नवौँ राष्ट्रिय खेलकुदः पुलिस र सशस्त्र महिला क्रिकेटको फाइनलमा — OSNepal

नवौँ राष्ट्रिय खेलकुदः पुलिस र सशस्त्र महिला क्रिकेटको फाइनलमा

LC (KTM) October 18, 2022 0

पोखरा- पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको फाइनलमा दुई विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन् ।पोखरा रङ्गशालाको क्रिकेट मैदानमा आज सम्पन्न खेलमा एपिएफले लुम्बिनी प्रदेश तथा पुलिसले बागमती प्रदेशलाई पराजित गर्दैै फाइनलको यात्रा तय गरेका हुन् । यही असोज २३ देखि जारी प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा लुम्बिनी प्रदेशमाथि ६७ रनको जित निकाल्दै एपिएफ फाइनल प्रवेश गरेको हो ।

सुरुआती ब्याटिङ गरेको एपिएफले एक सय ३० रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनी प्रदेश १८ ओभरको दोस्रो बलमा ६२ रनमात्र बनाउन सक्यो । लुम्बिनीका कसैले पनि दर्शनीय खेल प्रस्तुत गर्न सकेनन् । लुम्बिनीलाई सस्तैमा रोक्न एपिएफका नेरी थापाले चार विकेट लिनुभयो भने इन्दु बर्माले एक विकेट लिनुभयो । एपिएफले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा एक सय २९ रनको योगफल तयार पारेको थियो । एपिएफका लागि सुरुआती ब्याटर ज्योति पाण्डेले सर्वाधिक ६९ रन बनाउनुभयो ।

यसगरी सेमिफाइनलको दोस्रो खेलमा पुलिसले बागमती प्रदेशमाथि ३६ रनको जित निकालेको छ । पहिला ब्याटिङ गरेको पुलिसले काजल श्रेष्ठको ४६ तथा कविता कुँवरको २६ रनमा चार विकेट गुमाएर एक सय २३ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको बागमतीले पूरा ओभर खेल्दै आठ विकेट गुमाएर ८७ रनमात्र बनायो । पुलिसका बलरहरू कविता कुँवरले तीन, इश्वरी विष्टले दुई तथा रुविना क्षेत्री र सङ्गीता राईले समान एक–एक विकेट लिनुभयो ।बागमतीको तर्फबाट सुमन खतिवडाले २३ तथा अस्मिना कर्मचार्यले १८ रन बनाउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर