हरिबोधिनी एकादशी:बिहानैदेखि नारायणी नदी किनारमा स्नान गर्नेको घुइँचो — OSNepal

हरिबोधिनी एकादशी:बिहानैदेखि नारायणी नदी किनारमा स्नान गर्नेको घुइँचो

LC (KTM) November 04, 2022 0

चितवन- हरिबोधिनी एकादशीका अवसरमा पूर्वी नवलपरासीको नारायणी नदी तटका धार्मिकस्थलमा बिहानैदेखि विशेष मेला एवं पूजा गर्नेको भीड लागेको छ । जिल्लाको पिठौली, केउरानी, सिख्रौली घाट, गुन्द्रही, गैँडाकोट र त्रिवेणीधाममा मेला भर्ने र नारायणी स्नान गर्न दिनैभर भीड लागेको छ । अघिल्ला वर्ष कोरोना कहरका कारणले मेला रोकिए पनि यस वर्ष भने तीन दिन अगाडिबाटै नारायणी नदी किनारमा मेला लागेका हुन् । स्थानीय मेला व्यवस्थापन समिति, युवाक्लब, टोल सुधार संस्थाले व्यवस्थापन गरेको मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारले सांस्कृतिक प्रस्तुति दिने कावासोतीको पिठौलीमा रहेको एकादशी मेला व्यवस्थापन समितिका संयोजक सागर गुरुङले बताउनुभयो । जिल्लाका विभिन्न स्थानमा लागेका मेलामा स्थानीयरुपमा उत्पादन भएका तरुल, सखरखण्ड र सुन्तलालगायतका कृषिजन्य उत्पादनको खरिद बिक्री गर्नेको भीड पनि देख्न सकिन्छ ।

वर्षमा पर्ने २४ एकादशीमध्ये महत्वपूर्ण एकादशीका रूपमा हरिबोधिनी एकादशीलाई लिइन्छ । त्यसैले यसलाई बोलीचालीको भाषामा ठूली एकादशी पनि भनिन्छ । क्षीर सागरमा चार महिनाअघि सुतेका भगवान् विष्णु आज जागा हुने भएकाले यसलाई हरिबोधिनी एकादशी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । संस्कृतमा ‘बोधन’भन्नाले उठाउनु भन्ने अर्थ हुन्छ । त्यसैलै भगवान् हरिलाई उठाउने तिथि भएकालाई यस दिनलाई हरिबोधिनी एकादशी भनिएको हो । कात्तिक शुक्ल एकादशीमा पर्ने यस हरिबोधिनी एकादशीमा व्रत र भगवान् विष्णुको उपासना गर्नाले एक हजार अश्वमेध यज्ञ गरे बराबरको फल पाइने कुरा पद्म पुराणको उत्तरखण्डमा उल्लेख गरिएको पण्डित रिमप्रसाद आचार्य बताउनुहुन्छ ।

धार्मिक मान्यताअनुसार एकादशीका दिन नारायणी नदीमा स्नान गर्नाले पुण्य मिल्ने जनविश्वास रहेको छ । जिल्लाको विभिन्न स्थानमा नारायणी नदी किनारमा लागेको मेलामा तुलसी विवाह, तोरण तार्ने जस्ता धार्मिक अनुष्ठान पनि आयोजना भएका गरिएका छन् । हरिबोधिनी एकादशीको दिन नारायणी स्नान, तुलसी विवाह र तोरण तार्ने गर्नाले पुण्य प्राप्त हुने पण्डित रिमप्रसाद आचार्य बताउनुहुन्छ ।

पण्डित आचार्यका अनुसार वैदिक पात्रोमा उल्लेख गरिने १६ तिथिमध्ये एकादशीलाई महत्वपूर्ण तिथिका रुपमा मनाइन्छ । हरिबोधिनी एकादशीलाई ठूलो एकादशीपनि भनिन्छ । यस दिन सनातनधर्मावलम्बीले अन्न ग्रहण नगरी कन्दमूल र फलफूल खाने गर्छन् । चतुर्मासाभर पूजाआराधना गरिएको तुलसीलाई कार्तिक शुक्लएकादशीदेखि मार्ग शीर्ष कृष्ण पञ्चमीसम्म वैदिक यज्ञ गरी समापन गरिन्छ ।

यस अवसरमा चार नारायणको दर्शन गरेमा पापपखाली पुण्य कमाइने र मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । हरिशयनी एकादशीको दिन घरघरमा रोपिएको तुलसीलाई आज विशेष पूजा गरी विवाह गरिदिने परम्परा छ । आजको दिन घरघरमा तुलसीको मठलाई गोबर, माटोले लिपपोत गरी सेतो, रातो, पहेँलो वस्त्र तथा फूलमालाले सिँगारेर भगवान् विष्णुको प्रतीकका रूपमा निगालो गाडी तुलसीको विवाह गरिन्छ । भगवान् विष्णु प्रशन्न हुने विश्वासका साथ आज फलाहार मात्र लिइ र राति जाग्राम बसेर सङ्कीर्तन गर्ने प्रचलन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर