चन्द्रविनायक तथा भैरवनाथ जात्राको तेस्रो दिन गराइयो पशुपतिनाथको दर्शन — OSNepal

चन्द्रविनायक तथा भैरवनाथ जात्राको तेस्रो दिन गराइयो पशुपतिनाथको दर्शन

LC (KTM) November 10, 2022 0

काठमाडौँ-श्री चन्द्रविनायक र श्री भैरवनाथ जात्राको दोस्रो दिन आज श्री चन्द्रविनायक र श्री भैरवनाथको खटलाई रथमा राखी पशुपतिनाथको दर्शन गराइएको छ । प्रत्येक वर्ष मार्ग शीर्ष कृष्ण द्वितीयाका दिन दुवै रथलाई पशुपतिमा लगी पिताको दर्शन गराउने प्राचीन परम्परा छ । पशुपतिनाथको दर्शन गराएपछि त्यहीँदेखि चुच्चेपाटीसम्मका मूल चोकहरुमा रथलाई घुमाइएको जात्रा समितिले जनाएको छ । बेलुकी भने चारुमती बहालमै रथ नचाई टसी अर्थात् बिमिरो प्रसादका रुपमा वितरण गर्ने कार्यक्रम रहेको छ ।

मार्ग शीर्ष कृष्ण तृतीयाका दिन शुक्रबार बिहान अमालकोट कचहरीका द्वारेले श्री चन्द्रविनायक र श्री भैरवनाथलाई अबिर चढाएपछि जात्रा समापन हुन्छ । जात्रा सफलतापूर्वक समापन भएको खुसीयालीमा शुक्रबार दिनभर चावहिल क्षेत्रमा सिन्दूर जात्रा गरिने जात्रा समन्वय समितिका सदस्य राजु भारतीले जानकारी दिनुभयो ।श्री चन्द्रविनायक तथा श्री भैरवनाथको रथलाई जात्राको दोस्रो दिन बुधबार मन्दिर वरपर घुमाई गङ्गाहिटीमा लगेर स्नान गराइएको थियो । स्नानपछि दुवै खटलाई बुधबार बेलुकी चारुमती बिहारमा लगेर बिसाइएको थियो ।

करिब साढे तीन सय वर्ष पुरानो श्री चन्द्रविनायक तथा श्री भैरवनाथ जात्रा कार्तिक शुक्ल पूर्णिमादेखि चार दिनसम्म चावहिल क्षेत्रमा धुमधामसाथ मनाइन्छ । प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमादेखि मार्ग शीर्ष कृष्ण तृतीयासम्म चार दिन पशुपति, जयवागेश्वरी, मित्रपार्क, चावहिल र चुच्चेपाटी क्षेत्रमा चन्द्रविनायक जात्रा मनाउने गरिन्छ । नेपाल संवत् ८०१ मा राजा भूपालेन्द्र मल्लले यो जात्राको शुरुवात् गराएको विश्वास गरिन्छ ।

जात्राको पहिलो दिन ‘मलजा नकेगु’ कुमार कुमारीको पूजा गरेर विनायकको प्रसाद खुवाइएको थियो । चन्द्रविनायक उपत्यकाका चार विनायकमध्ये एक हो । चन्द्रविनायकलाई पशुपतिनाथको छोरा हो भन्ने धार्मिक मान्यतासमेत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर