सञ्चारमन्त्री गुरुङद्वारा नेता चौलगाईँलाई राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जलि — OSNepal

सञ्चारमन्त्री गुरुङद्वारा नेता चौलगाईँलाई राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जलि

LC (KTM) May 12, 2021 0

काठमाडौँ, २९ वैशाख- नेकपा (एमाले) का नेता तथा वाग्मती प्रदेशसभा सदस्य पशुपति चौलागाईँको पार्थीव शरीरमाथि सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

मन्त्री गुरुङले आज बिहान मनमोहन मेमोरियल अस्पतालमा पुगेर राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्नुभएको हो । त्यस्तै पार्टीका अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहराले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो । उहाँको केही समयपछि पशुपति आर्यघाटको विद्युतीय शव दाहगृहबाट अन्त्येष्टि गरिनेछ । कोरोना सङ्क्रमणबाट मङ्गलबार राति नेता चौलगाईँको निधन भएको थियो ।

नेकपा (एमाले) पोलिटब्यूरो सदस्य रहनुभएका चौलागाईँ दोलखा ‘ख’ बाट वाग्मती प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । नेता चौलगाईँ विसं २०५६ को निर्वाचनमा दोलखा क्षेत्र नं १ बाट निर्वाचित हुनुभएको थियो । त्यस्तै २०७० को संविधानसभा चुनावमा समानुपातिक कोटाबाट सांसद हुनुभएको थियो ।

विद्यार्थीकालदेखि नै सक्रिय राजनीतिमा रहनुभएका चौलगाईँ निष्ठावान र इमान्दार नेता हुनुहुन्थ्यो । उहाँको निधनले दोलखाका साथै सिङ्गो राष्ट्रले अपूरणीय क्षति व्यहोर्नुपरेको एमाले वाग्मती प्रदेश सङ्गठनका अध्यक्ष आनन्दप्रसाद पोखरेलले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर