देखि ३०० किलोवाट सम्मकामा ३० प्रतिशत र ३०० किलोवाट बढीमा ६० प्रतिशतले भन्सार कर वृद्धि गरिएको छ । हाल १०० किलोवाट क्षमताको विद्युतीय सवारी साधनमा १० प्रतिशत, २०० किलोवाटसम्मका १५, ३०० किलोवाटसम्मका ३० र ३०० किलोवाट माथिका गाडीमा ४० प्रतिशत भन्सार शुल्क थियो ।

यस्तैगरी, २०० देखि २५० सिसीसम्मका मोटरसाइकलमा ४० प्रतिशत भन्सार महसुल लगाइने भएको छ । यसअघि ३० प्रतिशतमात्रै भन्सार महसुल लाग्ने गरेको थियो । २५० देखि ५०० सिसीसम्मकोमा ७० प्रतिशत र ५०० देखि माथिका मोटरसाइकलमा ८० प्रतिशत भन्सार शुल्क कायम गरिएको छ । दुई पाङ्ग्रेमा ३० प्रतिशत भन्सार महसुल लाग्ने व्यवस्था थियो । यस्तै २०० सीसी माथिका मोटरसाइकलमा अन्तशुल्क बढाइएको छ । २०० सिसीदेखि २५० सिसी नाघेको मोटरसाइकलमा ८० प्रतिशत छ । हाल २०० देखि २५० सिसी ननाघेको मोटरसाइकलमा ६० प्रतिशत अन्तः शुल्क लाग्ने गरेको थियो । २५० देखि ५०० सिसीसम्मका ९० प्रतिशत र ५०० सिसीदेखि माथिकामा १०० प्रतिशत अन्तशुल्क लाग्ने गरेको छ ।
अहिले २५० दे ५०० सीसीसम्मका मोटरसाइकलमा ८० प्रतिशत अन्तःशुल्क लाग्ने गरेको छ । ५०० देखि ८०० सिसीसम्मका मोटरसाइकलमा ८० प्रतिशत र ८०० सिसी माथिका गाडीमा १०० प्रतिशत अन्तःशुल्क लाग्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर