आगामी दुई वर्षभित्र खहरे खोलाको समस्या समाधान नभए अर्को निर्वाचनमा भोट माग्न आँउदिन — OSNepal

आगामी दुई वर्षभित्र खहरे खोलाको समस्या समाधान नभए अर्को निर्वाचनमा भोट माग्न आँउदिन

LC (KTM) November 11, 2022 0

काठमाडौं -नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कपनस्थित खहरे खोलाको समस्या दुई वर्षभित्र समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।काठमाडौँ क्षेत्र नं ४ बाट लोकतान्त्रिक–बाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिनुभएका थापाले आज आयोजित घरदैलो कार्यक्रममा उहाँले दुई वर्षभित्र खहरे खोलाको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

“खहरे खोला निर्माण गर्ने प्रक्रिया अगाडि बढाइसकिएको छ, अबको दुई वर्षभित्र काम पूरा हुन्छ”, उहाँले भन्नुभयो । आगामी दुई वर्षभित्र खहरे खोलाको समस्या समाधान नभए अर्को निर्वाचनमा आफू भोट माग्न नआउने उहाँको भनाइ छ ।

महामन्त्री थापाले खहरेको छेउमा रहेका घर अगाडिको फोहरसँगै देशको फोहोर पनि फाल्ने जमर्को गरेकाले त्यसका लागि साथ दिन मतदातालाई आग्रह गर्नुभयो । बूढानीलकण्ठ नगरपालिकाको वडा नं ११ र १२ हुँदै वडा नं १० तिर बग्ने खहरे खोलाको छेउमा रहेको बस्तीमा सामान्य वर्षा भएका बेलामा पनि बाढी पस्ने गर्छ ।

उहाँले बाढीको समस्या समाधान गर्न पटक–पटक गरी सवा अर्बभन्दा बढी रुपैयाँ बजेट विनियोजन गरिसकेको जानकारी दिनुभयो । महामन्त्री थापाले खहरेको समस्या समाधानका लागि ‘धोबीखोला कोरिडोर कपन–बूढानीलकण्ठ डुबान नियन्त्रण आयोजना’को प्रस्ताव अघि बढाएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर