काठमाडौं १८ साउन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अर्थमन्त्री जनार्दन शर्मालाई अब जनताले सजाय दिने बताएका छन् ।
बुधबार प्रेस चौतारी दाङले तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा सहभागी भएका नेता पोखरेलले शर्माले व्यापारिक घरानासँगको सेटिङमा बजेट ल्याएको भन्दै यस्तो प्रति क्रिया दिएका हुन् ।
अर्थमन्त्रीले जनताका लागि भन्दा पनि व्यापारिका पक्षका लागि बजेट ल्याएकाले अब जनताले नै सजाय दिने दावी गरेका पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नजरमा शर्मा चोखिएको बताए ।
‘अर्थमन्त्रीले जनताका लागि भन्दा पनि व्यापारिका पक्षमा बजेट ल्याएका छन् । देउवा र प्रचण्डका नजरमा त उनी चोखिएलान् । तर, जनताले सजाय दिनेछन् ।’ पोखरेलले भने ।
पाँचदलीय गठबन्धनका बाबजुद पनि एमालेको जनमत नघटेको दावी गरेका उनले २०७४ मा ३३ प्रतिशत मत ल्याएको एमालेले अहिले बढाएर ३४ प्रतिशत पुर्याएको बताए ।
साथै,उनले स्थानीय चुनावमा गठबन्धनको सामर्थ्यले गर्दा कांग्रेस पहिलो देखिएको बताए ।