कपिलवस्तुको वाणगङ्गा नदीको बाढीले बस्ती जोखिममा — OSNepal

कपिलवस्तुको वाणगङ्गा नदीको बाढीले बस्ती जोखिममा

LC (KTM) August 06, 2022 0

कपिलवस्तु-कपिलवस्तुको वाणगङ्गा नदीको बाढीले विभिन्न स्थानमा कटान गर्दा जोखिम बढ्न थालेको छ । बर्सातमा आउने बाढीले नदी नियन्त्रण नगरिँदा बस्ती नै जोखिममा पर्दै गएको छ ।जिल्लामा सबैभन्दा बढी बाढीले क्षति गर्ने सो नदीका दर्जन आसपास क्षेत्रमा बाढीको जोखिम रहने गरेको छ । नदीले जिल्लाको वाणगङ्गा, बुद्धभूमि, महाराजगञ्ज, कपिलवस्तु नगरपालिका र यशोधरा गाउँपालिकाको खेतीयोग्य जमिन कटान गर्दै आएको छ ।

कजरहवा, पडरिया, सिङ्ग्रहा, हरदौना, करैलियालगायतका गाउँमा सोनदीमा आउने बाढीको उच्च जोखिममा रहेका छन् । नदी व्यवस्थापनका लागि पर्याप्त बजेटको अभावलगायतका समस्याले कटान नियन्त्रण हुन नसेको महाराजगञ्ज नगरपालिकाका नगर प्रमुख अब्दुल कलामले बताउनुभयो । सबैभन्दा बढी सो नगरपालिकाको हरदौना जोखिममा छ । हरदौनाको केही स्थानमा तटबन्ध निर्माणका काम सुरु गरिएको भएतापनि निर्माण र बाढी नियन्त्रणको काम पूरा हुन सकेको छैन ।

यसै सातामा लगातार भएको वर्षाले हरदौनाको विभिन्न स्थानमा बाढीले कटान थालेको हो । सो गाउँको जग्गा कटान गरी नदी गाउँ पस्न अब केही मिटर मात्र बाँकी रहेको स्थानीय शैलेन्द्र चौधरीले बताउनुभयो । केन्द्रीय, प्रदेश र स्थानीय सरकारले पटक–पटक अनुगमन गरेपनि काटानको बारेमा कुनै पहल नभएको चौधरीले बताउनुभयो ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री तथा पूर्वसिँचाइ राज्यमन्त्री सुरेन्द्रराज आचार्यले कटान नियन्त्रणको लागि पहल गरेको बताउनुभएको छ । कपिलवस्तुको खेतीयोग्य जमिन कटान गर्ने वाणगङ्गा नदीको तटबन्ध निर्माणका लागि बजेट उपलब्ध गराउन सफल भएको आचार्यले जानकारी दिनुभयो ।

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले वाणगङ्गा नदी कटान नियन्त्रणका लागि भारत सरकारसँग सम्झौता गर्नुभएको थियो । तत्कालीन सिँचाइ राज्यमन्त्री आचार्यले सो नदी नियन्त्रणबारे डिपिआर निर्माण गरी मन्त्रालयमा पेश गर्नुभएको थियो । वर्तमान सरकारले बजेट विनियोजन र तबन्ध निर्माण लगायतका कामका लागि बोलपत्र प्रक्रिया अघि बढाएको पूर्वमन्त्री आचार्यले बताउनुभयो ।

प्रदेशस्तरीय अस्पतालको काम सुरु भएन
कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा प्रदेशस्तरीय सरुवा रोग अस्पताल निर्माणको बोलपत्र भएको एक वर्ष बित्दा पनि अझैसम्म काम सुरु हुन सकेको छैन । स्वास्थ्य मन्त्रालयले भवन निर्माणका लागि २०७८ असार ३० गते बोलपत्र प्रकाशित गरेको थियो । विविध कारण देखाएर भवन निर्माण कार्य अझैसम्म सुरु हुन नसक्नु दुःखद् भएको स्थानीय रहिस शाहले बताउनुभयो ।

प्रदेशस्तरीय सरुवा रोग अस्पताल चन्द्रौटामा ल्याउन पहल गर्नुभएका प्रदेशसभा सदस्य अर्जुनकुमार केसीले अब केही महिनामा अस्पतालको भवन निर्माण कार्य थालिने बताउनुभयो । केसीले भन्नुभयो, “सङ्घबाट बजेट निकासा भई प्रदेश स्वास्थ्य मन्त्रालयमा आएको छ, प्रदेश स्वास्थ्य मन्त्रालयले सहरी विकास कार्यालयलाई भवन निर्माणको लागि ठेक्का दिइसकेको छ ।”

चन्द्रौटा हाटबजार नजिकैको पूर्वपट्टि, महेन्द्र राजमार्ग सडक छेउमा रहेको वन क्षेत्रमा पर्ने नौ बिघा जग्गामा अस्पताल बन्ने भएको छ । अस्पताल बनाउन रु दुई अर्ब लाग्नेछ । निर्माण अवधि दुई वर्षको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७७÷०७८ को बजेटमा प्रदेशस्तरीय सरुवा रोग अस्पताल चन्द्रौटा क्षेत्रमा निर्माण गर्ने जनाएको थियो । —

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर