कोरोनाले एकै परिवारका ४ जनाको निधन, होनहार खेलाडीको निधनले पुरा नेपालगञ्ज शोकमग्न — OSNepal

कोरोनाले एकै परिवारका ४ जनाको निधन, होनहार खेलाडीको निधनले पुरा नेपालगञ्ज शोकमग्न

LC (KTM) May 08, 2021 0

काठमाडौ- कोरोना भाइरस संक्रमणका कारण नेपालगञ्जमा एकै परिवारका ४ जनाले ज्यान गुमाएका छन् । पूर्व राष्ट्रिय क्रिकेटर जाहिर अहमद, उनकी १ बहिनी र २ दाइको मृत्यु भएको हो । नेपालगञ्ज–३ सुनारमन्दी टोलका ४२ वर्षीय जाहिरको बुधवार साँझ ७ बजे भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । त्यही अस्पतालमा उनका राइँलो दाइ एजाजको बिहीवार बेलुकी ७ बजे र काइँलो दाइ इम्तियाजको शुक्रवार बिहान साढे १० बजे ज्यान गएको हो ।

‘हट्टाकट्टा थिए, अचानक बिरामी भएर अस्पताल गएका थिए, फर्केनन्,’ छिमेकी हज शकिलले भने ।उनका अनुसार ७ दाजुभाइ सबै संयुक्त परिवारमा बस्दै आएका थिए । परिवारमा अन्य पनि संक्रमित छन् । तीमध्ये कोही घरमै आइसोलेसनमा र केही अस्पतालमा उपचाररत छन् । घरमा उनीहरूकी वृद्ध आमा छिन् ।जाहिरकी बहिनीको भने भारतको रुपैडियामा कोरोना संक्रमणले मृत्यु भएको हो । उनको भारतमा बिहे भएको थियो ।

सन् १९९७ मा सिंगापुरमा आयोजना भएको एसीसी यू–१९ कपमा नेपालले सहभागी हुन जाँदा जाहिर १८ सदस्यीय टोलीमा थिए । उनी १४ सदस्यीय नेपाली टोलीमा पर्न भने सकेनन् । पछिल्लो समय उनी लुम्बिनी प्रदेशको क्रिकेट छनोट समितिमा थिए ।नेपालगञ्जका भारोत्तोलन प्रशिक्षक तथा अन्तर्राष्ट्रिय भारोत्तोलक शकिल अहमदको पनि बिहीवार संक्रमणले नै ज्यान लिएको छ । उनको नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको हो । उनले सन् १९८५ मा बंगलादेशको ढाकामा सम्पन्न दोस्रो दक्षिण एसियाली खेलकुद र १९९० मा चीनमा भएको एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गरेका थिए । उनले १ महिना रुसको मस्कोमा विशेष प्रशिक्षण समेत लिएका थिए ।

आफ्नै प्रशिक्षणमा खेलेको स्मरण गर्दै नेपाल भारोत्तोलन संघका वरिष्ठ उपाध्यक्ष पार्थ सारथि सेन गुप्तले भने, ‘शकिल, सुरेन्द्र हमाल, समसुद्दिन एकै पुस्ताका खेलाडी हुन् । त्यो बेला नेपालगञ्जको बलियो टोली थियो । भेन्टिलेटरमा भए पनि २ दिनअघि छोरामार्फत कुरा गरेको थिएँ, हिजो साँझ आकस्मिक खबर आयो । स्तब्ध छु ।’ राष्ट्रिय खेलकुद परिषद्मा उनी अधिकृतस्तरका प्रशिक्षक हुन् ।

काठमाडौंमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुदमा उनी नेपालको भारोत्तोलन प्रशिक्षण टोलीमा थिए । उनले नेपालको प्रशिक्षक भएर ताइवान, उज्वेकिस्तान, मलेसियामा टिम लगेका थिए ।अन्तर्राष्ट्रिय भारोत्तोलनका पदक विजेता समसुद्दिन सिद्दिकीले जाहिर र शकिलजस्ता अन्तर्राष्ट्रियस्तरका २ होनहार खेलाडीको निधन हुनुले नेपालगञ्जको खेल क्षेत्रमा ठूलो धक्का पुगेको बताए । ‘देशलाई योगदान गरेका व्यक्तित्वप्रति सम्मानजनक उपस्थितिमा दाहसंस्कार समेत गर्न नपाउनु सबैभन्दा दुःखको पक्ष रह्यो,’ उनले भने, ‘नेपालगञ्जको खेल क्षेत्र अहिले शोकमग्न छ ।’ कान्तिपुर दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर