धनुषा ४ : पुरानै उम्मेदवारबीच त्रिपक्षीय प्रतिस्पर्धा — OSNepal

धनुषा ४ : पुरानै उम्मेदवारबीच त्रिपक्षीय प्रतिस्पर्धा

LC (KTM) November 14, 2022 0

धनुषा, २८ कात्तिक- मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचन अन्तर्गत धनुषा ४ मा २०७४ का उम्मेदवारबीच नै त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । निर्वाचनमा २०७४ का मुख्य प्रतिस्पर्धी नेपाली काङ्ग्रेस, नेकपा एमाले र जनता समाजवादी (जसपा) का उम्मेदवार बिच नै मुख्य प्रतिस्र्पधा हुने देखिएको छ । अहिले पनि तीनवटै दलबाट २०७४ कै प्रतिस्पर्धी उम्मेदवार बनेका छन् । नेकपा एमालेबाट रघुवीर महासेठ र जनता समाजवादी पार्टी (जसपा) बाट महाजन यादव र सत्तागठबन्धनबाट नेपाली कांग्रेसको सहमहामन्त्री महेन्द्र यादव प्रतिस्पर्धी रहनुभएको छ ।

यस पटकको चुनावी माहोल केही फरक देखिएको छ । गत चुनावमा एमाले र माओवादी गठबन्धनबाट चुनाव जित्न सफल हुनुभएको महासेठ लाई केन्द्रमा जस्तो एमाले र जसपाबीचको तालमेल यस क्षेत्रमा हुन सकेको छैन । यता सत्तागठबन्धनका तर्फबाट उम्मेदवार बनेका यादवलाई लोसपा, नेकपा समाजवादी र माओवादीको साथ रहेको छ । यस पटकको गणित फरक रहेकाले आफुहरुले जित्ने निश्चित् रहेको जसपा जनकपुरधाम उपमहानगरपालिकाका अध्यक्ष विष्णुदेव साहको दाबी छ ।

माओवादी केन्द्र, नेकपा एस कांग्रेसको गठबन्धनमा रहेका छन् । विस २०७४ को स्थानीय निर्वाचनमा एमालेले जितेका पालिकामा गत बैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेसले स्थानीय तहमा जित हासिल गरेको छ । त्यसकारण पनि एमालेका उम्मेदवार महासेठका लागि चुनौती देखिन्छ ।
स्थानीय मतदाताले कांग्रेसका महेन्द्र यादव र एमालेका महासेठबीच नै सोझो र मुख्य प्रतिस्पर्धा रहेको बताउँछन् । लक्ष्मीनियाँ गाउँपालिकाका नवलकिशोर यादवले चुनावमा जितको अहिले नै निष्कर्ष निकाल्न हतार हुने बताउनुहुन्छ । “क्षेत्र र प्रदेशका मतदाता परिवर्तनको पक्षमा रहेका छन्,” उहाँले भन्नुभयो, “चुनावको परिणामपछि नयाँ अनुहार नेतृत्वमा देखिँदा आश्चर्य हुने छैन् ।”

स्थानीय तहको चुनावको मतपरिणाम अन्य सबै दलको भन्दा बढी रहेको लक्ष्मीनियाँ गाउँपालिकाका अध्यक्ष भोगेन्द्र मिश्रले दाबी गर्नुभयो ।
क्षेत्र नं ४ को १ मा त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ । जसपा प्रदेश कमिटीका उपाध्यक्ष शेषनारायण यादव कांग्रेसको टिकटमा प्रदेशसभाको चुनाव लडिरह्नु भएको छ । स्थानीय तहमा स्वतन्त्र उम्मेदवारलाई सघाएको आरोप लागेका ज्ञानेन्द्र यादव जसपाको टिकट फेरि प्राप्त गर्नुभएको छ । कांग्रेसमा धनुषाको सभापतिमा पराजित हुनु भएको सन्तोष यादव एमालेबाट प्रदेश चुनावमा प्रतिस्पर्धा गरिरह्नु भएको छ ।

क्षेत्र नं ४ को २ मा नेकपा एस बाट शत्रुधन महतो, नेकपा एमालेका हरिनारायण महतो मुख्य प्रतिस्पर्धा रहने अनुमान गरिएको छ । यस्तो छ चुनावी अङ्क गणित
प्रतिनिधिसभामा क्षेत्रमा एमालेका उम्मेदवार रघुवीर यस क्षेत्रका प्रत्यक्ष निर्वाचित सङ्घीय सांसद हुनुहुन्छ । एमाले सचिवसमेत रह्नुभएको पूर्व उपप्रधानमन्त्री रघुवीरसँग २०७४ को निर्वाचनमा २२ हजार पाँच सय ३२ मत प्राप्त गरि जित हात पार्नुभएको थियो । रघुवीरका निकटतम प्रतिद्वन्दी महेन्द्रले १९ हजार नौ सय ९१ र महाजनले १९ हजार ६ सय ६२ मत प्राप्त गर्नुभएको थियो ।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा यो क्षेत्र अन्तर्गत पर्ने पाँचवटा पालिकामध्ये मिथिला नगरपालिका, बटेश्वर गाउँपालिका, लक्ष्मीनिया गाउँपालिका र मिथिला विहारी नगरपालिका काँग्रेसले जितेको छ । क्षीरेश्वरनाथ नरपालिकाको उपमेयर सहित बहुसङ्ख्यक वडा पनि जितेको छ ।एमालेले क्षीररेश्वरनाथ नगरपालिकाको प्रमुख तथा दुई वटा वडा र मिथिला नगरपालिकाको उपमेयरसहित बहुमत वडा जितेको छ ।

काङ्ग्रेस, समाजवादी, माओवादी र लोसपाको मत जोड्ने हो भने ४० हजार नौ सय ९२ मत सत्ता गठबन्धनसँग रहेको देखिन्छ । यस क्षेत्रमा कुलमतदाता ९८ हजार तीन सय ६० रहेको छ जसमध्ये धनुषा ४ (१) को कूल मतदाता ४७ हजार सात सय १८ र (२) को कूल मतदाता ५० हजार छ सय ४२ रहेको छ । एमाले र जसपाको अलग–अलग प्रतिस्पर्धाले चुनाव जित्न नेपाली काङ्गेसका उम्मेदवार यदवलाई सहज हुने विश्लेषण पनि हुने गरेको छ ।

उम्मेदवारहरुको आ–आफ्नै दाबी-सत्ता गठबन्धनबाट काँग्रेसका उम्मेदवार यादवले स्थानीय तहमा काँग्रेसको पहिलो मत र त्यसमाथि गठबन्धन दलको साथलाई आफू जित्ने बलियो आधार रहेको बताउनुहुन्छ । “गठबन्धनको मत जोड्दा एमाले भन्दा करिब दोब्बर हुन्छ । यो नै मेरो जितको बलियो आधार हो,” उहाँले भन्नुभयो ।रघुवीर महासेठले आफू मन्त्री हुँदा यस क्षेत्रमा विकास निर्माणका काम गरेको र जनताले फेरि पनि आफूलाई जिताउने दाबी गर्नुहुन्छ । “पहिला यो क्षेत्र विकासमा निकै पछाडि थियो ।

तर म निर्वाचित भएपछि छोटो समय मै थुप्रै पुल र कालोपत्रे सडक निर्माण गरे । एउटा पनि मठमन्दिर, मस्जिद र गुम्बामा छैन जसमा मैले सहयोग गरेको छैन । त्यसैले मप्रति जनताको ठूलो विश्वास छ । यो नै मेरो जित्ने बलियो आधार छ” उहाँले भन्नभयो । जसपाका उम्मेदावर महाजन यादवले स्थानीय चुनावी नतिजाले क्षेत्रीय चुनावमा खासै फरक नपार्ने बताउनु हुन्छ । उहाँले भन्नुभयो,“म लामोसमयदेखि जनतामा भिजेको नेता हुँ । जनताको ठूलो विश्वास र भरोसा छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर