डेङ्गीः सङ्क्रमण भएका बिरामीलाई लामखुट्टेले किन बढी टोक्छ ? यस्तो अचम्मको रहेछ कारण — OSNepal

डेङ्गीः सङ्क्रमण भएका बिरामीलाई लामखुट्टेले किन बढी टोक्छ ? यस्तो अचम्मको रहेछ कारण

LC (KTM) September 28, 2022 0

डेङ्गी र जीका भाइरसले सङ्क्रमण गरेपछि मानिसको शरीरबाट निस्किने गन्धमा परिवर्तन आउने एउटा अध्ययनले देखाएको छ। यसबारे वैज्ञानिक जर्नल ‘सेल’मा एउटा शोध प्रकाशित भएको छ।

ती भाइरसका कारण परिवर्तित गन्धले लामखुट्टेलाई थप आकर्षित गर्ने र लामखुट्टेले टोकेपछि सङ्क्रमित व्यक्तिबाट भाइरस अरूमा सर्ने सम्भावना बढ्ने वैज्ञानिकहरूले बताएका छन्।

अहिले नेपालमा पनि डेङ्गी भाइरसको प्रकोप फैलिरहेको छ। देशभरिका ७७ जिल्लामध्ये मुस्ताङबाहेक सबै जिल्लामा यो भाइरस पुगिसकेको सरकारी तथ्याङ्कले देखाउँछ। काठमाण्डू उपत्यकामा डेङ्गी पुष्टि भएका बिरामीको सङ्ख्या १२,००० नाघिसकेको छ।

प्रायः उष्ण प्रदेशमा फैलिने यो रोग नेपालमा भने पहाडी, उच्च पहाडी र हिमाली जिल्लामा पनि पुगेकोमा विज्ञहरू चिन्तित देखिएका छन्।

मानिस र सवारीसाधनको ओहोरदोहोर बढ्नु तथा जलवायु परिवर्तनका कारण तापमानमा वृद्धि भएकाले अस्वाभाविक लाग्ने ती स्थानमा लामखुट्टे पुगेकाले जोखिम बढेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले बीबीसी न्यूज नेपालीलाई बताए।

डेङ्गी भाइरस कसरी सर्छ?
चीनको सेन्टर फर डीजिज कन्ट्रोल एन्ड प्रिभेन्शन र बेइजिङस्थित चिङ्ख्वा विश्वविद्यालयसहित विभिन्न चिनियाँ प्रयोगशालामा कार्यरत वैज्ञानिकहरूले मुसालाई डेङ्गी भाइरसबाट सङ्क्रमित गराएर परीक्षण गरेका थिए।

सङ्क्रमित मुसाको छालामा पाइएको एउटा गन्धयुक्त यौगिकका कारण लामखुट्टेले तिनलाई टोक्ने सम्भावना निकै धेरै बढेको पाइयो।

उक्त यौगिक एसिटोफेनन भएको पहिचान भयो। डेङ्गी वा जीका भाइरस सङ्क्रमण भएका मानिसमा त्यो यौगिक बढी उत्पादित हुन्छ।

परीक्षणमा सहभागी स्वयंसेवकहरूका हातमा एसिटोफेनन दल्दा लामखुट्टे आकर्षित भएको पाइयो।वैज्ञानिकहरू अहिले उक्त यौगिकलाई लक्ष्य बनाउनेगरी उपचारको खोजीमा लागेका छन्।

के हो डेङ्गी?
विश्वभरि प्रत्येक वर्ष ४० करोड मानिसलाई डेङ्गी हुन्छ। यो भाइरस एशियाका विभिन्न भाग, दक्षिण तथा मध्य अमेरिका र क्यारिबीअन क्षेत्रमा सामान्य मानिन्छ।

प्रायः एडीज एजीप्टी र कतैकतै एडीज एल्बोपिक्टस जातका लामखुट्टेको टोकाइबाट डेङ्गी भाइरस सर्छ। यी लामखुट्टेले येलो फिभर, जीका भाइरस र चिकूङ्गून्या पनि सार्छन्।अमेरिकी स्वास्थ्य निकाय सीडीसीका अनुसार विश्वको झन्डै आधा जनसङ्ख्या अर्थात् चार अर्ब मानिस डेङ्गी भाइरसको जोखिमयुक्त क्षेत्रमा बस्छन्।

यो भाइरसको सङ्क्रमण हुँदा ज्वरो आउँछ, शरीरमा डाबर देखा पर्न सक्छ र टाउको तथा पूरै जीउ दुख्न सक्छ।केही बिरामीलाई निरन्तर पेट दुख्ने, बान्ता हुने, जीउ सुन्निने, गिजाबाट रगत आउने, छटपटी हुने जस्ता जटिल समस्या देखा पर्न सक्छन्।

यो रोग प्राणघातक पनि हुन सक्ने भएकाले त्यस्तो अवस्थामा चिकित्सकसँग परामर्श गराउनुपर्छ।विश्व स्वास्थ्य सङ्गठनका अनुसार समयमै उपचार गरे मृत्युदर एक प्रतिशतभन्दा कममा राख्न सकिन्छ।

तर यो रोग जुनसुकै उमेर समूहका मानिसहरूलाई लाग्न सक्ने भए पनि प्रतिरोधात्मक क्षमता कम हुने हुँदा बालबालिका र वृद्धवृद्धाले विशेष ध्यान दिनुपर्ने विज्ञहरूको सुझाव छ। बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर