भाषा र संस्कृतिका एकताको बिम्बका रूपमा आदिकवि भानुभक्त आचार्य — OSNepal

भाषा र संस्कृतिका एकताको बिम्बका रूपमा आदिकवि भानुभक्त आचार्य

LC (KTM) July 12, 2022 0

काठमाडौँ, २८ असार ः नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गासाद उप्रेतीले भाषा र संस्कृतिका एकताको बिम्बका रूपमा आदिकवि भानुभक्त आचार्यलाई लिइने बताउनुभएको छ ।प्रतिष्ठानद्वारा २०९औँ भानुजयन्तीका अवसरमा आयोजित ‘भानुभक्तको जीवनी विषयक प्रवचन तथा नयाँ पुस्ताबाट भानुभक्तीय रचना वाचन’ कार्यक्रममा उहाँले विगतमा भानुजयन्तीमा कुनै एउटा विषयलाई लिएर भानु–विमर्श गर्ने गरिएकामा यसपटक बालबालिकाद्वारा भानुभक्तको रचनावाचन गर्ने कार्यक्रमसमेत राखिएको उल्लेख गर्नुभयो ।

कुलपति उप्रेतीले भन्नुभयो, “छन्दमा कविता सिर्जना गर्ने सीप विद्यार्थीले सिकुन् भन्ने नै प्रतिष्ठानको उद्देश्य हो र यसले कविता–साहित्यको प्रवद्र्धनमा समेत उल्लेखनीय योगदान दिनेछ भन्ने हाम्रो विश्वास रहेको छ ।” प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले भानुभक्तजस्ता विलक्षण क्षमता भएका प्रतिभालाई राष्ट्रले खोजीखोजी सम्मान गर्नुपर्नेमा जोड दिनुभयो ।

सदस्यसचिव प्रा जगतप्रसाद उपाध्यायले भानुभक्तले रामायण, प्रश्नोत्तर, भक्तमालाजस्ता कृति सिर्जना गरेर नेपाली कविता–साहित्यमा ठूलो गुन लगाएको उल्लेख गर्दै उहाँले संस्कृत साहित्यमासमेत भानुभक्तको ठूलो योगदान रहेको बताउनुभयो ।प्रतिष्ठानका साहित्य (लोकवार्ता र बालसाहित्य विभाग) प्रमुख डा देवी नेपालले बालसाहित्यका विभिन्न विधामा नयाँ र महत्वपूर्ण कृति ल्याउन लागिएको जानकारी दिनुभयो । कार्यक्रममा भानुभक्तको जीवनीबारे प्रवचन दिँदै प्रा डा शर्वराज आचार्यले भानुभक्तका बारेमा गरिएको अध्ययनको सारसंक्षेपसमेत प्रस्तुत गर्नुभएको थियो ।

भानुभक्तीय जीवनी र जीवनपरक अध्ययनमध्ये विश्लेषणात्मक भानुजीवन दुई जनाले र शोधप्रबन्ध भानुजीवनी भारततर्फ तीन र नेपालतर्फ तीन जनाले अध्ययन गरेको उहाँले बताउनुभयो । कार्यक्रममा राजधानीका विभिन्न विद्यालयका विद्यार्थीले भानुभक्तीय रचना वाचन गरेका थिए ।

एम्बिसन एकेडेमीकी छात्रा चक्षु भट्टराई, प्रज्ञा स्कुलका छात्र अवसर सुवेदी, भ्याली स्कुलकी छात्रा गरिमा घिमिरे, वेद विद्याश्रमका छात्र हेमन्त भट्ट, लिटिल एन्जेल्सकी छात्रा पलक ताम्राकार, संस्कृत मावि रानीपोखरीका छात्र सदृश सुवेदी र ज्ञानदीप शिक्षा सदनकी छात्रा दीपशिखा मुखियाले भानुभक्तीय रचना वाचन गरेका थिए । कार्यक्रमको अन्त्यमा विद्यार्थीलाई कुलपति उप्रेतीले सहभागिताको प्रमाणपत्र प्रदान गर्नाका साथै नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित बालसाहित्यसम्बन्धी कृति उपहारस्वरूप प्रदान गर्नुभएको थियो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर