निर्वाचन सत्ताधारी, गठबन्धन र प्रतिपक्षी दलको मात्र नभइ जनता र मतदाताको विषय हो : सुर्य थापा — OSNepal

निर्वाचन सत्ताधारी, गठबन्धन र प्रतिपक्षी दलको मात्र नभइ जनता र मतदाताको विषय हो : सुर्य थापा

LC (KTM) August 03, 2022 0

रुपन्देही । १८ साउन । नेकपा एमालेका पोलिटब्युरो सदस्य सूर्य थापाले स्वार्थको रोटी सेक्नको लागि मात्र गठबन्धन भएको बताएका छन् । सबै मिलेर एमालेलेलाई घेराबन्दी गर्ने काम भएको बताएका उनले एमालेको सरकार ढाल्न गठबन्धन बनाएको बताएका हुन् ।

साइनबोर्ड कम्युनिष्टको अनि गठबन्धन कांग्रेससँग छ भन्दै टिप्पणी गरेका उनले भने , ‘एमालेको सरकार ढाल्न गठबन्धन बनाएका हुन् दुनियाँका सामु छर्लङ्ग छ, अनि को कम्युनिष्ट हो भन्ने हामीले भनिरहनु पर्दैन । ’

बुधबार लुम्बिनी प्रेस क्लब सिद्दार्थनगर रुपन्देहीले भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै थापाले एमाले गठबन्धन गर्नुहुँदैन भन्ने मान्यता राख्ने पार्टी भएको भन्दै उनले गठबन्धनको चक्रबाट मुलुकलाई मुक्त गर्नुपर्नेमा जोड दिए ।

निर्वाचनअघि प्रदेश खारेजी गर्ने एजेण्डा एमालेले नबोक्ने स्पष्ट पारेका उनले जनताले अस्थिरता नरुचाउने भएकाले एमालेलाई जनताले बहुमत दिन्छन् भन्ने विश्वास रहेको बताए ।

निर्वाचनजस्तो चिज सत्ताधारी, गठबन्धन र प्रमुख प्रतिपक्षी दलको मात्र नभइ यो जनता र मतदाताको विषय भएको बताएका उनले बिनाविवाद मुलुकलाई निर्वाचनको तयारीमा लैजानुपर्नेमा जोड दिए ।

उनले भने, ‘यो आवधिक निर्वाचन हो, संविधानले पाँच वर्षमा आवधिक निर्वाचनको व्यवस्था गरेको छ, किन्तु परन्तु, इफ, बट भन्न पाइँदैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर