कोरोना महामारीको साङ्लो तोड्न भनेर निषेधाज्ञा जारी गरिएको दुई साता भइसक्दा पनि काठमाडौंमा सङ्क्रमितको सङ्ख्या बडेको बढ्यै — OSNepal

कोरोना महामारीको साङ्लो तोड्न भनेर निषेधाज्ञा जारी गरिएको दुई साता भइसक्दा पनि काठमाडौंमा सङ्क्रमितको सङ्ख्या बडेको बढ्यै

LC (KTM) May 12, 2021 0

काठमाडौं, बैशाख २९। कोरोना महामारीको साङ्लो तोड्न भनेर निषेधाज्ञा जारी गरिएको दुई साता भइसक्दा पनि उपत्यकामा सङ्क्रमितको सङ्ख्यामा कमी आएको छैन । उपत्यकामा सङ्क्रमण दर नघट्दा र यहाँबाट देशभर अझै पनि आवतजावत भइरहँदा समग्र सङ्क्रमण पनि घट्न सकेको छैन ।

जनस्वास्थ्यविद्हरूले स्वास्थ्य मापदण्ड पालनामा कडाइ नभएको बताएका छन् । सङ्क्रमण अत्यधिक बढेको भारतसँग आवतजावत भइरहेका कारण उपत्यकाको सङ्क्रमण नियन्त्रण हुन अझै केही समय लाग्ने उनीहरूको निष्कर्ष छ ।सङ्क्रमितको सङ्ख्या नघटेपछि फेरि दुई साताका लागि निषेधाज्ञाको अवधि थप गरिएको छ । आउँदो निषेधाज्ञालाई थप कडाइ गर्ने निर्णयसमेत भएको छ ।

काठमाडौँ उपत्यकामा वैशाख ९ गते बिहीबार नयाँ सङ्क्रमित एक हजार १७४ फेला परेकामा वैशाख १५ गते बुधबार दुई हजार ४७ थपिएका थिए । वैशाख १६ गते बिहीबार एक साताका लागि निषेधाज्ञा जारी भयो । त्यो दिन एक हजार ५६१ जना नयाँ सङ्क्रमित फेला परेका थिए भने वैशाख २२ गते बुधबार तीन हजार ८२५ जना थपिए । दैनिक थपिने सङ्क्रमितको सङ्ख्या उपत्यकामा वैशाख २८ गते बुधबार तीन हजार ९२७ जना पुग्यो । वैशाख २६ गते आइतबार अहिलेसम्मकै सबभन्दा बढी चार हजार १९८ जना नयाँ सङ्क्रमित फेला परे ।

निषेधाज्ञा भएको दुई साता भएको छ, तर दैनिक थपिने सङ्क्रमितको सङ्ख्यामा कमी आएको छैन । निषेधाज्ञा जारी भएको दिन वैशाख १६ देखि २८ गते मङ्गलबारको अवधिमा दैनिक फेला पर्ने सङ्क्रमितको सङ्ख्या डेढ गुणाले बढेको छ ।। गोरखापत्र दैनिकमा खबर छ । मङ्गलबार मुलुकभर नौ हजार ४८३ जना सङ्क्रमित थपिएकामध्ये तीन हजार ९२७ जना अर्थात् ४१ प्रतिशत काठमाडौँ उपत्यकाका छन् । उपत्यकामा अहिले ४० हजार २२२ सक्रिय सङ्क्रमित छन् । पछिल्लो एक सातामा झन्डै एक चौथाइले सक्रिय सङ्क्रमित बढेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर