काठमाडौँ-६ लाई पर्यटकीय गन्तव्य बनाउँछु : सर्वेन्द्र खनाल — OSNepal

काठमाडौँ-६ लाई पर्यटकीय गन्तव्य बनाउँछु : सर्वेन्द्र खनाल

LC (KTM) November 17, 2022 0

काठमाडौँ-मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं ६ बाट प्रतिनिधिसभा सदस्य बन्नुभएका पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनालले यस क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने बताउनुभएको छ ।बुधबार साँझ बागबजारमा भेटिनुभएका खनालले सो क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने खाका लिएर आएको दाबी गर्नुभयो ।

एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्नुभएका खनालले यसअघि काठमाडौँ–६ बाट दुईपटक सांसदमा निर्वाचित भइसक्नुभएका नेपाली कांग्रेसका नेता तथा पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानले सुन्दर, स्वच्छ र हराभरा पर्यटकीय क्षेत्र बनाउन नसकेको आरोप लगाउभयो । प्रहरी सेवाबाट अवकाशपछि एमाले पार्टीमा प्रवेश गर्नुभएका खनालले सोही क्षेत्रबाट यसअघि निर्वाचित तथा सत्ता गठबन्धनका प्रधान र राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाललगायतका उम्मेदवारसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।

उम्मेदवार खनालले आफूप्रति मतदाताको उत्साहप्रद सहभागिता रहेको बताउँदै यस क्षेत्रको धेरै ठाउँमा पानी, ढल, धुलोधुवाँ तथा जताततै छरपस्ट तारको समस्या रहेको बताउनुभयो ।उहाँले सो क्षेत्रमा जनताका आधारभूत आवश्यकतासमेत नभएको दाबी गर्नुभयो । “पर्यटकीय दृष्टिकोणले ठमेल र सांस्कृतिक दृष्टिकोणले असनलाई विकास गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “मतदाताहरुले पनि यस क्षेत्रमा आधारभूत आवश्यकता पूरा हुन नसकेको बताउनुभएको छ ।”

उहाँले आफ्नो जित सुनिश्चित भएको दाबी गर्दै खोलाका दुवै किनारामा करिडोर, हरियाली पार्क बनाउने योजना रहेको बताउनुभएको छ । उहाँले युवालाई बढी फोकस गरी काम गर्ने पनि बताउनुभयो । सडक, धारा, ढल, बिजुली आदि काम क्रमिकरूपमा बने पनि सम्बन्धित निकायबीच आपसी समन्वय नभएको उहाँको भनाइ छ । जसले गर्दा सहर कुरुप देखिएको उहाँको भनाइ छ ।विगतमा आफूले प्रहरी सेवामा काम गरेको अनुभव तथा मूल्याङ्कनका आधारमा आफूमार्फत् मतदाताले सो क्षेत्रको विकास चाहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर