कोरोना सङ्क्रमित र कुरुवाका लागि स्वास्थ्य सामग्री वितरण — OSNepal

कोरोना सङ्क्रमित र कुरुवाका लागि स्वास्थ्य सामग्री वितरण

LC (KTM) June 29, 2021 0

सप्तरी, १५ असार – कोभिड–१९ को महामारीमा अग्रपङ्क्तिमा खटिनुभएका प्रहरी, स्वास्थ्यकर्मीका साथै सङ्क्रमित र हेरचाहका लागि खटिने कुरुवाका लागि आज सप्तरीमा स्वास्थ्य सामग्री वितरण गरिएको छ ।सप्तरीको विभिन्न प्रहरी कार्यालय र आइसोलेशन केन्द्रमा एकै दिन स्वास्थ्य तथा सरसफाइ एवं मर्यादित कीट वितरण गरेको समग्र जनउत्थान केन्द्रले जानकारी दिएको छ । आइसोलेशन केन्द्रमा कोभिड सङ्क्रमित र कुरुवालाई लक्षित गर्दै विभिन्न स्वास्थ्य सामग्री वितरण गरिएको केन्द्रका अध्यक्ष भैरवप्रसाद गेलालले बताउनुभयो ।

२७ प्रतिशत धान रोपाइँ सम्पन्न- धान रोपाईं हुने क्षेत्रफलमध्ये देशभर करिब २७ प्रतिशतमा वर्षे धान रोपाइँ सम्पन्न भएको छ । बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार असार १५ सम्ममा देशभर २७ दशमलव १२ प्रतिशत क्षेत्रफलमा वर्षे धान रोपाइँ सम्पन्न भएको हो । सात प्रदेशमध्ये हालसम्म कर्णाली प्रदेशमा सबैभन्दा बढी धान रोपाइँ भएको केन्द्रका प्रमुख रामकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । उहाँले कर्णाली प्रदेशमा छिटो रोपाइँं थालिने भएका कारण पनि सबैभन्दा बढी रोपाइँ सकिएको जानकारी दिनुभयो ।

प्रमुख श्रेष्ठका अनुसार प्रदेश नं १ मा दुई लाख ७५ हजार ९०१ हेक्टर क्षेत्रफलमध्ये हालसम्म ४९ हजार ६२३ हेक्टरमा धानबाली रोपिएको छ । यो धान रोपाइँ हुने कूल क्षेत्रफलमध्ये १७ दशमलव ९९ प्रतिशत रहेको छ । त्यस्तै प्रदेश नं २ मा १० दशमलव ५५ प्रतिशत मात्र रोपाइँ सकिएको छ । तीन लाख ६५ हजार ६१५ हेक्टर क्षेत्रफलमध्ये हालसम्म यो प्रदेशमा ३८ हजार ५८६ हेक्टरमा मात्र धानबाली रोपाइँ सकिएको छ । वाग्मती प्रदेशको एक लाख १५ हजार २९५ हेक्टर क्षेत्रफलमध्ये हालसम्म २१ दशमलव ०७ अर्थात् २४ हजार २८८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ ।

यसैगरी गण्डकी प्रदेशमा १० लाख आठ हजार २७८ हेक्टर क्षेत्रफलमध्ये हालसम्म १५ दशमलव ३४ प्रतिशत अर्थात् १६ हजार ६१२ हेक्टरमा, लुम्बिनी प्रदेशमा तीन लाख ३ हजार ५९३ हेक्टर क्षेत्रफलमध्ये ४५ दशमलव ९४ प्रतिशत अर्थात् एक लाख ३९ हजार ४५६ हेक्टर, कर्णाली प्रदेशमा ३८ हजार ३८५ हेक्टर क्षेत्रफलमध्ये ६२ प्रतिशत अर्थात् २३ हजार ८५० हेक्टर क्षेत्रफलमा र सुदूरपश्चिम प्रदेशमा एक लाख ६४ हजार ६३९ हेक्टर क्षेत्रफलमध्ये ४८ दशमलव ३१ प्रतिशत अर्थात् ७९ हजार ५४० हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । गत वर्ष असार १५ गतेसम्म सातै प्रदेशमा ३५ दशमलव ४८ प्रतिशत धान रोपाइँ सकिएको थियो । सातै प्रदेशका १३ लाख ७१ हजार ७०६ हेक्टर क्षेत्रफलमध्ये चार लाख ८६ हजार ६६२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको थियो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर