काठमाडौँमा नै गाडी तोडफोडमा उत्रिए विप्लवका कार्यकर्ता, कोटेश्वरमा यात्रुबाहक बसमा ढुंगा हानेर भागे — OSNepal

काठमाडौँमा नै गाडी तोडफोडमा उत्रिए विप्लवका कार्यकर्ता, कोटेश्वरमा यात्रुबाहक बसमा ढुंगा हानेर भागे

LC (KTM) August 23, 2022 0

काठमाडौं :

नेत्रविक्रम चन्द नेतृत्वको नेकपासहित चार क्रान्तिकारी कम्युनिस्ट पाटीले गरेको नेपाल बन्दको असर राजधानीमा हल्का परेको छ ।

तीन बुँदे राजनीतिक सहमतिका विपरित पार्टीका नेतालाई पक्राउ पुर्जी जारी गरिएको, एमसीसी, भ्रष्टाचार, महङ्गीका विरुद्ध गरिएको नेपाल बन्दको अवज्ञा गरिएको भन्दै कन्दकर्ताले काठमाडौँको कोटेश्वरमा एउटा गाडी तोडफोड गरेका छन् ।

प्रहरीका अनुसार बन्दकर्ताले महानगर यातायातको बा ४ च ९३९४ नम्बरको बस तोडफोड गरेका हुन् । ढुङ्गा प्रहारबाट गाडीको अगाडीको सिसामा क्षति पुगेको र अहिले उक्त स्थानमा प्रहरी पुगिसकेको बताइएको छ ।

कोटेश्वरबाट बालकुमारी तर्फ जाँदै गरेको उक्त बसमाथि आज बिहान साढे ६ बजे ५ जनाको समूहले एक्कासि आएर राष्ट्रिय बाणिज्य बैंक अगाडि ढुङ्गा प्रहार गरी भागेका हुन् ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष विप्लव, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पाटीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका आहुती र नेकपा माओवादी समाजवादीका महासचिव कर्णजितले संयुक्त विज्ञप्ति निकालेर नेपाल बन्दको आह्वान गरेका हुन् ।

यसैबिच राजधानीबाट बाहिर जाने सवारी साधनहरु मंगलबार बिहान ज्यादै न्युन मात्रामा गएका छन् । राजधानीभित्र बजार खुलेको र यातायात चलेको भए पनि अधिकांश शैक्षिक संस्था मंगलबार बन्द रहेका छन् ।

यस्तै, कैलालीमा बन्दकर्ताले दुई ठाउँमा विष्फोटक पदार्थ राखेका छन् । गोदावरी नगरपालिका–१ अत्तरियास्थित मोहनापुलको सडकखण्ड र हरैया शिविर नजिकै शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

अत्तरियामा कपडामा बेरेको अवस्थामा र हरैयामा प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएको कैलाली प्रहरीले जनाएको छ । सोमबार राति छुटेका गाडीहरुलाई भने प्रहरीले स्कटिङ गरेर गन्तव्यसम्म पठाइरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर