नेपालको तीन करोड जनसङ्ख्या कोरोनाको मारमा परेको भन्दै अमेरिकाको सिनेटमा  छलफल — OSNepal

नेपालको तीन करोड जनसङ्ख्या कोरोनाको मारमा परेको भन्दै अमेरिकाको सिनेटमा  छलफल

LC (KTM) May 13, 2021 0

वासिङ्टन डिसी, ३० वैशाख- अमेरिकी सिनेटअन्तर्गतको वैदेशिक मामिला समितिमा बुधबार नेपालमा कोरोनाले पारेको असरका बारेमा छलफल भएको छ । कोभिड–१९ महामारी र अमेरिकाको अन्तर्राष्ट्रिय ‘रेसपोन्स’का बारेमा भएको सुनुवाइ कार्यक्रममा कनेक्टिकट राज्यबाट अमेरिकाको सिनेटमा प्रतिनिधित्व गर्नुहुने सिनेटर क्रिस मुर्फेले नेपाल लक्षित भएर जिज्ञासा राख्नुभएको थियो ।

उहाँले नेपालको करिब तीन करोड जनसङ्ख्या कोरोनाको मारमा परेको भन्दै युएसएआइडीले हालै गरेको सहयोगका बारेमा समेत चर्चा गर्नुभएको थियो । सिनेटर क्रिसले नेपालमा स्वास्थ्य सामग्रीको निर्यातमा भारतले बन्देज लगाएकाले अवस्था झन नाजुक भएको भन्दै चिन्ता व्यक्त गर्नुभएको थियो ।

कोभिड महामारीको लागि युएसएआइडीका लागि वरिष्ठ सल्लाहकार जेरेमी कोन्डयाकले नेपालको अवस्था भयावह भएको उल्लेख गर्दै परीक्षण गरिएका अधिकांशमा कोरोनाको सङ्क्रमण पाइएको बताउनुभयो । यो दर उच्च भएको उहाँको टिप्पणी थियो । उहाँले नेपाललाई अतिरिक्त सहायताका लागि योजना बनाइरहेको पनि सिनेटलाई जानकारी दिनुभयो ।

अमेरिकाका लागि नेपालका राजदूत डा युवराज खतिवडाले सिनेटमा नेपालको विषयले प्रवेश पाएकोमा खुशी व्यक्त गर्दे रासससँग भन्नुभयो, “अहिले नेपाललाई स्वास्थ्य आपतकालसँग जुध्न मित्रराष्ट्र अमेरिकाले सहयोग गर्नु विगतमा अन्य तरिकाको गरिएको सहयोगभन्दा पनि महत्वपूर्ण हुने बताउनुभयो । उहाँले अमेरिकाका सम्बन्धित निकायहरुलाई नेपालको महामारीको असरको पछिल्लो अवस्थाका बारेमा जानकारी गराउँदै नेपाललाई विभिन्न तरिकाले सहयोगको खाँचो रहेको र त्यसका लागि अमेरिकी सरकारसँग दूतावासले अनुरोध गरिरहेको बताउनुभयो ।

अमेरिकाको मेरिल्याण्ड राज्यका लागि नेपाली मूलका पहिलो विधायक ह्यारी भण्डारीले अमेरिकी सरकारलाई सहयोग गर्न अपिल गर्दै राष्टपति जो वाइडेनको प्रशासनलाई दबाब दिन हस्ताक्षर अभियान चलाउनुभएको छ । उहाँले मेरिल्याण्डबाट प्रतिनिधित्व गर्ने सिनेटरहरु क्रिस भ्यान होलान र वेन कार्डेनको कार्यालयलाई समेत नेपालको पछिल्लो अवस्थाको बारेमा जानकारी गराउँदै सहयोगको लागि सङ्घीय सरकारसँग अनुरोध गर्न पहलकदमी गरेको बताउनुभयो । रासससँग संक्षिप्त प्रतिक्रिया दिँदै भण्डारीले भन्नुभयो, “सिनेटरहरुले गर्नुभएको पहलकदमीले हामीलाई उत्साहित बनाएको छ ।”

अमेरिकाले नेपाललाई कोरोना सँग जुध्नका लागि स्वास्थ्य उपकरणहरु सहयोग गर्दै आएको छ । विगत एक बर्षको बीचमा युएसआइडीले तीन करोड ६८ लाख अमेरिकी डलर सहयोग गरेको छ भने डिपार्टमेन्ट अफ डिफेन्समार्फत ३१ लाख अमेरिकी डलर बराबरको स्वास्थ्य सामग्री सहयोग प्रदान गरिसकेको छ ।अमेरिकामा २५ करोड जनसङ्ख्याले कोरोनाको खोप लगाइसकेको छ र खोपको उत्पादन तीव्रगतिमा हुँदै गएकाले कोभ्याक्समार्फतको खोप केही साताभित्र नेपाल पुग्ने अपेक्षा गरिएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर