‘मेन्था’ उत्पादन आधा घट्यो — OSNepal

‘मेन्था’ उत्पादन आधा घट्यो

LC (KTM) June 17, 2022 0

टीकापुर, ३ असार (रासस) ः कैलालीको टीकापुर क्षेत्रमा यस वर्ष जडीबुटी (मेन्था) उत्पादन अघिल्लो वर्षको तुलनामा आधा कम भएको छ । यस वर्ष मेन्था खेती ढिलो रोपाइँ र सिँचाइ अभाव भएपछि उत्पादन घटेको हो । गत वर्ष यहाँ दुई हजार १०० लिटर मेन्थाको तेल उत्पादन भएको थियो तर यस वर्ष एक हजार ४०० लिटरमात्र उत्पादन भएको छ । जडीबुटी प्रशोधन तथा खेती विस्तार कार्यालय टीकापुरले यस वर्ष दुई हजार ५०० लिटर तेल उत्पादन गर्ने लक्ष्य लिएको थियो । कार्यालयले किसानलाई खेतीका लागि न्यूनतम मूल्यमा बीउ उपलब्ध गराउने, निःशुल्क प्रशोधन, प्राविधिक सल्लाह दिने गरेको छ ।

टीकापुरका दिलबहादुर चौधरीले यस वर्ष एक बिघामा मेन्थाखेती गर्नुभएको थियो । प्रतिकट्ठा औसतमा चार लिटर मेन्था तेल उत्पादन हुनुपर्नेमा यस वर्ष एक बिघा जमिनमा जम्मा १० लिटर मात्रै उत्पादन भयो । मेन्थाको तेल प्रतिलिटर रु एक हजार १५० मा बिक्री हुन्छ । “गत वर्ष राम्रो उत्पादन भएको थियो । यस वर्ष खेती गर्नुमात्रै भयो”, दिलबहादुरले भन्नुभयो, “खेती गर्न बेर्ना जडीबुटी प्रशोधन कार्यालयले दिन्छ, उत्पादन भएपछि प्रशोधन पनि उसैले गर्छ, किसानले काटेर कार्यालयसम्म पु¥याउन मात्र दुःख हो । त्यसैले सजिलो थियो तर यस वर्ष उत्पादन राम्रो भएन ।”

टीकापुर नगरपालिका वनगाउँकी अस्मिता चौधरीले १० कट्ठा क्षेत्रफलमा मेन्था रोप्नुभएको थियो । उहाँले फागुनको पहिलो साता रोप्नुभयो तर उहाँको मेन्था खेती राम्रो उत्पादन भएन । यस वर्ष मेन्था खेतीले घाटा मात्र नभई निराश बनाएको उहाँको गुनासो छ । धान रोप्नुभन्दा पहिला आम्दानी प्राप्त हुने खेतीका रुपमा रहेको मेन्था खेतीप्रति उत्साहित भएका किसानले यस वर्ष नोक्सानी बेहोेरेका छन् । खेती गर्न सहज, लगानी कम लाग्ने खेती भए पनि यो वर्ष लागत मूल्यसमेत प्राप्त नहुँदा किसानलाई घाटा भएको वनगाउँका अर्का किसान पार्वती चौधरीले बताउनुभयो ।

“मेन्था खेतीबाट आम्दानी भएको रकम धानखेती गर्दा काम लाग्थ्यो”, पार्वतीले भन्नुभयो, “आकाशे पानी नपरेका कारण पनि यस वर्ष उत्पादन राम्रो हुन नसकेको हो ।”
मेन्था धान र तोरीखेती पछिको तेस्रो बालीका रुपमा गरिन्छ । यहाँका किसानले तेस्रो बालीका रुपमा सहजै खेती गर्न सकिने भएकाले मेन्थाखेती गर्ने गरेका छन् । यस वर्ष टीकापुर नगरपालिका, जानकी र जोशीपुर गाउँपालिका क्षेत्रमा १०१ किसानले ४० बिघा क्षेत्रफलमा मेन्थाखेती गरेका जडीबुटी प्रशोधन तथा खेती विस्तार कार्यालय टीकापुरले जानकारी दिएको छ ।

एक सय १० दिनमा तयार हुने मेन्थाखेती यस वर्ष रोप्ने समयमा किसानले ढिलाइ भएको र सिँचाइ पर्याप्त नहुँदा खेती राम्रो नभएको जडीबुटी प्रशोधन तथा खेती विस्तार कार्यालय टीकापुरका प्रमुख कमल बेल्वासेले बताउनुभयो । “मेन्थाखेती माघ महिनामा रोपिसक्नुपर्ने हुन्छ, तर गएको माघ महिनामा वर्षा भइरहेकाले किसानको खेत सुख्खा नहुँदा मेन्थाखेती गर्न ढिलाइ भयो । त्यसपछि आवश्यक सिँचाइ अभाव भयो”, बेल्वासेले भन्नुभयो, “एक÷दुई पटक वर्षा भएको भए, सिँचाइ कुलामा पानी भएको भए खेती राम्रो हुन्थ्यो, त्यसो हुन सकेन । जसले उत्पादनमा असर परेको छ ।”

मेन्थाको तेलबाट रुघाखोकी लाग्दा प्रयोग हुने सञ्चो लगायतका तेल उत्पादन हुने गरेका छन् । कार्यालयले किसान आफैँले प्रशोधन गरेको तेल पनि किन्ने गरेको छ ।
कार्यालयसँग प्रशोधनका लागि पर्याप्त मेशिन छन् । तर बेर्ना उत्पादनका लागि जमिन अभाव छ । कार्यालयसँग जम्मा तीन हेक्टर जमिन छ । दुई हेक्टरमा बेर्ना उत्पादन हुने गरेको छ । कार्यालय परिसरमा उत्पादन हुने बेर्ना ४० बिघाका लागि मात्र पुग्ने गरेको बेल्वासे बताउनुहुन्छ ।

“कार्यालयसँग १०० बिघा जमिनको मेन्था प्रशोधन गर्नसक्ने मेसिन छन् । मेसिनले क्षमता जति मेन्था प्रशोधन गर्न पाएको छैन । कार्यालयसँग हाल छ वटा अत्याधुनिक प्रशोधन मेसिन छन् । तीन घण्टामा तीन टन कच्चापदार्थ प्रशोधन गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “यी मेसिन २४सै घण्टा चलाउन सकिन्छ । दैनिक २४ टन कच्चा पदार्थ प्रशोधन गर्न सकिन्छ । मेसिनले नियमित काम पाउन सकेको अवस्था छैन । दैनिक २४० लिटर तेल उत्पादन लिन सकिन्छ तर कच्चा पदार्थ अभाव छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर