संविधानको रक्षा र समृद्धिका लागि गठबन्धनका उम्मेदवारलाई मतदान गर्न अपिल — OSNepal

संविधानको रक्षा र समृद्धिका लागि गठबन्धनका उम्मेदवारलाई मतदान गर्न अपिल

LC (KTM) November 17, 2022 0

काठमाडौँ-नेपाली कांग्रेसको नेतृत्वमा रहेको लोकतान्त्रिक–वाम गठबन्धनले यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन दलका उम्मेदवारलाई मतदान गर्न अपिल गरेको छ ।गठबन्धन दलका शीर्षनेताहरूले आज एक संयुक्त अपिल जारी गर्दै पाँच वर्षमा हुने यो आम निर्वाचनलाई राष्ट्रिय महोत्सवका रूपमा लिएर मतदानमा सहभागी भई लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवारलाई अत्यधिक बहुमतले विजयी गराउनुहुन आह्वान गर्नुभएको छ । संविधानको भावनाअनुरुप लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका पक्षधर लोकतान्त्रिक–वाम गठबन्धनलाई विजयी गराउनुपर्ने गठबन्धनको तर्क छ ।

“कांग्रेसको नेतृत्वमा रहेको लोकतान्त्रिक–वाम गठबन्धनका पक्षमा देशभर जनलहर आएको र नेता कार्यकर्ताहरू उत्साहित भएर सहभागी हुनु भएबाट गठबन्धनको विजय सुनिश्चित रहेको हामीले महसुस गरेका छौँ । यो अभियानलाई निरन्तरता दिँदै आम मतदातालाई मतदानमा सहभागी गराउन पार्टीका साथीहरू एवं शुभेच्छुकहरूमा हार्दिक अपिल गर्दछौँ”, अपिलमा उल्लेख छ ।

देशको संविधान, कानुन, विधि र प्रक्रिया उल्लङ्घन गरी दुई–दुईपटक गरेको प्रतिनिधिसभा विघटन र कोरोना महामारीमा परेका नागरिकलाई खोप दिलाउनु सट्टा भ्रष्टाचारमा निर्लिप्त हँुदै अनेकन स्वेच्छाचारी र प्रतिगामी कदम चालेपछि तत्कालीन सरकारविरुद्ध विसं २०७८ असारमा गठबन्धन बनाउनुपरेको अपिलमा जनाइएको छ ।

यो गठबन्धनको सरकार बनेपछि पनि प्रतिगमनकारी र अधिनायकवादी आक्रमणको खतरा कायम रहेका कारण स्थानीय निर्वाचन र यो आम निर्वाचनमा समेत संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिएको गठबन्धनका नेताहरूले उल्लेख गर्नुभएको छ । गठबन्धनका शीर्षनेताहरूद्वारा आज जारी अपिलमा भनिएको छ, “झण्डै डेढ वर्षको यो अवधिमा सरकारले स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित तवरमा निर्धारित समयमा नै स्थानीय तहको निर्वाचन सम्पन्न गराएको छ । मुलुकको विदेश नीतिमा सन्तुलन कायम गरेको छ । नागरिकलाई सत्ताको अधिनायकवादी त्रासबाट मुक्त गर्दै दैनिक जीवनयापनका स्रोत, साधनको नियमित आपूर्ति गर्दै आएको छ ।”

गठबन्धनका प्राथमिकताहरू अहिले पनि उत्तिकै प्रष्ट रहेको र संविधानमाथि कुनै खालको आक्रमण हुन नदिने तथा विकासका पूर्वाधारहरूलाई छिटोभन्दा छिटो सम्पन्न गरी मुलुकलाई विकासशील मुलुकको दाँजोमा माथि उठाउने लक्ष्यका साथ आफ्ना सङ्कल्प, प्रतिबद्धता र घोषणापत्र सार्वजनिक भइसकेको गठबन्धन दलहरूको भनाइ छ । यो गठबन्धन प्रत्यक्ष निर्वाचनतर्फ भएकाले समानुपातिकतर्फ सबै पार्टीले आ–आफ्ना पक्षमा मत माग्नु स्वाभाविक भएको उल्लेख गर्दै अपिलमा यसले गठबन्धनको भावनामा कुनै चोट नपु¥याउने तथा गठबन्धनको स्पष्ट बहुमतबाट नै भोलिको सरकार गठन हुने र यसले संविधानको भावनाअनुरुप राजनीतिक स्थायित्व दिने अपिलमा उल्लेख छ ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीद्वारा हस्ताक्षरित अपिलमा यो निर्वाचनको परिणामले विघटनकारी र प्रतिगमनका पक्षधरहरूको गठबन्धनलाई उदाङ्गो पार्दै परास्त गर्नुपरेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर