दशैंः कोही टन्न खाँदै, कोही भोकभोकै रन्थनिदै — OSNepal

दशैंः कोही टन्न खाँदै, कोही भोकभोकै रन्थनिदै

LC (KTM) October 04, 2022 0

अनुसा थापा -यतिखेर सबैतिर दशैंको रौनकता छाएको छ । घरघरमा मिठामिठा परिकार पाकेका छन्, परिवारजन र आफन्त मिलेर रमाइलो गरिरहेका छन् । हरेक ठाँउमा किनमेल गर्नेको भीड छ । पैसा हुनेहरुका निम्ति दशैं खुसीयाली लिएर आएको छ । तर, पैसा नहुने के दशैं के चाडबाड ? कोही टन्न खाएर रमाइलो गरिरहेका छन् भने कोही भोको पेट बाटोमा मागिरहेका छन् ।

चाडबाड आएपनि उनीहरुलाई केही फरक परेको छैन् । बिहानदेखि सडक छेउछाउ मागेर बस्छन् । दिए खान्छन् नदिए भोकभोकै बस्छन् । खुट्टामा एकजोर चप्पल छैन् नयाँ लुगाको त कुरै छोडौं । दशैंको मुखमा समेत घरघरमा माग्न हिँडेका छन् । दशैंमा घरघरमा खसी काटिन्छ । नयाँ लत्ताकपडा, गाडी किन्नेलगायत घरमा आवश्यक पर्ने सामान किन्ने पैसा हुन्छ ।

यद्यपि, कोही माग्न आयो भने घरको गेट लगाइदिन्छन् । मठमन्दिरमा दर्शन गर्ने जानेहरु टन्न हातभरि फलफुल बोक्छन् । चढाउन पैसा हुन्छ । तर, माग्ने मान्छे देख्यो भने चानचुन छैन् भनेर हिँड्छन् । गरिबको कोखबाट जन्म लिनु अपराध हो ? कति गरिबको कोखबाट जन्मे । बाबुआमाले पनि मागेर खाए उनीहरुले पनि त्यही सिके । हिजोका अर्बपति आज सडकमा आइपुगेका छन् ।

केही विकल्प नभएपछि मात्र सडकमा माग्न आउने हो । मागेर खान कसलाई रहर लाग्छ ? सबै ढोका बन्द भएपछि लाज पचाएर माग्ने हो । मागेर खानेलाई घरजग्गा जोड्नु छैन् । मागेर भोक मेटिएला भनेर बाटोमा माग्न बस्छन् । दिनभरि मागेर बिहानबेलुका पेटमा अन्न हाल्न सकिन्छ कि भनेर माग्न बसेका हुन्छन् । त्यही पनि शान्तिसंग माग्न पाए त हुन्थ्यो । माग्नेलाई कसैले मान्छे नै गन्दैनन् ।

राष्ट्रपति आउनुअगावै मन्दिरबाट लखेटिन्छन् । चोरेर खाएको, लुटेकोजस्तो गरेर माग्ने मान्छेलाई हेर्छ, नेपाली समाज । तर, उसले मागेर खानु पछाडिको कारणचाहि हेर्दैनन् । अहिले सबैलाई दशैं लागेको छ । सबैको घरमा मिठोमसिनो पाकेको छ । टन्न खाएर बाँकी भएको जति फोहोरमा लगेर हाल्छन् । तर, दशैं त सबैको चाड हो । आफू आधा पेट खाएर अर्कोलाई खान दिदाँ ऊ पनि खुसी हुन्छन् ।

विडम्बना, नेपालीमा त्यस्तो सोचाइ छैन् । घरमा माग्न आएकालाई जुन व्यवहार यिनीहरुले देखाउछन्, त्यो एकदमै अपमानजनक हुन्छ । आफ्नो जीऊमा राम्रो लुगा लगाएका हुन्छन् तर माग्न आउनेलाई अलिकति सहयोग गरौं भन्ने भावना नेपालीमा छैन् । आखिरी नेपालीहरुमा मानवता हराएकै हो ? बाटोमा माग्ने जनता होइनन् ? होइन् भने उनीहरुका लागि सरकार कहाँ छ ?

पुँजीपतिको मात्र सरकार हो ? नेपालीहरुको महान् चाड दशैं हो । दशैं त सबैको चाड हो । मागेर खाने पनि मान्छे हुन् । मान्छे भएपछि एउटा आश हुन्छ । सरकारले केही व्यवस्था गर्ला भनेर यिनीहरुले पनि सोचेका थिए, होलान् । तर, यिनीहरुको आश निराशामा बद्लिएको छ । सरकारले यिनीहरुलाई जनताको दर्जा नै दिएन् । दशैं अवधिभर खाने, लाउने र बस्ने व्यवस्था सरकारले मिलाइदिनुपथ्र्यो ।

घाम होस् या पानी उनीहरुलाई केही फरक परेको छैन् । बाटोमै खान्छन्, त्यही बस्छन् र सुत्छन् । उनीहरु जन्मिने पनि बाटोमै, मर्ने पनि त्यही बाटोमै । जाडो होस् या गर्मी उनीहरुले सदाबहार एउटै च्यातिएको लुगा लगाउछन् । न उपचार न कुनै सेवासुविधा । नागरिकता, जन्मदर्ता नभएकाले उनीहरुले भत्ता पनि पाएका छैनन् । भत्ताले उनीहरुलाई अलिकति भए पनि राहत हुन्थ्यो ।

बाबुआमा जाँडरक्सी खाँदाखाँदै बाटोमै मर्छन् । अनि तिनका बालबच्चाको जीवन पनि बाटोबाट शुरु हुन्छ । त्यस्तालाई कसले जन्मदर्ता दिने ? जन्मदर्ता नभएपछि नागरिकता बन्दैन् । तर, सरकारले पनि कहिले उनीहरुलाई नागरिकता दिनुपर्छ । तिनीहरु पनि देशका नागरिक हुन् । अरुले राज्यबाट पाउने सेवासुविधा तिनले पनि पाउनुपर्छ भनेर सोचेन् । बरु, उल्टो उनीहरुलाई थिचोमिचो गर्यो ।

मागेर खानेहरुको राष्ट्रपति छैन् । कि धनी र गरिबको राष्ट्रपति बेग्लाबेग्लै छन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई मागेर खानेहरुको प्रश्न,‘हामी नेपाली होइनौं ? हामीलाई यत्रो हेला किन ?’ सरकारले माग्नेहरुलाई नागरिकताको व्यवस्था गरिदिनुपथ्र्यो । सरकार गरिब जनताको पनि अभिभावक बन्न सक्नुपथ्र्यो । नागरिकता दिँदा उनीहरुले देश नै पो बेच्ने जस्तो गर्यो सरकारले ।

यता, काठमाडौंमा पाँच वटा घर हुनेहरुले मासिक भत्ता बुझ्छन् । सरकारी जागिरबाट पेन्सन खाइरहेकाहरुले समेत सरकारबाट पाउने एक रुपैयाँ पनि छोड्दैनन् । तर, ती गरिबले के पाए । सित्तैमा पाउने औषधी सबै टाठाबाठाले लिन्छन् । गरिब त्यहाँ पनि हेरेको हेप्र्यै । धनीलाई छुटैछुट, गरिबलाई जताबाट पनि लुट । उनीहरुलाई भाग्यले ठगेको छ, राज्यले हेला गरेको छ ।

बाटोमा मागेर खानेहरुको अवस्था हेर्न पनि नसकिने खालको छ । शरीरभर झिँगा, लामखुट्टाले बासस्थान बनाएको छ । पूरा शरीर ढाँक्ने कपडासमेत उनीहरुसंग छैन् । हप्तामा एकदिन खाना खान्छन् होला । मागेर खानु बाध्यता हो भनेर किन कसैले बुझ्दैनन् ? पाँच रुपैंया दान दिँदा गरिब हुन्छ ? नचाहिदो ठाँउमा पैसाको खोला बगाउन त हामीहरु अब्बल छौं ।

सरकारी कर्मचारीको वर्षैपिच्छे तलबभत्ता बढाउने नेपाल सरकार मागेर खानेहरुका लागि केही व्यवस्था मिलाउदैनन् । माग्नेलाई दिन भनेपछि सबै दाँतबाट किन पसिना आँउछ ? ठूलाले दिदैंनन्, सानालाई पनि सिकाउदैनन् । माग्नेलाई देख्यो कि छुट्टै बाटो हिँड्छन् । माग्नेहरुले भनेको बेलामा पानीसमेत पिउन पाँउदैनन् । नेपालीहरु यतिसम्म चुत्था भएका छन् कि घरमा माग्ने आयो भने गेट लगाइदिन्छन्, कुकुर छोडिदिन्छन् ।

पछिल्लो समय घरघरमा मँहगामँहगा कुकुर पाल्ने चलन बढेको छ । कुकुरले जे जे खान्छ त्यही खान दिने । नुहाइदिने, सफा गरिदिने, डुलाउन लिएर जाने । अझ हुँदाहुँदै कुकुरलाई लुगा लगाउने जमाना पनि आएको छ । त्यसो त मान्छेलाई कुकुरभन्दा पनि तल्लो दर्जामा राख्न थालिएको छ । खान नसकेर टोकरीमा लगेर फ्याकिदिन्छन् । एकचोटि लगाएका नयाँ लुगा फोहोरमा लगाएर फ्याक्छन् ।

तर, खान फ्याँक्नुको साटो कसैको भोको पेट भर्दा धर्म हुन्थ्यो । आफ्नो आधा शरीर देखाएर हिँड्नेहरुले पूरै ढाँक्न पाउथे । नेपालमा यत्रो गैरसरकारी संस्था खुलेका छन् । तर, त्यो पनि सबै कमिशनमा लिप्त छन् । एनजिओहरु गरिबको नाम बेच्छन् अनि डलर ल्याएर पचाउछन् । पूराना लत्ताकपडा उठाएर गाउँगाउँमा पुर्याइदिने हो भने कसैले शरीर छोप्न पाउथे ।

घरघरबाट अलिअलि चामल उठाएर गाँउगाँउ पुर्याऔं । वृद्धवृद्धालाई एक छाक खाना खुवायो भने फोटो खिचेर चर्चामा आउन खोज्छन् । यता, सरकारले पनि विकास भएकै क्षेत्रमा बजेट खन्याँउछ । कतै बजेटको खोलो लागेको छ कतै सुख्खाराम । जुन जिल्लामा सरकारले बजेट छुट्याएको छैन् त्यहाँको अवस्था एकदमै नाजुक छ । किन कि त्यहाँ रोजगारी छैन्, उद्योग छैन् । सरकार र राजनीतिक दलहरुले समेत माग्ने मान्छेलाई समेत भेदभाव गरेको छ ।

माग्ने मान्छेसंग नागरिकता छैन्, भोट दिने अधिकारबाट उनीहरु वञ्चित छ । भोट पाएको भए नेताहरुले गन्थे, उनीहरुको कुरा सुन्थे । करमा बिकेको सरकारलाई उनीहरुको चासो नै रहेन् । कर तिर्नेलाई वर्षमा १० चोटि दोसल्ला ओडाउँछ, सम्मान गर्छ । तर, माग्नेलाई फुटेको आँखाले पनि हेर्दैन् । भुपु राष्ट्रपति, राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख सवारी हुनुपर्यो भने बाटो पहिल्यै खाली गराउँछन् ।

सुकिलामुकिलाहरुले आखिरी त्यस्तै हेर्न चाहन्छन् । देशमा गरिब छन् भनेर यिनलाई के थाहा ? गरिब भनेको के हो ? यिनलाइृ थाहा छैन् । तर, गरिबको नाम बेच्नचाँहि जानेका छन् । टन्न खाएर अघाएकाहरुले अरुलाई पनि अघाएकै देख्छ । भोकोले मात्र भोको पेटको बारेमा चर्चा गर्ने हो । गरिब पृष्ठभूमिबाट आएको भए पो उनीहरुको व्यथाबारे पत्तो पाउथे । आजसम्म कुनै नेताले माग्ने मान्छेलाई भनेर आफ्नो तलबभत्ता त्याग गरेका छन् ?
त्यस्तो नेता नेपालमा छैनन् । राजनीतिक दल, सरकारी कर्मचारी र व्यापारीहरु धनी भए । तर, गरिबहरु भmनै गरिब हुँदै गए । नेपालको सडकभर माग्ने छन् भनेर विदेशी मुलुकमा समेत चर्चा चलेको छ । तर, देशकै नेतालाई थाहा छैन् । मुलुक सम्हाल्न बसेकाहरुले अब आफ्नो तलबभत्ता त्याग गर्नुपर्छ । जागिर खान नेता बनेको अवश्य पनि होइन् होला । अहिले त जो पनि तलबभत्तामा बिकेका छन् । राजनीति भनेको सेवा हो, राजनीतिज्ञहरुले सेवाभाव राख्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर