नीलकृष्ण जसोदा सिटौला फाउण्डेसन नर्दन क्यालिफोनिर्याले घट्टेकुलोमा गरेको कार्यक्रममा जे देखियो, हेर्नुहोस् यी दृश्यहरु — OSNepal

नीलकृष्ण जसोदा सिटौला फाउण्डेसन नर्दन क्यालिफोनिर्याले घट्टेकुलोमा गरेको कार्यक्रममा जे देखियो, हेर्नुहोस् यी दृश्यहरु

LC (KTM) November 15, 2022 0

काठमाडौँ । भगवान कोइराला २०३९ सालमा डाक्टर पढ्नका लागि तत्कालिन शोभियत संघ उड्ने बेलामा एउटै जहाजमा थिए इश्वरकान्त सिटौला । स्वदेश फर्किदा भगवान, डाक्टर भगवान कोइरा बनेर फर्किए भने इश्वर, इञ्जिनियर इश्वरकान्त सिटौला बनेर मातृभूमि फर्किए । इञ्जिनियर बनेपछि इश्वरकान्त सिटौलाले नेपालका विभिन्न संघ संस्थामा १० वर्ष काम गरे ।

भगवान् कोइरालाले कैयौँ अस्पतालमा अनुभव बटुल्दै आज उनी बरिष्ठ मुटुरोग विशेषज्ञ बनिसकेका छन् र सबै नेपालीको मन मनमा बस्न सफल जिउँदा भगवानका रुपमा रहेका छन् । डा कोइराला र इ सिटौला २४ वर्षपछि भेट हुँदा यी दुई साथी निकै खुशी देखिए, हाँस्दा हाँस्दै आँखा रसाए ।

नीलकृष्ण जसोदा सिटौला फाउण्डेसन नर्दन क्यालिफोनिर्याद्धारा काठमाडौँको घट्टेकुलोमा आयोजित कार्यक्रममा यी दुईको भेट हुँदा डा कोइराला र इञ्जिनियर सिटौलाबिचको भेटमा उनीहरु एक अर्कालाई हेर्दै मुसुमुसु मुस्कुराइरहेका थिए ।

इञ्जिनियर सिटौला संस्थापक अध्यक्ष रहेको नीलकृष्ण जसोदा सिटौला फाउण्डेसनले डा कोइरालासहित विज्ञ, समाजसेवी एवं सष्ट्रा गरेर ९ जनालाई सम्मानित एवंम पुरस्कृत गर्ने मेसोमा उनीहरुको भेट भएको हो ।

सो अवसरमा डा कोइरालाले इ सिटौलाको खुलेर प्रशसा गर्दै भने उहाँ इञ्जिनियर बन्नुभयो तर आफ्नो पेशा व्यबसाय भन्दा धेरै माथि उठेर एउटा असल समाजकै डिजाइन गरेर देखाउनुभयो । सामाजिक कामको डिजाइनको कुनै पारिश्रमिक लिनु भएन । डा कोइरालाले सो अवसरमा आफ्ना धारणाहरु राख्दै समाजमा यस्ता कामहरु विभिन्न समयमा धेरै ब्यक्तिबाट आवश्यक रहेको बताए ।

तत्कालिन सोभियन संघबाट इञ्जिनियरिगंमा मास्टर्स गरेका सिटौला करिब साडे २ दशकदेखि अमेरिकामा छन् । अमेरिका गएपछि एमबिए गरेपश्चात उनी विभिन्न सामाजिक सेवामा आवद्ध भए । उनले आफ्नै बाबु आमाको नाममा नीलकृष्ण जसोदा सिटौला फाउण्डेसन २०१७ मा स्थापना गरे । अमेरिकामा लाओ फेमिली कम्युनिटी डेभलबमेन्टमा म्यानेजरका रुपमा कार्यरत इञ्जिनियर सिटौला २४ वर्षपछि नेपाल आएका हुन् । आमा बितेपछि निकै भावुक बनेका सिटौलाले त्यसअघि नै बाबुलाई गुमाइसहेका थिए । र बाबु आमाको सम्झनामा केही न केही नयाँ काम गरौँ भन्ने सोचेका उनले बुबा र आमाको नाममा संस्था खोले र आज त्यही संस्थाले सिटौलालाई फेरी उनै भगवानसँग भेटाइदियो ।

२४ वर्षपछि नेपाल आएका इ सिटौला भन्छन् बाबु र आमाको मुख हेर्ने दिनमा मात्रै नभएर हरेक दिन बा आमालाई सम्झिनुपर्छ भन्ने उदेश्यले फाउण्डेसन खोलेको हुँ । सिटौलाको यो संस्थाले गरिब, दिनदुखी, अनाथ, असहायहरुको क्षेत्रमा काम गर्दै आइरहेको छ । फाउण्डेसनले बालगृह, सरकारी स्कुल,नेपालको पत्रकारिता क्षेत्रका सक्रिय पत्रकार, खोज पत्रकारिता गर्नेहरुलाई पुरस्कृत गर्दै आएको छ । साहित्यको क्षेत्रमा काम गर्नेलाई सम्मान गर्दै आएको छ ।

हिजो एउटै जहाज चढेर उच्च शिक्षा अध्ययनका लागि गएका उनीहरु आज एउटै मञ्चमा बस्दा खुशी देखिन्थे । झट्ट हेर्दा डा कोइरालाको कपाल फुलीसकेको देखिन्थ्यो भने अमेरिकाबाट लामो यात्रा गरेर आएकोले पनि होला इ सिटौला अलीक थकित देखिन्थे । तर नयाँ र फरक काम गर्ने हुटहुटी यी दुईको अनुहारमा प्रस्ट देखिन्थ्यो । कोइराला मुटुरोग विशेषज्ञ बन्दा अहिले सिटौला पाका र अनुभवी इञ्जिनियर मात्रै बनेनन् नामी समाजसेवीका रुपमा पनि स्थापित भइसकेका छन् ।

आफ्ना मित्र डाक्टर कोइरालालाई पुरस्कृत र सम्मानित गर्न पाउँदा इ सिटौला खुशी देखिन्थे । सो अवसरमा डा कोइरालाका अलावा समाजसेवी दीक्षा चापागाई, पशुपति मिश्र, इन्द्रेणी समुह र कृष्ण कँडेल, सागर श्रेष्ठ, विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठान , नन्दा सिंह, लक्ष्मी उप्रेती, राधिका दासी लगायतका व्यक्ति तथा संघ संस्थालाई सम्मानीत एवंम र पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा सम्मानित एवंम पुरस्कृत सबै स्रष्टा स्रष्टाहरुको परिचय विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानका अध्यक्ष गोपी कृष्ण प्रसाईले दिएका थिए । साथै प्रसाईले विमोचित कविता कृति मौन समयको बारेमा पनि आफ्नो धारणा राखेका थिए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर