विन्ध्यवासिनी मन्दिर परिसरमा चरालाई चारा व्यवस्थापन — OSNepal

विन्ध्यवासिनी मन्दिर परिसरमा चरालाई चारा व्यवस्थापन

LC (KTM) May 08, 2021 0

गण्डकी, २५ वैशाख- कोरोनाको रोकथाम र नियन्त्रणका लागि कास्की जिल्लामा निषेधाज्ञा जारी भएका कारण सुनसान विन्ध्यवासिनी मन्दिर परिसरमा चरालाई चारा व्यवस्थापन भने नियमित गरिएको छ । मन्दिरमा सर्वसाधारणका लागि पूजाआजामा रोक लगाइएका कारण भक्तजन आउन छोडे पछि परिसरमा रहेका चराहरूलाई चाराको समस्या हुने अवस्थालाई दृष्टिगत गरी विन्ध्यवासिनी धार्मिक क्षेत्र व्यवस्थापन समितिले नियमित चाराको व्यवस्थापन गराएको हो ।

अघिल्लो वर्षको लामो समयको बन्दाबन्दीमा पनि समितिले चारा व्यवस्थापन गरेको जानकारी दिदै समितिका सचिव तीर्थ श्रेष्ठले यस वर्ष पनि कोरोना महामारी बढ्दै जान थालेपछि वैशाख ९ गतेबाट मन्दिरमा नियमित बाहेकको पूजाआजामा रोक लगाइएको जानकारी दिनुभयो ।

पूजाआजामा रोक लगाइएसँगै भक्तजनको आगमन बन्द भए पछि चराचुरुङ्गीलाई हुने आहाराको समस्या नहोस् भन्दै चारा व्यवस्थापन गरिएको उहाँले बताउनुभयो ।मन्दिरमा विवाह लगायतका कार्यका लागि निरन्तर सोधपुछ हुने गरेको उल्लेख गर्दै श्रेष्ठले आँफूहरूले महामारी बढेका कारण नआइदिनुहोला भन्ने जवाफ दिने गरेको बताउनुभयो । “कतिपय त सोधपुछ नगरी विवाहका लागि सिधै पनि मन्दिरको ढोकामा आउने गर्नुभएको छ”, उहाँले भन्नुभयो, “त्यस्ताका लागि व्यवहारिकता बोध गर्दै वर र वधु पक्षका बढीमा तीन तीन जनाका दरले पठाउने गरेका छौं ।”

अघिल्लो वर्ष कोरोना महामारी शुरु भएपछि बन्दाबन्दीको समयावधि सहित झण्डै सात महिना मन्दिरमा पूजाआजामा रोक लगाइएको थियो । सचिव श्रेष्ठका अनुसार सामान्य अवस्थामा मन्दिरमा पूजाआजाका लागि आउने भक्तजनबाट भेटीघाटीस्वरुप लगभग मासिक एक लाख रुपैयाँ सहयोग सङ्कलन हुँदै आएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर