आयुर्वेदिक सेवाले नागरिकको विश्वास जित्न थालेपछि आकर्षण बढ्दो — OSNepal

आयुर्वेदिक सेवाले नागरिकको विश्वास जित्न थालेपछि आकर्षण बढ्दो

LC (KTM) July 12, 2022 0

कर्णाली, २८ असार-सुर्खेतस्थित कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर कालागाउँमा रहेको प्रदेश आयुर्वेद औषधालयमा सेवाग्रहीको आकर्षण बढ्न थालेको छ । आयुर्वेदिक सेवाले नागरिकको विश्वास जित्न थालेपछि यसमा सेवाग्रहीको आकर्षण बढेको हो ।

औषधालयको विगत तीन वर्षको तथ्याङ्क नियाल्दा आयुर्वेदिक चिकित्सा सेवा लिने सेवाग्रहीको सङ्ख्यामा वृद्धि भएको हो । आर्थिक वर्ष २०७६÷७७ मा २८ हजार ३५५ र आव २०७७÷७८ मा ३० हजार ५३६ जनाले आयुर्वेद सेवा लिएकामा आव २०७८÷७९ मा ४० हजार ८५ जनाले सेवा लिएका औषधालयका प्रमुख डा शङ्करप्रसाद रिजालले राससलाई बताउनुभयो । “चालु आवमा १० हजार बढी सेवाग्रहीले यहाँबाट सेवा लिएका छन्,” उहाँले भन्नुभयो, “पछिल्लो समयमा आयुर्वेदिक चिकित्साले धेरैको ध्यान खिचेको छ । यो सकरात्मक पक्ष हो ।”

प्रमुख डा. रिजालले आर्थिक वर्ष २०७८÷७९ मा २२ हजार ७४९ले साधारण उपचार, छ हजार ५०५ले पञ्चकर्म, २५०जनले स्तनपायी आमा सेवा लिएको बताउनुभयो । यस्तै सात हजार ४१२ ज्येष्ठ नागरिक र एक हजार ५१८ अन्य बिरामीले निःशुल्क सेवा लिएका थिए ।

त्यस्तै एक हजार ६०१ गाउँघर क्लिनिक, क्षारसुत्र ४८ र कोभिड–१९ का तीन बिरामी गरी प्रदेश औषधालयबाट चालु आवमा कूल ४० हजार ८६ जनाले सेवा लिएका छन् । चौवालिस प्रकारका औषधि निःशुल्क वितरण गर्दै आएको औषधालयले बहिरङग, प्रयोगशाला, क्षारसुत्र सेवा, पूर्वकर्म÷पञ्चकर्म सेवा, स्तन्यवद्र्धक औषधि वितरण र ज्येष्ठ नागरिक स्वास्थ्य रक्षा तथा प्रवद्र्धन कार्यक्रम पनि गर्दै आएको छ ।

उहाँका अनुसार स्वस्थ जीवनका लागि दैनिक योग, ध्यान, विद्यालय आयुर्वेद शिक्षा कार्यक्रम, एक्सरे सेवा, भिडियो एक्सरे, शःशुल्क फार्मेसी सेवा, निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर र आयुर्वेद जडीबुटीसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिएको थियो। आगामी आवदेखि अकुपञ्चर र फिजियोथेरापी सेवा पनि विस्तार गर्ने योजना रहेको प्रमुख डा रिजालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर